गोर्खा भूपु सैनिकको माग सम्वोधन गराउन कुटनीतिक वहल थाल्न सरकारलाई आग्रह


१ चैत्र २०७५, शुक्रबार
geso1

काठमाडौं, चैत १ । गोर्खा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका माग तत्काल सम्वोध गराउने गरी बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल थाल्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।

geso1
संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक

संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्य दिव्यमणि राजभण्डारीले गोर्खा भूतपूर्व सैनिक संघहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न तत्काल पहल गर्न सरकारसँग माग गरे । उनले बेलायत सरकारले गोर्खा भूतपूर्व सैनिक संघहरुलाई दिने पेन्सनलगायतको सेवा, सुविधामा विभेद गरिरहेको बताउँदै ती समस्या समाधान गर्न परराष्ट्रमन्त्री नेतृत्वकै एक उच्च समिति गठन गर्न पनि माग समेत गरे ।

समितिका अर्का सदस्य भीम रावलले भूतपूर्व गोखा सैनिकहरुलाई बेलायत सरकारले दिने पेन्सनलगायतका सेवा सुविधामा अन्याय र विभेद गरेको भन्दै समस्या समाधान गर्न सरकारले ढिलाइ गरिरहेको गुनासो गरे । उनले गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग तत्काल कुटनीतिक पहल गर्न पनि सरकारको गम्भीर बन्नु पर्ने बताएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सरकार गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग प्रयासरत रहेको जानकारी गराएका थिए । उनले गोर्खा सैनिकहरुलाई समानताको आधारमा पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध गराउन तथा उनीहरुको बलिदानको उचित कदर हुने गरी बेलायत सरकारसँग कुटनीतिक पहल गर्न सरकारले छलफलहरु अगाडि बढाइसकेको जानकारी गराएका थिए ।

मन्त्री ज्ञवालीले सरकारले हालसम्म गोर्खा सैनिकमा भर्ना भएका, बलिदान दिएकाहरुको अभिलेखीकरण गर्ने कामलाई अघि बढाएको पनि समितिलाई जानकारी गराएका छन् । उनले हरेक देशका छुट्टा छुट्टै सूचना प्रणालीहरु भएकाले त्यस काममा केही ढिलाइ भए पनि सरकारले त्यससम्बन्धी अभिलेखीकरण गर्ने र गोर्खा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बैठकमा समितिका सदस्यहरुले अझै पनि गोर्खा सैनिकमा भर्ना भएकाहरुको अभिलेख समेत राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७