भृकुटीमण्डप प्रदर्शनी : अल्लोको सामानमा ‘आकर्षण’


२६ फाल्गुन २०७५, आईतवार

काठमाडौं, २६ फागुन । भृकुटीमण्डपमा जारी ‘१५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी, चप्पल, जुत्ता, सल, झोलामा मानिसको आकर्षण बढेको हो ।

प्यूठान नौबहिनी गाउँपालिका–६ स्थितको कोठी हिमाल अल्लो उद्योगकी सञ्चालिका चित्रकली बुढामगरले अल्लोबाट बनेका कपडा किन्न मानिसको आउने गरेको बताइन् ।

उनको स्टलमा अल्लोबाट बनेको ढाकाटोपी रु ५०० देखि रु ८०० सम्म र ज्वारीकोट रु दुई हजार ५०० देखि रु पाँच हजारसम्म रहेको छ । उनले नेपाली सामग्रीबाट उत्पादन हुने भएकाले अल्लोका सामानप्रति मानिसको आकर्षण बढेको बताइन् । सिस्नोको चार प्रजातिमध्ये एक जातबाट अल्लो बनाइन्छ । वर्षेनी वनजङ्गलमा सडेर कुहिएर गइरहेको अल्लोलाई प्रशोधन गरेर उक्त कपडा तयार पारिन्छ ।

‘रक्तचाप, मघुमेहजस्ता रोग लागेका मानिसलाई अल्लोबाट बनेका कपडा लगाउँदा राम्रो हुन्छ’, उनले भनिन्, ‘नेपाली उत्पादनलाई बढवा दिन र स्वास्थ्यका कारणले पनि अल्लोबाट बनेको कपडा किन्न आउने गर्दछन् ।’

बुढामगरले सञ्चालन गरेको उक्त उद्योगमा अहिले आफ्नै परिवारका छ सदस्यसहित ५० लाई रोजगारी दिएकी छन् । विसं २०६३ मा रु ९० हजार लगानीबाट सिस्नोलाई प्रशोधन गरी कपडा उत्पादन गर्न थालेकी उनको अहिले रु ५० लाखको उद्योग भएको छ ।

उनले १३ प्रतिशतबाट लिएको ब्याजलाई अहिले बैंकले १८ प्रतिशत पुर्‍याउँदा समस्या भएको बताइन् । ‘अहिले सहमति विपरीत बैंकले ब्याजदर बढाउने गरेका छन्’, उनले भनिन्, ‘यसबाट अहिले उद्योग सञ्चालन गर्ने मात्र काम भएको छ, नाफा हुनसकेको छैन ।’

यस्तै महोत्सवमा दाङ घोराहीस्थित चिनारी महिला साझेदारी उद्योग समूहमा पनि मानिसको अल्लोबाट बनेको कपडा किन्नेको भीड नै हुने गरेको छ । उद्योगकी सञ्चालिका प्रेमकुमारी पुन आफ्नो स्टलमा बढीजसो ढाकाटोपी र सानो–सानो पर्स किन्न मानिस आउने गरेको बताउँछिन् ।
उनले दैनिक रु ३५ हजारसम्म अल्लोबाट बनेका कपडा बिक्री गर्ने बताइन् ।

उनका अनुसार महोत्सवमा अल्लोको विशेषता बुझ्ने मानिस आउने गर्दछन् । उनले सरकारी कार्यालय, स्कूल, कलेजमा नेपालबाट उत्पादन हुने अल्लोको कपडा प्रयोग गरे व्यापार फस्टाउने बताइन् ।

यस्तै महोत्सवमा भारत, बङ्लादेश र पाकिस्तानका छालाबाट बनेका सामग्री तथा साडीमा राखिएका छन् । यही फागुन २३ गतेबाट भृकुटीमण्डपमा सञ्चालन महोत्सव २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७