मन्त्री अधिकारीलगायत सातै जनाको शव श्रद्धाञ्जलीका लागि राखिंदै, विशिष्ट व्यक्तिहरु आउँदै


१७ फाल्गुन २०७५, शुक्रबार
condolence

काठमाडौं, १७ फागुन । ताप्लेजुङमा डाइनेस्टिक हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव अहिले श्रद्धाञ्जलीका लागि काठमाडौको टुंडिखेलमा राखिँदैछ ।

condolence

राति अबेर मात्र पोष्टमार्टमको काम सकिएकाले अहिले ८ बजेदेखि बिहान ११ बजेसम्म मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राख्न लागिएको हो ।

श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने तय भएको छ । श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । अरुको पनि शव परिवारलाई बुझाएपछि आफ्नै परम्परा अनुसार अन्तिम संस्कार हुने गृह मन्त्रालयले जनाएको छ ।

काठमाण्डौबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७