सरस्वती प्रतीक्षालाई सर्वोच्चको आदेश, ‘नथिया’ सच्याएर बादीसँग माफी माग्नू’


२० फाल्गुन २०७५, सोमबार
nathiya

काठमाडौं, २० फागुन । बादी समुदायको समस्या उठान गरेको भनिएको सरस्वती प्रतीक्षाको कृति ‘नथिया’ सच्याउनु पर्ने भएको छ ।

nathiya

सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ । ती कृतिमा वादी समुदायको आत्म सम्मानमा ठेस पुर्‍याउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई महत्वका साथ प्रयोग गरेको भन्दै बादी अगुवाहरु सर्वोच्च अदालत पुगेका थिए ।

ती कृतिबाट त्यस्ता शब्द हटाएर श्रष्टाले बादी समुदायसँग क्षमा माग्न माग निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै मीना नेपाली समेतका बादी अगुवाहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

फागुन १५ गते सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले उपन्यासमा प्रयोग भएका आत्मसम्मानमा ठेस पुर्‍याउने, जातीय विभेद जनाउने शब्दहरु हटाउन र बादी समुदायसँग माफी माग्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

बादी अगुवाले माग गरेअनुसार नै सर्वोच्चबाट निर्देशनात्मक आदेश जारी भएको अधिवक्ता शशी बस्नेतले जानकारी दिएकी छन् । उक्त आदेशको संक्षिप्त रुप पनि सार्वजनिक भएको छैन ।
उपन्यास र फिल्ममा बादी समुदायका पुरुषले माछा मार्ने, मादल बजाउने र श्रीमतीका लागि ग्राहक खोज्ने गरेको देखाइएको छ ।

तर, बादी समुदायमा विवाह गरेका महिलाले यौन व्यवसाय गर्दैनन् । तथ्य नै तोडमोड भएको भन्दै बादी समुदायले आपत्ति जनाएका हुन् । राज्यले बादी समुदायमाथि उच्चारण गर्न पाइँदैन भनेका शब्दलाई उपन्यास र फिल्ममा प्रमुख स्थान दिएकाले न्याय माग्दै अदालत गएको बादी अगुवा केशव नेपाली बादीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७