विप्लवलाई प्रचण्डको प्रश्न, ‘मलाई मारेर यो परिवर्तन बच्ने हाे त ?’


३० फाल्गुन २०७५, बिहीबार
Puspa kamal Dahal Prachanda

काठमाडौं , ३० फागुन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले आफ्नो हत्याको योजना बनाएको खुलासा गरेका छन् । ‘विप्लव’ समूहले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम सूचना सरकारका तर्फबाट आएको दावी गरेका हुन् ।

Puspa kamal Dahal Prachanda

वाइसिएलले बिहीबार पेरिसडाँडामा गरेको सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान कार्यक्रममा प्रचण्डले एक नम्बरमा आफूलाई सिध्याउन विप्लवले माइन्युट गरेको’ बताए ।

प्रचण्डले भने, ‘पछिल्लो समयमा मेरै सचिवालयमा समेत बसेका विप्लवहरुले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्युट गर्नुभएको छ रे । पहिला मार्नुपर्ने मान्छे भनेर टिम पनि खटाउनु भएको छ रे भनेर सरकारका तर्फबाट सुनाउनु भो ।’

प्रचण्डलाई आफूलाई मारेर परिर्वतन र लोकतान्त्रिक गणतन्त्र बच्ने हो त ? भनेर प्रश्न गरे । प्रचण्डले भने, ‘मलाई ती साथीहरु सम्झँदा दया, माया लागेको छ वास्तवमा । के भा होला साथीहरुलाई ? मलाई मारेर यो संघीय लोकतान्त्रिक गणतन्त्र अथवा यो परिवर्तन बच्ने हो त?’

अब केही प्रचण्ड हुदैन
विप्लवले प्रचण्ड बन्छु भनेर नक्कल गरीरहेको भन्दै नक्कल गरेर कोही प्रचण्ड नहुने बताए । ‘नक्कलले दुस्ख पाउनुबाहेक अरू केही हुन्न। मेरो स्कूलको नक्कल गरेर पास भइँदैन। सक्कल गरे पो पास भइन्छ,’ प्रचण्डले भने, ‘जनयुद्धकै बेला मैले ज्ञानेन्द्रलाई महेन्द्रको कलाविहीन नाटक भनेको थिएँ। नौटंकी भनेको थिएँ। भयो त्यस्तै। आखिर उनले दरबार छोड्नु पर्यो ।’

परिस्थिति नहेरी गरिने काम असफल हुने भन्दै प्रचण्डले ७५ सालमा ५२ सालको नक्कल नगर्न चेतावनी दिए । ‘अहिले पनि साथीहरूले जे गर्न खोजेका छन्। यो ५२ साल होइन। अहिले राजतन्त्र पनि छैन’, प्रचण्डले भने, ’संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार छ। सँगै लडेका साथीहरू सरकारमा छन्। परिस्थिति हेर्नु पर्दैन ?’

सहिद परिवारलाई अभिनन्दन गर्दै प्रचण्डले भने, एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउदा अत्यन्तै खुशी लागेको बताए । उनले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको उनको भनाई छ ।

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहित तथा वेपत्ताको बलिदानीपूर्ण संघर्ष कै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन् । प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्ने र यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको बताए ।

पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उहाँले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन सकिँदैन भन्नुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलाई लक्षित गर्दै भने, ‘निधार खुम्च्याएर सोच्नुपर्छ, निरङ्कुशतामा लान सकिँदैन ।’ उनले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास समृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे । जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्य्दिशा तिर जान सहयोग गर्ने भन्दै केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको बताए ।

उनले विप्लवलाई इंगित गर्दै यस्ता क्रान्तिको आवश्यकता नरहेको ठोकुरा गरे । जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग खडा रहेको भन्दै उनले क्रान्तिका उकाली ओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७