हाकिमलाई भ्रष्टाचार मुद्दा लाग्दा मालपोत कार्यालयमा प्रमुख रिक्त


२८ फाल्गुन २०७५, मंगलवार
Commission for the Investigation of Abuse of Authority CIAA

काठमाडौं, २८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत पदमप्रसाद अर्यालसहित नायबसुब्बाद्वय दयाराम खत्री र लेखनाथ भट्टराईसहितविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले मुद्दा दायर गरिसकेपछि चावहिल मालपोत कार्यालय प्रमुख विहीन बनेको छ । कामु कार्यालय प्रमुख रहेका पदम प्रसाद अर्याल सोमबारबाटै निलम्बनमा परेका छन् ।

मालपोत अधिकृत अर्यालसहितले २०७१ मा पर्सा मालपोत कार्यालयमा कार्यरत हुँदा बीरगन्ज उपमहानगरपालिका वडा नं.४ कि.नं.२३७ क्षे.फ.७३.२० वर्गमिटर जग्गा २०७१ पुस २१ मा लिखत पारित गर्दा प्रचलित कानून बमोजिम राजस्व निर्धारण गर्दा हेर्नुपर्ने वा परीक्षण गर्नुपर्ने घरबाटो सिफारिस लगायतका कागजातहरू नहेरेको, परीक्षण नगरेको, आवश्यक प्रमाण संकलन नगरी घटी राजस्व निर्धारण गरी लिखत पारित गरेका कारण नेपाल सरकारलाई हानीनोक्सानी पु¥याएको आरोप छ ।

जग्गा बिक्रीकर्ता सारदा देउजा र जग्गा खरिदकर्ता कौशलकिशोर श्रीवास्तवले जग्गाको मूल्यांकन कम गराउने उद्देश्यले थैली कम राखी लिखत तयार पारी मालपोत कार्यालयको कर्मचारीको मिलेमतोमा रजिष्ट्रेशन पारित गराएको देखिन आएकोले मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । मालपोत अधिकृत अर्यालसहितले घर भए पनि नभएको भनी पास गराएका थिए । पछि रजिष्ट्रेसनमा घर सुटुक्क थपिएको अख्तियारको छानबिनमा देखिएको थियो ।

घर उल्लेख गर्न छुट भए जसले बिक्री गरेको हो, उसैलाई निवेदन लेख्न लगाई राजस्व लिनुपर्नेमा नलिएपछि उनीहरुविरुद्ध मुद्दा दायर गर्ने आधार अख्तियारले पाएको छ । चावहिल मालपोत कार्यालयमा एउटाको जग्गा अर्कैको नाममा नामसारी गर्ने र बिक्री गरेको आरोपमा मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिनाविरुद्ध केही महिनाअघि मात्र विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ । त्यसअघि छुट जग्गा दर्ताको आरोपमा कर्मचारी सहित ५४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । यसरी डेढ बर्षको बीचमा चावहिल मालपोत कार्यालयका १५ भन्दा बढी कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७