‘जनताको जलविद्युत् कार्यक्रम’ सरल र सहज बनाउन शेयर रेटिङमा छुट


१ चैत्र २०७५, शुक्रबार

काठमाडौं, १ चैत । ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युतको शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ ।

त्यस्तो प्रक्रियाले शेयर बिक्रीलाई समेत थप सरल र सहज बनाउने छ । नेपाल धितोपत्र बोर्डले त्यस्तो निर्णय गरी बिहीबार आमरुपमा जानकारी दिएको छ । सरकारको कार्यक्रमअनुसार कार्यान्वयनमा आउन लागेको ‘जनताको जलविद्युत् कार्यक्रम’ लाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था गरिएको हो ।

कार्यक्रमअन्तर्गत सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिइएको बोर्डले जनाएको छ । ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ को उपनियम ७ बमोजिम त्यस्तो छुट दिने निर्णय गरिएको हो ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा नुवाकोटमा निर्माण शुरु भएको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम शेयर बिक्री गर्ने तयारी गरेको छ । कूल ३७ मेगावाट क्षमताको आयोजनाको केही समय पहिले मात्रै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शिलान्याश गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रकमको पहिलो शेयर आफूले खरीद गर्ने यसअघि नै सार्वजनिक गरेका थिए । नागरिकबाट नै लगानी जुटाएर करीब तीन हजार ५०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यस्ता आयोजनाको स्वपूँजीमध्ये ४९ प्रतिशत रकम शेयरमार्फत उठाउने र अग्रिमरुपमा लिएको शेयर बराबरको रकमको समेत ब्याज दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७