घनश्याम परिश्रमीका तीन गजल


२५ फाल्गुन २०७५, शनिबार
dr. ghanshyam parisrami घनश्याम परिश्रमी

पुजारी हुँ भन्थ्यो सिकारी रहेछ
पुरै नक्कली केश दारी रहेछ

सुनायो मिठो शान्तिको गीत जसले
उही नै पो हतियार धारी रहेछ

अहो कृष्णको आज विश्वास पात्र
हिजोको उही धुन्धुकारी रहेछ

बनायो कसैले महल चोकमा नै
हिजो ऊ सहरमा भिखारी रहेछ

म गन्तव्यमा पुग्नु पर्नेछ छिट्टै
यही छु कसैको सवारी रहेछ

तिमीले जहाँ फूलबारी छ भन्थ्यौ
त्यहाँ झाङ्गिदै सिस्नुघारी रहेछ

दुवै पक्षको भो मिलापत्र भन्थे
विरोधीको अवरोध जारी रहेछ

पखेटाहरू छन् बिना प्वाँख उड्ने
यही नै हजुरको चिनारी रहेछ ।

२——————————————
सुनाएर दर्शन कहाँ मिल्छ शान्ति
छ मनमा प्रलोभन कहाँ मिल्छ शान्ति

बढेकै छ पीडा दुखेकै छ माथा
लगाएर चन्दन कहाँ मिल्छ शान्ति

कसैको छ खुट्टा नचुँड्ने रसीले
नखोलेर बन्धन कहाँ मिल्छ शान्ति

कठै झुपडी ती महलका खुसीमा
सधैँ भोकमा छन् कहाँ मिल्छ शान्ति

प्रकाशित कुनै पुस्तिका शान्तिबारे
हुँदैमा विमोचन कहाँ मिल्छ शान्ति

परेवा उडाएर हिंसा गरिन्छ
रुवाएर जीवन कहाँ मिल्छ शान्ति ।

३———————————————
नाफा मुखी उनी छन् ठूलो पसल छ उन्कै
महँगो गरेर के भो व्यापार चल्छ उन्कै

कस्तो अचम्म हो यो यस्तै हुँदो रहेछ
पित्तलको खेती गर्छन् सुन चाँदी फल्छ उन्कै

डेरा गरेर बस्छन् विद्धान बुद्धिजीवि
भाडा स्वयम् असुल्छन् अग्लो महल छ उन्कै

झुपडी जलेर के भो वास्ता हुँदैन खासै
क्षतिपूर्ति दिन्छ सरकार पर्खाल ढल्छ उन्कै

होस् फाइदा यसैमा दिनरात चित्त दिन्छन्
स्वार्थी विचारका छन् यात्रा सफल छ उन्कै

गुण्डाहरू उन्कै आदेशमा खटिन्छन्
हर क्षेत्रमा पहुँच छ किस्मत प्रबल छ उन्कै ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७