जसले ‘नागरिकप्रति राज्य जिम्मेवार हुनुपर्छ’ भन्ने मान्यता स्थापित गराए


१८ फाल्गुन २०७५, शनिबार
bharat mohan adhikari nepal black and white albida

काठमाडौं, १८ फागुन : जनमुखी र गाउँमुखी कार्यक्रम ल्याएर नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका नेता पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइराखेको अधिकारीको ८२ वर्षको उमेरमा शनिवार राती ९ : ३५ मा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।

bharat mohan adhikari nepal black and white albida

निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । अधिकारीलाई सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो । मेडिसिटीले उपचारमा लापरवाही गरेको भन्दै आलोचना समेत भएको थियो ।

ह्याम्स अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको भन्दै उपचारको सम्भावना न्युन रहेको जनाएको थियो । तर, बेलुकी राती भने अस्पतालले निधन भएको घोषण गरेको छ ।

अस्पताललाई उधृत गर्दै नेकपाका नेता तथा कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले अधिकारीको निधन भएको पुष्टी गरेका छन् । श्रेष्ठका अनुसार अधिकारीलाई अन्तिम श्रद्धाञ्जलिको लागि आइतबार बिहान ९ : ०० बजे देखि १२ः०० बजे सम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने छ ।

जसले नागरिकप्रति राज्य जिम्मेवार बनाए
१९९३ मा जन्मिएका अधिकारी ०५१ सालको तत्कालीन एमालेको ९ महिने अल्पमतको सरकारमा अर्थमन्त्री बनेका थिए । २०५१ पुस ११ पहिलो बजेट ल्याउँदै ‘आफ्नो गाउँ आफैं बनाऔँ’ लगायतका जनमुखी कार्यक्रम ल्याए । यी कार्यक्रमहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई जनताको बीचमा लोकप्रिय बनायो ।

अधिकारीले २०५२ असार असार २७ गते अर्को बजेट ल्याए । यो बजेटमा वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याए । अधिकारीले यो बजेट मार्फत ‘नागरिकप्रति राज्य जिम्मेवार हुनुपर्छ’ भन्ने मान्यताको आरम्भ मात्रै गरेनन् पछि स्थापित पनि भयो । नेता अधिकारीकै पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रमले अहिलेसम्म निरन्तरता पाएको छ ।

०६१ सालमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका बेला नेता अधिाकरीले सुत्केरी भत्ताको सुरुवात गरे । उनले नै महिला र पुरुषको नाममा या महिलाको नाममा मात्रै जग्गा दर्ता गर्दा लाग्ने शुल्कमा छुटको व्यवस्था गरेका थिए । सामाजिक सुरक्षासँग धेरै कार्यक्रम अघि सारेर ‘नागरिकप्रति राज्य जिम्मेवार हुनुपर्छ’ भन्ने मान्यता स्थापित गरेका अधिकारीले कम्युनिष्ट आन्दोलनलाई समेत लोकप्रिय बनाए ।

तीन खम्बे अर्थ नीतिका योजनाकार
अधिकारीले बेलगाम अगाडी बढेको खुल्ला अर्थव्यवस्था, उदारीकरण र निजीकरणको विकल्पमा तीन खम्बे अर्थनीति ल्याएका थिए । उनले सार्वजनिक (सरकार) निजी र सहकारी क्षेत्रको सहभागिता रहने अर्थ नीतिलाई अवलम्बन गर्नुपर्ने योजना अघि सारेका थिए । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम् परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्नुपने उनको मान्यता थियो ।

‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियान यही तीन खम्बे अर्थ नीति मान्यता अन्तरगत सञ्चालनमा ल्याइयो । यो निकै लोकप्रिय कार्यक्रम बन्यो । अधिकारी दुई पटक उपप्रधानमन्त्री, चार पटक अर्थमन्त्री बने । अधिकारी २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकार, दोस्रो पटक २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार, २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकार र २०६७ साल झलनाथ खनाल नेतृत्वको सरकार गरी चार पटक अर्थमन्त्री बनेका थिए ।

अधिकारी २०५३ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बने ।मोरङबाट चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक मामिलासहित विभिन्न विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता थिए ।


पहिलो पुस्ताका कम्युनिष्ट नेता
अधिकारी नेपाल कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताका नेता हुन् । २००८ सालमा भारतको बनारस रहँदा भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएका अधिकारी पञ्चायतकालमा करिब ४ वर्ष भूमिगत जीवन र तीन वर्ष निर्वासत जीवन बिताएका अधिकारी २०४७ सालको संविधान लेखन समितिका सदस्य समेत हुन् ।

वाममोर्चाको तर्फबाट माधवकुमार नेपाल निर्मल लामासँगै अधिकारी संविधान लेख्ने आयोगका सदस्य बनेका थिए उनी । माले र माक्र्सवादी एकताका एक जना शुत्रधार समेत थिए उनी ।

अधिकारीको नेपालमा अद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित छन् । अर्थशास्त्रमा एमए अनि बीएल गरेका अधिकारी ओमकुमारीसँग वैवाहिक सम्बन्धमा बाधिएका थिए। उनका ३ सन्तान (छोरी) छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७