प्रदेशको नामाङ्कनमा जनभावना समेटिने


१९ फाल्गुन २०७५, आईतवार
belon

-अर्जुन कुलुङ राई
धरान, १९ फागुन । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीले प्रदेशको नामाङ्कनमा जनताको कदर गरिने स्पष्ट पारेका छन् ।

belon

किरात राई यायोक्खाको शनिबार सुनसरी धरानमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै दुवै जनाले यस्तो बताएका हुन् । प्रमुख अथिति रहेका मुख्यमन्त्री राईले प्रदेशको नामबारे प्रदेश सांसद र पार्टी प्रमुखहरुसँग छलफल, परामर्श भइरहेको बताएका छन् ।

be

नाम विवादरहित होस् भन्ने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका केन्द्रीय नेताहरुसँग समेत छलफलमा रहेको मुख्यमन्त्री राईले जानकारी गराएका छन् । नेताहरुले यही नाम राख्न निर्देशन दिएको भन्ने हल्ला गलत भएको उनले बताए ।

be 1

प्रदेशको नाम र स्थायी राजधानी तोक्दा सकेसम्म सबैको भावना समेट्ने प्रयास गर्ने राईले स्पष्ट पारे । किरात नामप्रति कसैको असहमति नपाएको मुख्यमन्त्री राईको भनाइ थियो । कठिन भए पनि प्रदेशको विकास र समृद्धिका लागि नाम सहमतिमै राखिने राईले बताएका छन् । संघीयता कार्यान्वयन, नाम राख्ने जस्ता जटिल र ऐतिहासिक जिम्मेवारी लिन प्रतिष्पर्धाबाट आफू आएकाले सकेसम्म सहज रुपमा यी जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री राईले बताए ।

be2

नेपाल निर्माणका जग २००७ सालको क्रान्ति नायक रामप्रसाद राईलगायतका किराती समुदायको योगदान महत्वपूर्ण रहेको मुख्यमन्त्री राईको भनाइ थियो । कार्यक्रममा प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले यायोक्खाले किरात पहिचानको कुरा भद्र र लोकतान्त्रिक पद्धतिले उठाउँदै आएको बताएका छन् ।

be3

‘म ब्राम्हणको छोरा भए पनि माझ किरातमा हुर्केको व्यक्ति हुँ’, सभामुख भण्डारीले भने, ‘किरात कुनै एउटा जाति होइन, यो इतिहास, भूगोल र सभ्यता हो ।’ नाम राख्दा प्रदेशबासी आम जनताको भावनाको प्रतिनिधित्व गर्ने गरी पहल गर्ने भण्डारीको भनाइ थियो । नाम राख्दा आगो रोप्न नहुने बताउँदै संघीय सांसद सुदन किरातीले नाम राख्दा संसार जलाउने आगो नरोप्न चेतावनी दिए ।

be 4

किरात सभ्यता, इतिहास र भूगोल भएकाले नाम राख्न कुनै कन्जुस्याई गर्न नहुने उनले बताए ।
त्यसैगरी अर्का संघीय सांसद हेमकुमार राई (सुरवीर) ले प्रदेश–१ मा किरात नाम अपूर्ण भए अप्रिय हुने चेतावनी दिए । किरात नामको कुनै विकल्प नभएको तर्क प्रस्तुत गर्दै सोही नाममा सहमति जुटाउन मुख्यमन्त्री र सभामुखलाई सुझाव दिए ।

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले शेरधन राईले किरात पहिचान जोगाउनेमा आफू आशावादी भएको बताएका छन् । किरात नाम राखिए मुख्यमन्त्री र सभामुखको प्रदेशभर शालिक राखिने र नराखेमा जीवनभर आरोप चिर्न तयार हुनुपर्ने उपाध्यक्ष छन्त्यालको भनाइ थियो ।

पहिचान बिनाको नाम राखिए त्यही दिनदेखि आन्दोलन शुरु हुने छन्त्यालले बताए । प्रदेश १ का सभा सदस्य उमिता विकले किरात नाम राख्न कुनै समस्या नहुने बताइन्। अर्का प्रदेश सभा सदस्य रामकुमार राई (पासाङ) ले नाम राख्दा अर्को आन्दोलन गर्नु नपर्ने गरी किरात राखिनु पर्ने विचार राखे ।

नेपाली कांग्रेस सम्बद्ध प्रदेश सभा सदस्य प्रकाशप्रताप हाङ्नाम, सुनुवार सेवा समाजका केन्द्रीय उपाध्यक्ष शान्तकुमारी राई, यायोक्खा केन्द्रीय सल्लाहकार चन्द्रविक्रम राई, यायोक्खा वेलायतका अध्यक्ष कल्पना राई, किरात खम्बु राई संस्कृतिक संस्था दार्जिलिङ भारतका अध्यक्ष ताराकुमार राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

be5

यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्यक्रम महासचिव जीवन हाताचो राई र उपमहासचिव डि.बी. सरोज राईले सञ्चालन गरेका थिए । स्वागत मन्तव्यको क्रममा उपाध्यक्ष दिवस राईले किरात नाम नराखिए कडा आन्दोलनको विकल्प नभएको बताएका थिए ।

कार्यक्रम शुरु हुनुअघि किरात राई यायोक्खा सुनसरीको कार्यालयबाट छाता चोक हुँदै धरान परिक्रमा गरी भानुचोकमा आएर वृहत सभामा सहभागी भएको थियो । र्‍यालीमा १ नम्बर प्रदेश किरात प्रदेश, सम्पूर्ण प्रदेशवासीको चाहना किरात प्रदेशको स्थापना लगायतको नारा लगाएका थिए । धरानस्थित अतिथि सदनमा बन्द सत्रले संस्थाको सांगठानिक, आर्थिक, राजनीतिक प्रतिवेदनबारे छलफल गर्दै नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष दिवस राईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७