युएस बंगला विमान दुर्घटनाको वर्ष दिन : भाग्यले बाँचेकाहरु सामुहिक ‘जन्म’ दिन मनाउँदै


२८ फाल्गुन २०७५, मंगलवार
us Biman

काठमाडौं, २८ फागुन । आजको दिन युएस बंगला विमान दुर्घटना भएको वर्ष दिन पुगेको छ । आजको दिनले विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई फेरि पुरानो चोट बल्झिएको छ । आफ्नाहरु गुमाउँदाको पीडा फेरि आज आलो बनेको छ ।

us Biman

तर, कसैका लागि भने आजकै दिन दोस्रो जीवन पाएको वर्ष दिन पनि बनेर आएको छ । यो शोकको घडीमा दोस्रो जीवन पाएकाहरुले भने आफ्नो पहिलो ‘जन्म’ दिनका रुपमा आजको दिनलाई सेलिब्रेट गर्दैछन् । त्रिभुवन विमानस्थलमा ५१ जनाको ज्यान जाने गरी दुर्घटना भएको आज (मंगलबार) एक वर्ष पूरा भएको छ । यो वर्ष दिनको घाउ खुशी र दुःख दुबै बनेर आउने गर्छ हरेक वर्ष दुर्घटनामा परेका र आफन्तजनलाई ।

यो विर्सन नसक्ने घटनाबाट सकुशल बाँचेका २० जना भाग्यमानीका निम्ति भने यो नयाँ जीवन पाएको दिनका रूपमा जीवनभर सम्झनामा रहने छ । दोस्रो जीवन पाएकामध्ये आठ जनाले आज हात्तीसारको ‘गसिप’ रेस्टुरेन्टमा भेला भई पहिलो जन्मोत्सव मनाउँदै छन् ।

ट्राभल एजेन्सीमा आबद्ध यी आठसहित १२ जनाको टोली एक वर्षअघि बांगलादेशको राजधानी ढाकामा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिएर फर्कदै थियो । युएस–बंङ्ला एयरवेजको जहाज दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो ।

दुर्घटनामा बाँचेकामध्ये आठ जना ट्राभल व्यवसायीले मंगलबार भेटेर पहिलो ‘जन्मोत्सव’ मनाउने योजना बनाएका छन् । यो योजना उनीहरुको केहि दिनअघिकै हो । त्यो दुःख दुर्घटना सम्झँदै लक्की ट्राभल्सका सञ्चालक सनम शाक्य भन्छन्, ‘यो हाम्रा लागि दोस्रो जीवन पाएको दिन हो ।

नयाँ जीवन पाएको दिनलाई साथीभाइ भेटेर सम्झना गर्न खोजेका हौं ।’ जमघटमा सनमसहित त्यस दिन दुर्घटनामा बाँचेकाहरू दयाराम ताम्राकार, आशिष रन्जित, विनोदराज पौडेल, वसन्त बोहोरा, हरिप्रसाद सुवेदी, केशव पाण्डे र किशोर त्रिपाठी छन् ।

दुर्घटनाको अघिल्लो दिन त्यही जहाजमा ढाकाबाट काठमाडौं फर्केका चित्र गुरूङ पनि उनीहरूसँग नयाँ जीवनको संयोग साट्न आइपुगेका छन् । ‘भाग्यले बाँचेका’ अर्का दिनेश हुमागाईं भने काम विशेषले बाहिर गएकाले आउन नसकेको सनमले जानकारी गराए ।

us bangala
बायाँबाट चित्र गुरूङ, हरिप्रसाद सुवेदी, आशिष रन्जित, दयाराम ताम्राकार, विनोदराज पौडेल, सनम शाक्य, बसन्त बोहोरा, किशोर त्रिपाठी र केशव पाण्डे। हात्तीसारस्थित रेस्टुरेन्टमा जमघट गर्दै । तस्बिर सौजन्य : सनम शाक्य

उनीहरूलाई मंगलबार बिहानैबाट आफन्त र साथीभाइले बधाइ र शुभकामना दिए । दुर्घटनामा परेकामध्ये कोही निको भइसकेका छन्, कोही अझै उपचारमै छन् । केशव पाण्डे अझै निको भइसकेका छैनन् । दुर्घटनामा पाण्डेको दाहिने खुट्टाको घुँडा भाँचियो । अहिले उनको घुँडा स्टिल र रडहरूले अड्याइएको छ । उनी अझै पनि बैशाखीको सहारामा हिंडछन् ।

उनी भन्छन्, ‘सबैभन्दा खुशीको कुरा हामी बाँच्यौं । भगवानले हो या संजोगले । यो हाम्रो दोस्रो जीवन हो ।’ उनका अनुसार खुट्टामा राखिएको स्टिल र रड निकाल्न अझै एकाध महिना लाग्ने डाक्टरहरूले बताएको उनले सुनाए । भयानक दुर्घटनामा बाँचेकाहरूले आफूले गुमाएका साथी पनि सम्झिए ।

उनीहरू एउटै समूहमा सँगसँगै आएका १२ जनामध्ये तीन जना हरिशंकर पौडेल, सजना देवकोटा र प्रविण चित्रकारको निधन भएको थियो । सनम, केशव र अरू साथीहरू आफ्नो खुशीको जमघट सकेर मृतक साथीहरूका परिवारको शोकमा सरिक हुन जाने योजना रहेको सुनाउँछन् । पोहोर आजकै दिन यात्रुले टनाटन भरिएको युएस बंङ्ला जहाज दुर्घटनामा २२ नेपाली, २८ बंगलादेशी र एक चिनियाँ नागरिकले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७