डाइनेस्टिक दुर्घटना : सिट नपुग्दा बचेका ‘विजय’


१६ फाल्गुन २०७५, बिहीबार
bijay subba

काठमाडौं, १६ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनले देशलाई नै दुखाएको छ । तर, अनुभूति फरक–फरक हुनसक्छ । मृत्तक परिवारको दुखाइ, सरकारमा रहेका अधिकारीहरुको दुखाइ र सर्वसाधरणको दुखाइ । चोट एउटै भए पनि दुखाइको गहिराइ फरक छ ।

bijay subba

यस्तै फरक दुखाइमध्ये सांसद विजय सुब्बाको दुखाइ अलि फरक छ । किनकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँगै चुहानडाँडामा तम्तयार सांसद विजय सुब्बाले भने मृत्युमाथि विजय हासिल गरेका छन् । मन्त्री अधिकारीको टोलीसँगै जान तयार भएर पनि अन्तिम क्षणमा रोकिएका सांसद सुब्बा यो दुःखद दुर्घटनाबाट बचेका छन् ।

यस्तै मन्त्री अधिकारीकै मन्त्रालयका उपसचिव दीपक थापा पनि अन्तिम क्षणमा चुहानडाँडा जान रोकिंदा बचेका छन् । बच्न पाउनु सुखको कुरा हो तर, मन्त्रीसहितका सात जना होनाहार व्यक्तित्वलाई गुमाउनु पर्दाको पीडा अनौठो रुपमा विजाइरहेको छ, सांसद सुब्बा र उपसचिव थापालाई ।

चुहानडाँडामा एयरपोर्ट बनाई पाउँ भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिन जाने स्थानीयको टोलीलाई सांसद विजय सुब्बाले नै अगुवाइ गर्दै आएका थिए थिए ।
चुहानडाँडामा एयरपोर्ट बनाउनका लागि निरीक्षण गर्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोली जाँदैछ भन्ने थाहा पाएपछि सुब्बाले पनि सँगै जाने चाहना व्यक्त गरेका थिए ।

अधिकारीका स्वकीय सचिवलाई फोन गरेर जाने बेला आफूलाई पनि खबर गर्न भनेको उनले जनाकारी दिए । उनले हेलिकोप्टर दुर्घटनाअघिको क्षणबारे जानकारी दिंदै भने, ‘म पनि जान्छु मेरो पनि नाम टिपाइ दिनू । कतिखेर जाने हो मलाई खबर गर्नू भनेको थिएँ, सिट नपुगेर मलाई बोलाएनन् ।’

बुधबार दिउँसो उनी प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा थिए । बैठक चलिरहेकै बेला त्यहाँ उपस्थित गृहसचिव प्रेम राईलाई फोन आयो । फोन राखेर उनले मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको सुनाए । त्यो खबर सुनेर सुब्बा निःशब्द बने ।

एकछिनपछि उनले आफू पनि सँगै जाने कार्यक्रम रहेको सिट नभएर नगएको समितिमा सुनाए ।
उनले मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिँदै आफू संयोगले बाँचे पनि अधिकारीको निधनले केही सोच्न नसक्ने बनाएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन्।

‘म त सञ्जोगले बाँचें । म बाँचे पनि मलाई प्रिय लाग्ने रविन्द्र अधिकारीलगायतको निधनले केही सोच्न नसक्ने बनाई दियो । विद्या बैनीलाई के भनेर सम्झाउनु ? गत चुनावमा जीपको मेरै सिटमुनि बम पड्कँदा यति डर लागेको थिएन मात्र आधा घण्टाजति लाटो जस्तो भएको थिएँ ।

बम शक्तिशाली भएको भए त्यही बेला मरिन्थ्यो नै । आज असाध्यै डर लागेको छ । सिंहदरबारबाट जडीबुटी डेरामा आइपुग्न पनि कति लामो यात्रामा निस्केको भान भयो । जीवनको के भर भयो र ? क. रवीन्द्र अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली छ । अब विजय दाइसँग तपाईंले वात मार्नुहुन्न नि हैन ?’ उनले फेसबुकमा लेखेका छन् ।

मन्त्री रवीन्द्र अधिकारीसँगै चुहानडाँडा जानका लागि ठिक्क परेका अर्का व्यक्ति थिए उनकै मन्त्रालयका उपसचिव दीपक थापा । उनी पछिल्लो समय मन्त्री अधिकारीका प्रिय कर्मचारी भनेर चिनिन्थे । तर अन्तिम समयमा आएर उनले नजाने बताए र चुहानडाँडा जाने व्यक्तिको सूचीबाट उनको नाम काटियो । जसका कारण उनी भाग्यले जोगिए ।

चुहानडाँडामा निर्माणाधीन विमानस्थलको स्थलगत भ्रमणपछि ताप्लेजुङको पाथीभारा मन्दिर गएका मन्त्री अधिकारीसँगै उनी पनि हेलिकप्टर दुर्घटनामा परे । पाथीभराबाट फर्किने क्रममा भएको हेलिकप्टर दुर्घटनामा परी एयर डाइनेस्टीका मालिक आङ्ग छिरिङ शेर्पा, क्याप्टेन प्रभाकर केसी,नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको पनि निधन भएको छ । उनीहरुको शव काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालमा परीक्षण भइरहेको छ । भोलि (शुक्रबार) टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिंदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७