तारामणिको ‘तरक्की’

काठमाडौं, २ चैत । काठमाडौं जस्तो सुगम ठाउँको सरकारी जागिर छोड्दै गर्दा इलाम सुलुबुङका तारामणि खतिवडालाई आफन्त र छरछिमेकले ‘अब तारामणि बहुलाउन लाग्यो’ सम्म भन्न भ्याए ।
तर अहिले तिनै आफन्त र छरछिमेक तारामणिको तरक्की देखेर तीनछक्क पर्छन् । गाउँका युवा सरकारी जागिरका लागि तड्पीरहेका बेला २१ वर्षदेखि खाइरहेको खरिदारको जागिर चट्ट त्यागेर इलाम फर्किएका तारामणिलाई अहिले जागिर छाडेकोमा कुनै गुनासो र पश्चाताप छैन ।
२०७४ सालमा सरकारी जागिर माया मारेर आफ्नै जन्मथलो इलामको सुलुबुङ पसेका तारामणिले कृषिबाटै कायापलट गरे । २० वर्ष बढी सरकारी जागिर खाँदा जागिरबाट दुई छाक मिठो मसिनो खाने बाहेक केहि गर्न सकिंदैन भन्ने बुझेका तारामणिलाई कृषि क्षेत्रमा लाग्न जीवन संगिनी पार्वती खतिवडाले ठूलो भर दिइन् ।

सानो स्केलको अग्र्यानिक चिया खेतीबाट शुरु भएको तारामणिको कृषिक्रान्ति अहिले पूर्वाञ्चलको मात्र नभई देशकै नमूना बनेको छ । वातावरण संरक्षण तथा वैकल्पिक उर्जा विकास प्रालि नामक संस्था खोली बिहाइभ ब्रिकेट र त्यसको चुलो निर्माण, बिक्री वितरण, तालिम लगायतका काम गर्दै हाल आएर किवी, कन्ने च्याउ, कुरिलो, जापानिज सुन्तला, कागती, अनार, ग्राउण्ड एप्पल, किवीलगायतका फलफूल तथा सब्जी खेतीबाट अहिले खतिवडा परिवार चम्किएको छ ।
बार्षिक १२–१५ लाखसम्म आम्दानी गर्ने गरेको बताउने तारामणि भन्छन्, ‘आफ्नो प्रगतिमा श्रीमती पार्वतीको सदैब साथ पाएँ । उनले पनि काठमाडौँमा भएको व्यवसाय छोडेर मलाई कृषि कार्यमा सहयोग गरिन्, आज संस्थाको अध्यक्ष उनै छिन मेरो सफलताको आधा हिस्सा उनी हुन् ।’ तारामणिले हालै मात्र आफ्नै पहलमा कृषि मन्त्रालय तथा उद्योग बाणिज्य मन्त्रालयमार्फत ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत किवी फल खेतीको लागि इलामलाई छनोट गराउन सफल भएका छन् ।
हिजो सरकारी जागिर छोड्दै गर्दा तारामणिलाई उडाउनेहरु अहिले उनको प्रगतिको प्रशंसा गर्छन् । अनि उनको कृषि उद्यमबाट सिक्छन् । हिजो बाबु–बाजेले परम्परागत रुपमा मकै, कोदो रोपेको जमिनबाट अहिले तारामणि लाखौंको आम्दानी हात पार्छन् । करिब ५–६ लाख लगानीमा शुरु भएको तारामणिको कृषि व्यवसाय अहिले लगभग ६०–७० लाखको सम्पति बनेको छ ।
पूर्वाञ्चलका सबै जिल्ला तथा संखुवासभालगायतका जिल्लमा कृषि तथा किवी खेती सम्बन्धि ५५० भन्दा बढीलाई तालिम दिइसकेका तारामणि अरुलाई कृषि पेशामा लाग्न प्रेरित मात्रै गर्दैनन् उनीहरुले उत्पादन गरेका बस्तुको बजार प्रबद्र्धनमा समेत सहयोग गर्छन् । बिशेष गरी पूर्वाञ्चलका बजार, सिक्किम–दार्जिलिङमा आफ्ना उत्पादन बिक्ने गरेको तारामणि सुनाउँछन् ।

व्यावसायिक सोंचका साथ माटोको उपयोग गर्न सके सुन फाउन सकिने बताउने तारामणि भन्छन्, ‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन । उसो त तारामणिले उत्पादन गरेको किवी फल खाडी मुलकु दुबई, कतारसम्म विक्रीका लागि पुग्ने गरेको छ ।
उनकै कारण इलामका ६ हजार १ सय परिवार र पूर्वाञ्चलका १६ हजार भन्दा बढी परिवार अहिले किवी खेतीमा लागेका छन् । अहिले तारामणिले करीब ३० जना युवालाई रोजगारी समेत दिइरहेको सुनाए । अहिले पशुपालनका थप नयाँ योजना बनाइरहेको उनले सुनाए । बाबु–बाजेको पुख्र्यौली पेसालाई आधुनिकीकरण गर्न सकेकोमा आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।

तारामणिलाई अहिलेसम्म जिल्ला र क्षेत्रीयस्तरका ४ वटा पुरस्कारबाट पुरस्कृत गरिएको छ । त्यसै गरी २०६६ सालमा उत्कृष्ट घरेलु उद्योगी पुरस्कारद्वारा सम्मानित खतिवडालाई हिमालय क्षेत्रमा गरिवी निवारण र वातावरण संरक्षणको क्षेत्रमा किवीलगायतका अग्र्यानिक खेती र बैकल्पिक उर्जाको क्षेत्रमा महत्वपूर्ण काम गरे बापत इसिमोडले नेपालमै पहिलो पटक ‘ग्रीन च्याम्पियन आवर्ड १०१२’ द्वारा पनि पुरस्कृत गरेको छ ।
सरकारी जागिर छोडेर कृषि कर्ममै लागे पनि कुनै पछुतो नभएको बताउँदै तारामणि भन्छन्, ‘सरकारी जागिर खाँदा आफ्नो अफिस र यसो दुई–चार जनाले चिन्थे, अहिले मलाई पूर्वाञ्चल मात्र होइन, देश–विदेशका धेरैले चिन्छन् ।’