मेराे ध्यान प्रधानमन्त्री र अध्यक्ष भन्दा देश विकासमा छ: ओली


१८ मंसिर २०७४, सोमबार
oli 2

ललितपुर: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्नेभन्दा पनि आफ्नो ध्यान देश विकास कसरी गर्ने भन्ने रहेको बताएका छन् ।वाम गठबन्धन क्षेत्र नं–१ ले आज चापागाउँमा आयोजना गरेको चुनावीसभामा उनले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र आफू दुवैको पार्टी एकीकरणको उद्देश्य अध्यक्ष बन्नु नभएको प्रष्ट पारे ।oli 2

उनले भने, “अहिले नै हामी पार्टीका अध्यक्ष छौंँ, त्यसका लागि एकीकरणमा जानु पर्दैन ।” नेताको व्यवस्थापनभन्दा पनि जनताको व्यवस्थापनका लागि पार्टी एकीकरण भएको उनले बताए। घाइते, पीडित, बेरोजगार र गरिब जनताको व्यवस्थापनको आवश्यकता भएको उनले औँलाए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को पटक प्रधानमन्त्री हुनेबाहेक अरु चुनावी कार्यसूची नभएको आरोप लगाउँदै उनले भने, ‘पत्रकारले कार्यक्रम के छ भनेर प्रश्न गर्दा उनले म प्रधानमन्त्री बन्नु छ भन्ने गर्नुभएको छ ।’ अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा विकासका कामको थालनी र छिमेकीसँगको सम्बन्ध सुधार गरेको जिकिर गर्दै वामपन्थीसँग सरकारमा गएपछिका थुप्रै कार्यक्रम रहेको जिकिर गरे ।
सभामा एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले विकासका सबै कामको थालनी वामपन्थी सरकारले नै गरेको जिकिर गरे । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि दाहालले वामपन्थीको जीतको औपचारिक घोषणा हुन मात्रै बाँकी भएको विचार राखे ।
एमालेका केन्द्रीय सदस्य सुशीला नेपालले यस क्षेत्रमा वामपन्थीको जीत फर्कने जिकिर गरे । क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले नेपाली काँग्रेसले प्रहरी महानिरीक्षक बन्न रोक्नाले गर्दा आफू जनतासम्म जान पाएको बताए । प्रदेशसभा खका उम्मेदवार चेतनाथ सञ्जेलले आफू पार्टीमा बसेर काम गरे पनि जननिर्वाचित नभएकाले काम गर्नका लागि जनतासँग एक पटक अवसर मागेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७