एउटै उद्योगका १९३ किसानको बगान प्राङ्गारिक


१७ फाल्गुन २०७५, शुक्रबार
tea

इलाम, १७ फागुन । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागिपरेका छन् ।

tea

प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिने प्रक्रियामा लागेका हुन् । यस वर्ष मात्र इलामको फाकफोकथुमस्थित तीनजुरे उद्योगका १९३ किसानले आफ्नो चिया उद्योग प्राङ्गारिक प्रमाणीकरण गरेका छन् । रासायनिक विषादी प्रयोग गर्न छाडे पनि प्रमाणपत्र नलिएका ती किसानले चिया बिक्री बढाउन सो प्रक्रियामा लागेका हुन् ।

उद्योगका सञ्चालक सोम शर्माका अनुसार तीनजुरेका २४५ किसानमध्ये १९३ ले चियाको प्रमाणीकरण गरेसँगै अन्य किसानले पनि प्रक्रिया शुरु गरेका छन् । ‘प्रमाणीकरण गर्दा चियाको गुणस्तर समेत बढ्ने भएकाले यहाँका धेरै किसानले यो प्रक्रिया शुरु गरेका हुन्’, शर्माले भने ।

अन्तर्राष्ट्रिय बजारमा चिया बिक्री गर्नकै लागि जिल्लाका १२ सहकारी उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिइसकेका छन् । जिल्लामा तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रीनहिल चिया सहकारी संस्था, हिमालय साङ्ग्रिला, पाथीभरा चिया उद्योग, अर्थोडक्स चिया उद्योग, दाजुभाइ चिया उद्योग, मिस्टम्याली उद्योग, गोरखा टी स्टेट, इलामेली चिया सहकारी संस्था र इको चिया सहकारी संस्थाले मात्र सो प्रमाणपत्र प्राप्त गरेका हुन् ।

जिल्लाका ८५ उद्योगमध्ये अन्य उद्योग पनि प्राङ्गारिकको प्रक्रियामा रहेको जनाइएको छ । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालका अनुसार प्राङ्गारिक प्रमाणपत्र लिनका लागि तीन वर्ष लाग्ने र रु नौ लाखसम्म बुझाउनुपर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७