विद्यार्थी आन्दोलनका ‘मणि’ रविन्द्र दाइ


१९ फाल्गुन २०७५, आईतवार
Sunita Baral Memorise of Rabindra adhikari 768x384 1

-सुनिता बराल

Sunita Baral Memorise of Rabindra adhikari

कोही चिनेपछि यस्ता प्रिय हुन्छन् मनबाट हटाउन सकिन्नँ । कोही मनमा यस्तो गरी हटाउन नसक्ने गरी बस्छन् त्यसपछि मनको दवावमा चिन्नु पर्छ । नेपाली राजनीतिमा बोली सुनेकै कारण देखभेट नभए पनि मनमा राखेर कहिल्यै हटाउन नसकिएको व्यक्तित्व मदन भण्डारी हुन् भने देखे–भेटे बुझेर आदर्श मानेको व्यक्ति मनमा बेग्लै अग्लो सम्मानसहित बसेका व्यक्ति हुन् रविन्द्र अधिकारी ।

कसैलाई भाषणले लाग्यो होला कसैलाई स्वभावले लाग्यो होला तर, मेरो दिल दिमागले रविन्द्र दाइलाई जहिल्यै गुरु, अभिभावक, असल पथ प्रदर्शकको रुपमा स–सम्मान राख्यो । राजनीतिक र व्यक्तिगत जीन्दगीका यी समयमा रविन्द्रको अभावले आज घच्घच्याईरहेको छ कि उहाँको स्थान कति थियो भनेर ।

फागुन १५ एउटा कालो दिन बनेर आयो । पार्टीका आदरणीय युवा नेता, हाम्रो पुस्ताका गौरव, प्रेरणाका स्रोत, पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङ्गको दारेभीरमा दुर्घटना भयो भन्ने जब सुनियो हातगोडा लगलग काप्न लागे । तीर्खा लागे जस्तो, रिंगटा लागे जस्तो अचम्मको पीडा र छटपट्टी भयो ।

जिल्लाका कार्यकर्ता, सिनियर जुनियर पार्टी नेता, पत्रकार साथीहरु सबैसँग बुझियो घटना भएको नै पुष्टि भयो । आफैंलाई सपना जस्तो लाग्यो, सपना हैन, यथार्थ नै थियो । केवल कामना गरियो दाइलाई केही नहोस् । हामी भौतिकवादमा विश्वास गर्ने भए पनि प्रार्थनामै पनि विश्वास जाग्यो केही नहोस् प्रभू ।

rabindra adhikari black and white

अझ अचम्म त मैले सुन्नु भन्दा पहिला मेरो घरपरिवार बुबा–आमा, भाइ, साथीहरु सबैले थाहा पाएछन् । म न्यूज ट्वान्टी फोरको एउटा अन्तरवार्तामा भएकाले मेरो मोवाइल अफ थियो । अघि–पछिका पूर्व जाने कार्यक्रममा प्रायः रविन्द्र दाइसँग जाने गरेको भएकाले धेरैले अनुमान गरेछन् यो भ्रमणमा पनि सुनिता हुनुपर्छ । गएको भन्ने अनुमानले हो वा दाइको अवस्थाको जानकारी गराउन धेरैले मलाई फोन गर्दा अफ भएपछि साथीहरु र विद्यार्थी भाइ–बहिनीहरुलाई यो शंका भएछ ।

धन्न दाइले अर्को पटक पाथीभरा जाउँला है भनेको भए पनि यस पटक दाइले मलाई जाऊ भन्नु भएको थिएन । अघि–पछि १ नं प्रदेश जाँदा पूर्वको नेता भन्दै जहिले मलाई जान भन्नु हुन्थ्यो प्रायः जाने गरेको पनि थिएँ । अरुले भन्दा ढिला थाहा पाए पनि जतिबेला मैले थाहा पाएँ त्यो बेला सम्भवतः दाइले संसार छोडिसक्नु भएको थियो ।

संसारभरका आस्थावानहरु लाम लाग्ने देवी पाथीभराको जिल्ला, पाथीभरा मन्दिरको पूजा गरेर मात्रै उडेका हाम्रा दाजु जो दिन–रात देशलाई समृद्ध बनाउने चिन्तामा उडिरहे । पर्यटन विकासका लागि अनेक गन्तव्यको खोजीमा बतासको बेगमा दौडी रहे । आखिर धेरै काम थोरै समयमा गर्नुपर्ने जीन्दगीको नियति रहेछ र यस्तो गतिमा काम भएको रहेछ जस्तो लागिरह्यो ।

रविन्द्र अधिकारी धेरैका मनमा जस्तै मेरो मनमा पनि देशलाई समृद्ध पार्ने सम्भावनाको सारथीको रुपमा छाप पारेर बसेका थिए । राजनीतिमा आउने विद्यार्थी तथा युवाका लागि प्रेरणाका स्रोत थिए । आज त्यो प्रेरणाको स्रोत सुक्यो, जस्तासुकै समस्या आउँदा पनि म छु नि बहिनी भन्ने एउटा अभिभावकरुपी बलियो छहारी ढल्यो । देश समृद्ध बनाउने एउटा विश्वासिलो सारथी गुम्योे ।

देश शोकमा छ । जनता शोकाकुल छन् । अर्थतन्त्रको भरोसा ढलेको छ । विश्वले नोटिस गरेको सम्भावनाको एउटा सारथी ढलेको छ । मेरा वा अरु थुप्रैका अभिभावक हुन् रविन्द्र । रविन्द्र ढल्दाका व्यक्तिगत पीडा असीमित छन् । त्यो भन्दा धेरै ठूलो पीडा नेपाली विद्यार्थी आन्दोलनले भोग्नुपरेको छ । देशभरीका विद्यार्थीले हरेक पल आफ्नो पहिचान बनाएका विद्यार्थी परिचयपत्रसँग रविन्द्रको साइनो गाँसिएको छ । कसैले चाहेर पनि भुल्न सक्दैन ।

आफ्नो परिचयपत्र गोजीबाट झिक्ना साथ आफ्नो फोटोसँगै रविन्द्रको फोटो देख्छ जब उसले भाडामा सहुलियत पाउँछ । विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट आन्दोलनको नायक आदरणीय रविन्द्र संगठनभित्र जहिल्यै क्षमता निरन्तरता र निष्ठाका प्रतिमूर्ति हुन् ।

रविन्द्र अधिकारी विद्यार्थीहरुबीचमा एउटा यस्तो नाम थियो जब आफूलाई अन्याय पर्छ त्यो बेला सम्झिने विकल्प । संगठनभित्र गुटका नाममा वा अरु थुप्रै हिसावले काखापाखा हुँदा पनि क्षमता हुनेले रविन्द्र दाइसँग पुनरावेदन गर्दा न्याय पाइन्छ भन्ने विश्वास राख्थे । विद्यार्थी क्षेत्रका हरेक व्यक्तिको क्षमताको पहिचान गरेर पार्टी कामदेखि पेशागत र व्यावसायिक क्षेत्रमा स्थापित गराउने दाइको व्यवहार र कौशल नै हो त्यही भएर आज विद्यार्थी संगठनले आफ्नो एउटा कवच गुमाए जस्तो अनुभव गरिरहेको छ । रविन्द्र दाइको अवसान विद्यार्थी आन्दोलनका लागि नागको मणि गुमे जस्तै भएको छ ।

नेता कार्यकर्ताको रुपमा अलिक पूरानो चिनजान भए पनि दाइ संगठनको इन्चार्ज भएर आएदेखि साँच्ची नै अभिभावकत्व महसुस गर्न पाइयो । सिर्जनात्मक कामहरु र कन्सेप्टहरुलाई जहिल्यै प्रोत्साहन र संरक्षण गर्दै अखिलमा नेतृत्व गर्न दाइको प्रेरणा जहिल्यै पथ प्रदर्शक रह्यो । दाइले नै अखिलका नेता कार्यकर्ता पढ्ने र लेख्नेमा सबै भन्दा अब्बल हुनुपर्छ भनेकै कारण पढ्ने र लेख्नेमा विशेष ध्यान दिन थालेका कारणले पनि आज मलाई दाइको अनुहार जुन बेला झल्झल्ती आइहाल्छ ।

भेट्ना साथ मेरो लेखको चर्चा गर्दै सुधार्नु पर्ने र हौसला दिने गर्नुहुन्थ्यो । ट्वीटरका सन्दर्भमा त हामी दाजु–बहिनीको विशेष जोड नै थियो । नयाँ पुस्ता अझ राजनीति नबुझेको पुस्ता ट्वीटरमा धेरै छ त्यो पुस्तालाई राजनीति बुझाउन र देश देखाउन ट्वीटरमा हामी जम्न जरुरी छ भन्ने कुरा जहिल्यै दाइले राख्नु हुन्थ्यो । भेट, संगठनको वैठक वा यात्रालगायतमा ट्वीटरका विषयमा पनि थुप्रै सम्झना र प्रेरणाहरु छन् ती सबै अब सम्झनामा सीमित भएका छन् । दाइको घरको पुस्तकालयले दिएको पढ्ने प्रेरणाले पनि थुप्रै विद्यार्थीहरुको बानी र भविष्य नै बदलिएको छ यस्ता प्रेरणाका स्रोत रविन्द्र दाइ अब कहिल्यै भेट हुनुहुन्न भन्दा पनि कहिलेकार्ही मनले नपत्याउने भएको छ ।

देशलाई यथास्थितिमा राख्न चाहने, राजनीतिक परिवर्तन तथा सामाजिक विकासलाई पछाडि धकेल्न चाहने एउटा ठूलो पंक्ति रविन्द्र दाइकाविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको थियो । नेपाली कांग्रेसले लामो समयसम्म गरेको शासनको विकृतिको रछ्यान जस्तोबाट देशलाई उँभो लगाउन खोज्दा केही रछ्यानका छिटा छ्याप्ने प्रयास भएका थिए दाइका विरुद्धमा ।

तर तिनलाई कामले क्लियर गर्ने र कसले फोहोर पारेको हो ? विकृतिको जग को हो भनेर चिनाउन पाउनु भएन । देशलाई उँभो लगाउने संकल्प गरेका व्यक्तिहरु किन यसरी कम उमेरमै बिलाउँछन् ? भन्ने प्रश्न छोडेर गएका रविन्द्र दाइको भर परेका बर्तमान सरकारका सपनाहरु अझ अलपत्र परेका छन् ।

दाइको अवसानसँगै नेपाली पर्यटन क्षेत्रमा विश्व अर्थतन्त्रको नजरमा परेको नकारात्मक छाप अन्यौलमै रहेको छ । सुखी नेपाली समृद्ध नेपाल भन्ने नाराको प्रत्याभूतिका लागि २० लाख पर्यटक भित्र्याएर २०२० लाई पर्यटन वर्ष मनाउने सपनाहरु अधुरा रहे । अन्तर्राष्ट्रिय विमानस्थललगायतका थुप्रै सपनाहरु अलपत्र रहे । चन्द्रगढीदेखि धनगढीसम्मका विमानस्थलहरुको रात्रि उडान, एयरपोर्टहरुको स्तरोन्नति, गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रियस्तरको प्रवर्धन, १०० पर्यटकीय गन्तव्य, बुटिक एयरपोर्टको रुपमा जनकपुर एयरपोर्ट र पोखरालगायतका पर्यटकीय क्षेत्रमा भएका कामहरुले पनि रविन्द्रप्रति आरिश गर्नेहरु बढिरहेका थिए ।

तर, दुनियाँका सब आलोचना, आरिश, षड्यन्त्र चिर्दै गर्दा दुःखद् घटना जसले छिनभरमा सबका सब कामलाई इतिहासमा सीमित पारिदियो । छिनमा सब खरानी र आँशुको भेलमा मिल्यो । अब फर्कने कुनै विकल्प छ्रैन । यथार्थलाई चुपचाप स्वीकार्नुको कुनै विकल्प छैन । जन्म जस्तै मृत्यु शाश्वत सत्य हो । यसको कुनै फिराद छैन । केवल सम्झना र श्रद्धाञ्जली हो । रविन्द्र दाइप्रतिको सम्झना र श्रद्धाञ्जलीका लागि संगठन, पार्टी र देशले रविन्द्रको पथ पछ्याउन जरुरी छ ।

क्षमता र कामलाई जहिल्यै प्राथमिकतामा राख्ने र राष्ट्रिय आवश्यकता, राष्ट्रिय लक्ष्य र आफ्नो निष्ठालाई अविचलित राख्नु नै दाइप्रतिको श्रद्धाञ्जली हो । हामी हरेक काममा रविन्द्र दाइलाई सम्झन्छौं किनभने हामी विद्यार्थी हौ । विद्यार्थीप्रतिको तपाईको गुण युगीन छ । अलविदा रविन्द्र दाइ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७