काठमाडौँ क्षेत्र नं. ८ मा ९ हजार मतअन्तरले हामीले चुनाव जित्छाैँ : जीवनराम श्रेष्ठ


१८ मंसिर २०७४, सोमबार
jiwan ram shrestha

जीवनराम श्रेष्ठ एक जना चर्चित एवं स्थापित नेता हुन् ।  उहाँको सिंगो जीवन नै राजनीति र देशको गौरव बढाउने खेल क्षेत्रको अग्रपंक्तीमा आउँछ । उनी राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव तथा हाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । जीवनराम श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नम्बर १५ का पूर्व वडाध्यक्ष समेत हुन् । यही २१ गते हुन गइरहेको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार बनेका  श्रेष्ठको व्यक्तित्व आफैमा बहुआयामिक छ । उनै श्रेष्ठसँग निर्वाचन विषयमा गरिएको कुराकानी :

jiwan ram shrestha

१. तपाईको चुनावी प्रचार–प्रसार कुन ढगंले अगाडि बढिरहेको छ ?
व्यक्तिगत भेटघाट, कोठे भेलाहरु र घरदैलो कार्यक्रम गर्ने मतदाताको बिचमा आफ्ना कुराहरू राख्ने लगायतका काम गर्दै अघि बढिरहेका छौँ । प्रचारको क्रममा मतदाताहरुको बिचमा राम्रो प्रतिक्रिया पनि पाएका छौँ ।
२. कांग्रेसका तर्फबाट उम्मेदवार बनेका व्यक्ति त्यस पटक–पटक त्यही क्षेत्रबाट विजयी भएका र मन्त्री पनि भएका व्यक्ति हुनुहुन्छ, कतिको सहज महसुस गर्नुभएको छ ?
काठमाडौँ क्षेत्र नं. ८ मा मतदाताहरु मेरो उपस्थितिमा निकै नै उत्साहित हुनुभएको छ । यस अघि पनि पटक–पटक चुनाव जितेका कांग्रेसका नवीन्द्रराज जोशी मेरो मुख्य प्रतिष्पर्धी हुनुहुन्छ । यो मेरो दोस्रो पटकको उम्मेदवारी हो । ठुला पार्टीको तर्फबाट हामी दुई जना उम्मेदवार छौँ । मतदाताको बिचमा जाँदा उहाँहरूले गरेको खुसी व्यक्त, आर्शिवादले म निकै प्रभावित भएको छु । वृद्ध–बृद्धादेखि बुवा–आमा, युवा सबैबाट हार्दिकतापूर्ण र उत्साहजनक माया प्राप्त भएको छ । उहाँहरूले गरेको समर्थनले मलाई थप उत्साह पैदा भएको छ । यहाँका मतदाताले गरेको उत्साहपूर्ण समर्थनलाई हेर्दा मैले यो क्षेत्रमा प्रतिस्पर्धाको महसुस गरेको छैन । यहाँका जनताले पनि मलाई एक्लो उम्मेदवारका रूपमा हेर्नुभएको छ ।
३. उहाँ त चुनाव जितेर मन्त्री पनि भैसक्नुभएको व्यक्ति, विकास निर्माणका काम पनि निकै गर्नुभएको होला नि ?
निश्चित रूपमा क्षेत्र नं. ८ भन्दा बाहिर बस्ने मतदाताले ससंद जितेर मन्त्री भैसकेको व्यक्ति उम्मेदवार हुनुनुन्छ त्यहाँ वाम गठबन्धनका उम्मेदवारलाई जित्न मुस्किल होला भन्ने ठान्नुभएको छ । तर, यहाँ त्यस्तो अवस्था होइन । धेरैले विकास निर्माणका कामहरू यो क्षेत्रमा भएका होलान् भन्ने ठानेका पनि होलान् । तर, जुन मतदाताले उहाँलाई निर्वाचित गराएर पठाउनुभयो उहाँहरू निकै दुःखी हुनुहुन्छ । सांसद् भएर सांसदको हैसियतले संसद् विकास कोषबाट आउने वार्षिक ३ करोड कहाँ लगानी भयो ? उहाँहरूले भन्दै आउनु भएको छ । जनताहरू आक्रोशित छन् । जवाफदेहिता अनि पारदर्शिता भएन भन्ने कुरा पनि उठिरहेको छ ।
यो क्षेत्रको विकासका लागि उहाँले कुनै पहलकदमी गर्नुभएन भन्ने पनि गुनासो आएको छ । विनाशकारी भू्कम्पबाट ठुलो धनजनको क्षति भयो । हाम्रो क्षेत्र भूकम्प प्रभावित क्षेत्र पनि हो । त्यति बेला हाम्रो पार्टीका साथीहरू उद्धार र राहतमा जुट्यौ । हामी भूकम्पबाट क्षतिग्रस्त भएका ठाउँहरुलाई व्यवस्थित गर्ने, बाटोहरुलाई व्यवस्थित गर्ने र निजी घरहरुलाई धरापमुक्त बनाउने काममा लाग्यौँ । विपद्को बेला जुन पहलकदमी हामीले गरेका थियौँ, त्यसबाट मतदाता खुसी हुनुहुन्छ । भूकम्प गएको २ वर्ष बितिसकेको छ । हाम्रो क्षेत्र कोर सिटीमा पर्छ । हाम्रो क्षेत्रमा अहिले पनि धरापको स्थिति छ । हाम्रो सम्पदाको धरोहर काष्ठमण्डप निर्माण, विश्व सम्पदा सुचीमा रहेको हनुमान ढोका, दरबार स्क्वायर, स्वयम्भु मन्दिर लगायतका ठाउँहरूमा पुर्ननिर्माणका लागि कुनै पहलकदमी हुन सकिरहेको छैन । कुनै चासो व्यक्त भएन भन्ने गुनासो सर्वत्र छ ।
हिजोका दिनमा जनप्रतिनिधी भनेको एक जना संसद् मात्र थियो । जनप्रतिनिधी यो क्षेत्रमा नवीन्द्रराज जोशी हुँदा आफ्नो प्रतिनिधि दुःखको बेला, अप्ठ्यारो बेलामा पाइएन भन्ने आम रूपमा जनगुनासो छ । यो क्षेत्रमा चमती आयोजना दशकौँ अगाडिदेखि सुरु भएको हो । त्यो आयोजना अस्तब्यस्त अवस्थामा छ । त्यो आयोजनालाई अगाडि बढाउने कुरामा पनि कुनै कार्य भएको छैन ।
हिजोको चुनावमा जनताको बिचमा गएको जनप्रतिधि भएको हैसियतले र त्यहिँको स्थायी बासिन्दा भएकोले पनि त्यो आयोजना अघि पटक–पटक अगाडि बढाउन अनुरोध गरेको थिए । तपाईँको नेतृत्वमा यो आयोजना पूरा गरौँ भन्दा कुनै चासो देखाउनु भएन । यसमा पनि जनताको ठुलो असन्तुष्टि रहद आएको छ । हाम्रो निर्वाचन क्षेत्रमा मनमती खोला छ । मान्छेलाई अचम्म लाग्न सक्छ । काठमाडौँमा पनि खोलाले कटान गर्छ र भन्ने हुनसक्छ । सीतापाइलादेखि बग्दै आएर १३ वडा कालिमाटी, सोल्टीमोडतिरबाट बग्ने मनमती खोला छ । त्यो खोलाले बर्षातको बेलामा छेउछाउका घरमा डुबानमा पार्ने, जमिन कटान गर्ने गर्छ । यो समस्या यहाँका जनताले वर्षौदेखि भोगिरहेका छन् । त्यस्तो समस्या भएको ठाउँलाई उहाँले व्यवस्थित गर्ने काममा कुनै चासो देखाउनु भएन ।
संसद् विकास कोषको पैसालाई उपयोग गर्ने काममा पनि उहाँ लाग्नु भएन् । यसरी २ पटक संसद्को रूपमा प्रतिनिधित्व गरेर पनि उहाँले यो क्षेत्रका लागि कुनै पनि भूमिका खेल्न सक्नुभएन । यही कारण जनताले उहाँसँग गुनासो गर्दै आएका छन् । यो क्षेत्रका मतदाता यो पटक हामी पुरानालाई होइन एक–पटक नयाँलाई अवसर दिन्छौ भनेर लाग्नु भएको छ । यस भेगका जनताले हामी विकास चाहन्छौँ । तपाईँमाथि हामी पूर्ण विश्वस्थ छौँ भन्दै आएका छन् । मैले प्रतिनिधि सभाको सदस्यका लागि उम्मेदवारी दिइसकेपछि हाम्रो पार्टीले अगाडि सारेका समृद्धिका खाकालाई मन पराउनु भएको छ ।
काठमाडौँ विशिष्ठ पहिचान बोकेको क्षेत्र हो । यहाँको संस्कृति, यहाँको ऐतिहासिक धरोहर यी सबैको सरंक्षण र सम्बद्र्धन गर्नु आवश्यक छ । मैले यसको विकासको लागि लाग्छु भन्ने दृष्टिकोण अगाडि सारेको छु । यो क्षेत्र ऐतिहासिक धरोहर भएको क्षेत्र हो । यो क्षेत्रलाई एकीकृत विकासको योजनासहित यहाँका सडक, ढल, ,खानेपानी, सडकबत्ती, पर्यावरण र सडक यातायातलाई व्यवस्थित बनाउनेदेखि सामाजिक सुरक्षाका कुराहरूलाई अगाडि बढाउँछु भन्ने सम्मको दृष्टिकोण अगाडि सारेको छु । महिला जनशक्तिलाई उत्पादनसँग जोडेर श–शक्तिकरण गर्ने ,अभियान चलाउने कुरालाई पनि अगाडि सारेको छु । मेरो योजनाबाट मतदाताले खुसी व्यक्त गर्नुभएको छ । यी सबै कारणले निर्वाचनमा प्रतिस्पर्धाको स्थिति छैन भन्ने मैले बुझेको छु ।
४. नवीन्द्रराज जोशी स्थानीय नभएको भन्ने पनि आरोप छ नि ?
स्थानीय तहको निर्वाचनको परिणामले नै यो देखाइसकेको छ । त्यो एउटा ज्वलन्त उदाहरण पनि हो । स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार राजुराज जोशी होइन नवीन्द्रराज जोशी नै हुनुहुन्थ्यो । त्यो बेलाको प्रचार वा त्यतिबेलाका व्यानरलाई नै हेर्यौँ भने मन्त्री जोशीका दाजु राजुराज जोशीलाई मत दिऊ भनेर प्रचार गरिएको थियो । त्यस्तै खालका ठुला–ठुला फ्ल्यासहरु झुण्डाइएका थिए । चुनावमा जोशी आफैँ उत्रेको अवस्था थियो । यहाँका जनताले यहाँको विकासका लागि काठमाडौँकै प्रतिनिधित्व होस भन्ने चाहेका छन् । यहाँ नेवार जातीहरुहरुको बाहुल्यता छ । ती जनताले यहाँको सस्कृति, परम्परालाई प्रतिनिधित्व गर्न यहाँको कला, संस्कृति बुझेको व्यक्ति चाहिन्छ भन्ने प्रमाणित गरे । मैले जातको कुरा गर्न त नमिल्ला तर, अहिले नवीन्द्रराज जोशीलाई धेरैले काठमाडौँकै जोशी हो भन्ने ठान्नु भएको छ । तर, उहाँ यहाँको जोशी होइन ।
उहाँ डोटीबाट बसाई सराई गरेर नेवारको टोलमा आएर बसोबास गर्नुभएको रहेछ । अहिले सबैले उहाँको इतिहास खोतल्न थालेका छन् । त्यसैले नेवारी भाषा बोल्ने मान्छेसँग हामी झुक्किने कुरा भएन । नेवार समुदाय र अझ त्यसमा पनि स्थानीय व्यक्ति भएपछि यहाँका मतदाता उम्मेदवार छान्नु पर्छ भन्नेमा छैनन् । जसको रगतमै नेवारको सस्कृति, परम्परा रहेको छ भने नेवारी भाषा बोल्यो भन्दैमा हाम्रो प्रतिनिधित्व हुन सक्दैन भन्ने पनि छ । यहाँका जनताले आफ्नै समुदायको उम्मेदवार पाएकोमा खुसी पनि व्यक्त गर्नुभएको छ । छौ भनी खुसी व्यक्त गरेका छन् ।
अर्को कुरा हिजोका दिनहरूमा धेरैलाई नवीन्द्रराज जोशी लोकप्रिय भएर जिते भन्ने भ्रम छ । दुई पटकसम्म चुनाव जितेको मान्छे लोकप्रिय भएर हो कि भन्ने पनि स्वभाविक हो । तर, यथार्थमा त्यस्तो होइन । यो क्षेत्रमा मैले चुनाव जित्ने अर्को मुख्य कारण भनेको यो क्षेत्र वामपन्थीको आधार क्षेत्र होे । वामपन्थीहरुको भोटमा विभाजन भएकाले काग्रेसले जितेको हो । एमाले र माओवादी दुईतिरबाट उम्मेदवार भएकाले २०६४ र २०७० सालमा पनि नेपाली काँग्रेसले जित्न सफल भएको हो । कुनै लोकप्रियताका कारणले होइन । अहिले वामपन्थी एक भएपछि काँग्रेसले जित्ने कुनै आधार नै छैन ।
हिजो स्थानीय निकायहरू थिएन । त्यसले पनि मान्छेमा भ्रम सृजना हुने स्थितिहरू बने आज त्यो स्थितिको अन्त भएको छ । हिजो जुन वामपन्थीको आधार क्षेत्र थियो । त्यो आज एक ठाउँमा आएको छ । एमाले र माओवादीको गठबन्धन भएर साझा उम्मेदवार भएका छौँ । त्योसँगै काठमाडौँमा राम्रो प्रभाव रहेको सङ्घीय समाजवादी फोरमले पनि यो क्षेत्रबाट उम्मेदवारी दिएको छैन । त्यहाँ उम्मेदवारी नदिनु भनेको मेरो समर्थन हो । राप्रपाको लोकतान्त्रिक गठबन्धन हाम्रो क्षेत्रमा ‘फेल’ भएको छ । त्यसका छुटाछुटै उम्मेदवारहरु छन् ।

उनीहरूले पनि राष्ट्रियताका सवालमा नेकपा एमाले भन्दा नेपाली काग्रेस नजिक हुन सक्दैन । नेकपा एमालसँग अगाडि जान सक्छौँ हाम्रो मत तपाईँहरूलाई दिन्छौ भनेर प्रस्ट रूपमा भनेको अवस्था छ । यसरी अहिलेको अवस्था हेर्दा स्थानीय तहको निर्वाचनमा मेरो क्षेत्रमा ८ वटा वडाहरु पर्छन । महानगरको ६ वडा र नागार्जुन नगरपालिकाको २ वडा छन् । यसरी ५ वटा वडामा ठुला–ठुला वडाहरु १३ र १५ को २५ हजार मत रहन्छ । यो वडामा अत्याधिक मतका साथ स्थानीय तहको निर्वाचनमा हामीले जितेका छौँ । साना दुई वडामा नेपाली काँग्रेसले १८ मतको फरकमा जितेको अवस्था हो । मेरो प्रतिष्पर्धी जोशीजी बस्ने वडामा पनि हामी बलियो छौँ । २३ र २४ नं वडामा राम्रो मत ल्याएर जितेका छौँ । महानगरपालिको ६ वडा मध्य ४ ठुला वडामा हामीले जितेका छौ भने २ सानामा वडामा झिनो मतले नेपाली काँग्रेसले जितेको छ ।
नागार्जुन नगरपालिकाको २ वडा मध्ये ४ नं वडामा हामीले जितेका छौँ । एउटा वडामा राप्रपाले जितेको छ । त्यसमा पनि सदस्य एउटा हामीले जितेका छौँ । यसरी हेर्दा पनि हाम्रो आधारशिला एकदमै मजबुत छ ।
समग्रमा भन्दा मतको आधारमा स्थातनीय तहको निर्वाचनलाई हेर्ने हो भने पनि नेकपा एमालेको मात्र १३ हजार ६ सय मत छ । नेपाली काग्रेसको १० हजार ७२ मत छ । माओवादीको मत लगभग ३ हजार छ । सघीय समाजवादीको ८ सय जति छ । राप्रपाको मतलाई पनि मत हामीलार्ई आउँछ । यो आधारमा ९ हजार मतले हामी अगाडि छौँ ।
५. क्षेत्र नं ८ का जनताले तपाईलाई नै भोट के कारणले हाल्ने ?
अहिले जनताले राजनीतिक अस्थिरताको अन्त्य चाहेका छन् । मुलुकमा अस्थिरताको कारणले सबै क्षेत्र अस्तव्यस्त भयो । मुलुक अस्तव्यस्त भयो । मुलुक अगाडि बढ्न सकेन भन्ने आम रूपमा एउटा धारण बनेको छ । राजनीतिक परिवर्तन पछि समृद्धिको बाटोमा जानुपर्छ । सधैँ राजनीतिक अन्यौलतामा रहनु हुदैँन भन्न्ने आम रूपमा एउटा धारणा भनेको छ । त्यसैले यो बाम गठबन्धनको मुख्य उद्धेश्य भनेकै स्थिरता र मुलुकको समृद्धि नै हो । त्यसैले पनि साझा उम्मेदवारलाई जिताउन आवश्यक छ । दोस्रो काठमाडौँ मुलुकको राजधानी हो ।

यसको आफ्नो छुटै पहिचान छ । विशेषता छ । यो विशेषता र पहिचानलाई सरंक्षण गर्नुपर्ने आवश्यकता छ । राजधानीबाट जित्ने त धेरै उम्मेदवारहरु छन् । हिजो पनि धेरैले जिते, मन्त्री भए तर राजधानीको प्रतिनिधित्व हुन सकेन । राजधानीमा हिजोदेखि बसोबास गर्ने स्थायीबासी, मतदाता, जनताहरू छन् । उनीहरूको भावनाको प्रतिनिधिव्व हुन सकेन । सस्कृति, परम्परा, सम्पदा, गुठी ,गहना जात्रापर्ब, यहाँका भाषा ,जातीका कुराहरूलाई संरक्षण र सम्बद्र्धन गर्ने कुराहरू हुन सकेको छैनन् । यहाँको भौगोलिक सुन्दरता उचित मात्रामा संरक्षण हुन सकेको छैन । काठमाडौँ सास्कृतिक धरोहरको ठाउँ हो ।
म मात्र होइन मेरो पुर्खा पनि यही ठाउँमा जन्मिए । म यही ठाउँमा हुर्के, पढेँ बढे । म यहीको समुदायमा भिजेको व्यक्ति पनि भएकाले पनि मलाई यहाँका जनताले जिताउने निश्चित छ । मेरो क्षेत्रको सास्कृतिक सम्पदा, परम्परा र जात्रा पर्वहरु यहाँको सभ्यताको संरक्षण कुराहरू मत्र होइन सास्कृतिक धरोहरलाई बचाउने कुरा पनि जीवन्त सहरको रूपमा यसलाई स्थापित गर्ने कुरा पनि हो । मेरो क्षेत्रको विकासको लागि जुन दृष्टिकोण अगाडि सारेको छु । त्यो पूरा गर्न पनि मलाई समर्थन हुन्छ भन्ने लाग्छ ।
खेलकुद क्षेत्रमा लामो समयदेखि संलग्न छु । सिङ्गो देशको खेलकुदलाई नै व्यवस्थित गर्ने कुरा, खेलकुद नागरिकको स्वास्थ्यको लागि र राष्ट्रको गौरवको रूपमा स्थापित गर्ने कुरा र देशभरि नै खेलमैत्री बतावरण बनाउने कुरा ,खेलकुदको माध्यमबाट नै खेलाडीहरुलाई जीबनयापन गर्ने स्थिति निर्माण गर्ने कुरा ऐन–कानुन बनाउने कुरामा पनि मेरो भूमिका अहंम रहनेछ । अरूले जित्दा त्यो क्षेत्रको मात्र प्रतिनिधित्व हुनसक्छ । मैले जित्दा यहाँको जाती, भाषा, परम्पराको पनि प्रतिनिधित्व गर्न सक्छु । यी सबै कारणले यहाँका जनताले यो पटक मलाई जिताउने निश्चित छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७