के रोहिंज्या भारतका खतरा हुन् ?


प्रकाशित मिति : September 26, 2017

आफ्नै घर भएको म्यानमारमा रोहिंज्याहरु मन नपराइएका र अस्वीकृत नागरिक हुन्। म्यानमारबाहिर पनि उनीहरु मित्रविहीन छन्। अहिले भारत सरकार भन्छ, त्यहाँ बसिरहेका रोहिंज्याहरुबाट राष्ट्रिय सुरक्षामा स्पष्ट रुपमा खतरा छ।

घोषणा
पहिला, यसै महिनाको शुरुतिर सरकारका एकजना मन्त्रीले भारतमा बसिरहेका सबै रोहिंज्यालाई देशनिकाला गरिने घोषणा गरेपछि त्यसले तहल्का मच्चिएको थियो । भारतमा बसिरहेका ठानिएका ४० हजार रोहिंज्यामध्ये १६ हजार जना राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायमा दर्ता भएका छन्। म्यानमारका बहुसंख्यक बौद्धमार्गीहरुले रोहिंज्याहरुलाई बांग्लादेशबाट आएका गैरकानूनी आप्रवासी ठान्दछन्।

बिबिसि नेपाली सेवाका अनुसार उत्पीडनमा पर्न थालेपछि सन् १९७० को दशकमा रोहिंज्याहरु म्यानमारबाट भागेर भारत आउन थाले र अहिले लगभग देशका सबै स्थानमा छरिएर बसिरहेका छन् तर धेरै कष्टकर अवस्थामा फोहोर शिविरहरुमा बसिरहेका छन्। देशबाट निकाला गर्ने भारत सरकारको निर्णय अनुपयुक्त समयमा आएको धेरैको बुझाइ छ। पश्चिमी रखाइन राज्यमा गत अगष्टयता भएको हिंसाका कारण ४ लाखभन्दा बढी रोहिंज्या बांग्लादेश पुगेका छन्।

देश निकाला गर्ने सरकारी योजनाविरुद्ध रिट निवेदकहरु सर्वोच्च अदालत पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सकारले रोहिंज्या समुदायका कतिपय सदस्यहरुको एउटा पाकिस्तानीसहित अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सम्बन्ध रहेको गोप्य जानकारी भएको जवाफ दियो। उसले भन्यो, ‘यहाँ बसिरहेका केही रोहिंज्या ‘राष्ट्रविरोधी र गैरकानूनी गतिविधिमा संलग्न छन् र उनीहरुले धार्मिक तनाव निम्त्याउन सक्छन्।’

खतरा

विज्ञहरुको तर्क छ- म्यानमारमा हालसालै उदाएको रोहिंज्या लडाकु् समूह अराकान रोहिंज्या साल्भेसन आर्मीलाई कम सोच्नुहुँदैन। विश्लेषक सुबीर भौमिक आकार र प्रभावबारे स्पष्ट भइसकेको अवस्था नभएपनि आर्सालाई सशक्त र उत्प्रेरित संगठनको रुपमा व्याख्या गर्छन्। गत अगष्टमा सो समूहले १२ जना सुरक्षाकर्मीको ज्यान जानेगरी प्रहरी चौकीहरुमा आक्रमण गरेपछि अहिलेको संकट शुरु भएको थियो।

आर्सासँग ६ सय लडाकु रहेको बताइन्छ।बांग्लादेशका अधिकारीहरुका अनुसार आर्साको सम्बन्ध प्रतिबन्धित जमात-उल-मुजाहिद्दीन बांग्लादेशसँग सम्बन्ध छ जुन समूहले सन् २०१६ को जुलाइमा ढाकास्थित एउटा क्याफेमा आक्रमण गरेको थियो। सो आक्रमणमा बन्धक बनाइएका २० जना मारिएका थिए। दिल्लीलाई आर्सा जस्ता समूहबाट क्षेत्रीय सुरक्षामा खतरा उत्पन्न हुनसक्छ भन्ने लाग्छ।

तर उक्त कदमको विरोध गर्नेहरु भारतीय भूमिमा बसिरहेका रोहिंज्याहरुको आतंकवादसाग सम्बन्ध रहेको गोप्य जानकारीको विश्वसनीयताप्रति ढुक्क देखिंदैनन्। उनीहरु भन्छन्- भारतले लामो समयदेखि देशको उत्तर-पूर्वी र मध्य क्षेत्रमा माओवादी विद्रोहीसँग लड्दै आएको छ जुन समूहले राष्ट्रिय सुरक्षामा ठूलो खतरा उत्पन्न गराएको छ नकि छरिएर बसिरहेका रोहिंज्याहरुले।

कति उपयुक्त?

साथै धेरैले केही मानिसहरुले स्पष्ट रुपमा गरेको अपराधका लागि समग्र समुदायलाई दण्डित गर्ने प्रस्तावित योजनामाथि प्रश्न उठाएका छन्, अर्को शब्दमा के समग्र रोहिंज्या समुदायलाई सुरक्षा खतराको रुपमा लिनु सही छ?

अर्कोतर्फ भारतीय गृहमन्त्री राजनाथ सिंहको तर्क छ, रोहिंज्याहरु शरणार्थी वा शरण चाहने होइनन्। हालसालै उनले भनेका थिए, “उनीहरु गैरकानूनी आप्रवासी हुन्।” अन्त्यमा धेरैले भन्न सक्छन्- के पीडादायी छ भने यो देशले संयुक्त राष्ट्रसंघले भनेजस्तो जातीय सफायाको निशानमा परेका जस्तो देखिने रोहिंज्याहरु म्यान्मार फिर्ता पठाउने कुरा गरिरहेको छ ।

अन्तर्राष्ट्रिय शरणार्थी निकायका ड्यानियल सलिभ्यानले सुनाएँ,”जुनसुकै देशसँग सुरक्षा जोखिमहरुबारे आकलन गर्ने अधिकार र साँच्चै नै एउटा जिम्मेवारी पनि छ तर त्यो थाहा हुँदाहुँदै एउटा समग्र समुदायलाई जबर्जस्ती धपाइ उत्पीडन तथा अन्यायको सामनाका साथै मानवअधिकार उल्लंघनका शिकार र मृत्युसम्म हुनसक्ने ठाउँमा फिर्ता पठाउने कार्यलाई बहानाका रुपमा लिन सकिन्न। ” यो कुरा भारतले बुझ्नु राम्रो हुनेछ।

प्रतिक्रिया दिनुहोस्