चौतर्फ तहल्का मच्चाउँदै ‘पब्जी’


३ चैत्र २०७५, आईतवार
blackout vs pubg

काठमाडौं, ३ चैत । भन्नका लागि पब्जी अर्थात ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड’ केबल एउटा भिडियो गेम हो । तर यसको लतमा लागेर मानिसहरुले आफ्नो ज्यान नै जोखिममा पार्न थालेपछि भने गम्भीर चिन्ता व्यक्त गरिएको हो । विशेषगरी भारतमा पब्जीले तहल्का मच्चाइरहेको छ र धेरै मानिसहरु अहिले यसै खेलका कारण पक्राउ परिरहेका छन् ।

blackout vs pubg

केही महिना अगाडि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीस्थित एक विद्यार्थी समारोहमा सहभागी हुँदा एक महिलाले उनलाई आफ्नो छोरा अनलाइन गेमको लतमा लागेका बारे चिन्ता व्यक्ति गर्दै गुनासो गरेकी थिइन् जसपछि मोदीले उनलाई ‘के ऊ पब्जी प्लेयर हो ?’ भनि प्रश्न गरेका थिए ।

उनको सो प्रतिक्रियापछि उपस्थित दर्शकहरुमा ठूलो हाँसो गुन्जियो किनकी पब्जीको बारेमा थाहा नहुने अहिले सायदै कोही होलान् । एक भन्दा बढी प्लेयरले खेल्न मिल्ने यो गेम पछिल्लो समय भारतमा विभिन्न कारणवश चर्चामा आइरहेको छ ।

तर अहिले भने यसलाई हास्यास्पद नभएर गम्भीर रुपमा लिन थालिएको छ । भारतका केही सहरमा त यसमाथि प्रतिबन्ध समेत लगाइएको छ । गत हप्ता मात्र राजकोट शहरबाट १६ जनालाई पक्राउ गरिएको हो । खेलले युवाहरुमा आक्रामक व्यवहारलाई बढावा दिइरहेको बताइएको छ । यसैगरी केही समय अगाडि एक १८ वर्षीय किशोरको आत्महत्याको घटनाले पनि पब्जीलाई विवादित तुल्याएको हो ।

उनको स्मार्टफोनले पब्जी सपोर्ट नगरेपछि उनले आत्महत्या गरेको खबर गरिएको थियो । यसरी गेमकै कारण चोरी, दुर्व्यवहार, आफूलाई हानी पुर्याउनेलगायतका घटना बढ्न थालेकाले नै गोवामा पब्जीलाई ‘हरेक घरको दानव’ भन्ने नाम दिइएको छ ।

२०१७ मा आधिकारिक लन्च भएको पब्जी जापानको हरर फिल्म ब्याटल रोयलबाट प्रेरित अनलाइन गेम हो जसमा विद्यार्थीहरुको एउटा समूह सरकारद्वारा नमरुन्जेल सम्म लडाईँ गर्न बाध्य पारिन्छन् । यसमा कुनै हतियार बिना एउटा टापूबाट लडाई सुरु गर्नुपर्ने हुन्छ र विरोधीहरुलाई मार्दै अगाडि बढ्नुपर्दछ र १०० जना खेलाडीहरु एकअर्का विरुद्ध लडिरहेका हुन्छन् ।

पब्जी दक्षिण कोरियाको भिडियो गेम प्रकाशक ब्लुहोलको हो । यसरी निःशुल्क गेम नभएको हुँदा पब्जीले विश्वभरबाट १.३ अर्ब डलर कमाइ गरिसकेको बताइएको छ । भारतमा मात्र हालसम्म पब्जीको मोबाइल भर्जन १० करोड भन्दा अधिक डाउनलोड भएको छ । इ–स्पोर्टस फेडेरेशन अफ इन्डियाका निर्देशक लोकश सुजीका अनुसार स्मार्टफोन र डाटा दुवै सस्तो हुँदै गएकाले नै गेम यति धेरै लोकप्रिय बन्न पुगेको हो ।

तर पब्जीको राइभल गेम फर्नाइट भने एन्ड्रोइडमा काम गर्न नगर्ने भएकाले नै पब्जी जति सफल हुन नसकेको उनी बताउँछन् । यसरी भारत स्मार्टफोनको सबैभन्दा ठूलो बजार भएकाले पनि अनलाइन गेमिङ प्रवृत्ति व्यापक बन्दै गएको बताइएको छ ।

भारतका स्मार्टफोन प्रयोगकर्ता अबको केही समयमै ८० करोड भन्दा बढी पुग्ने अनुमान गरिएको छ । त्यसैले पनि भारत विश्वमै मोबाइल गेमिङका लागि शिर्ष पाँच उत्कृष्ट बजारमा पर्दछ । भारतमा ४० प्रतिशत प्रयोगकर्ताले दैनिक कम्तीमा पनि एक घण्टा मोबाइलमा गेम खेलेरै बिताउने गरेको पाइएको छ ।

यसरी गेम डाउनलोड गर्नेको सङ्ख्या धेरै हुनु भन्दा पनि मान्छेले पब्जीमा बिताउने लामो समय प्रमुख समस्या रहँदै आएको छ । किनकी हालै गरिएको एक सर्वेक्षणपछि भारतका पब्जी प्रेमीहरुले यस गेममा दैनिक आठ घण्टा समय बिताउने गरेको पाइएको हो । बीबीसीसमक्ष स्वीकार गर्दै विद्यार्थी हिमान्सु कुमारले भने, ‘मैले धेरै राउन्ड खेल्नकै लागि आफ्नो क्लास छुटाउने गरेको छु ।’

आफूले खेलेका यस किसिमका गेमहरु मध्ये उनले पब्जीलाई अहिलेसम्मकै सबैभन्दा लत लाग्ने गेमका रुपमा व्याख्या गरेका हुन् । गेमिङ विश्लेषकहरुका अनुसार वास्तवमा यसमा भएको भ्वाइस च्याट फिचरका कारण नै यसले युवाहरुलाई बढी आकर्षण गर्न सकिरहेको छ ।

सो फिचर अन्र्तगत प्लेयरहरुले खेलको समयमा आफ्नो टिमसँग च्याट गर्न पाउँछन् । त्यसैले पब्जी मार्फत अन्र्त्क्रिया पनि गर्न सकिने भएकाले नै यो अरु खेल भन्दा फरक साबित भएको बताइएको छ । र यसमार्फत वास्तवमै नयाँ साथीहरु बनाउन सकिन्छ ।

अर्का पब्जीप्रेमी गुन्जित गान्धीका अनुसार यो गेम अत्यन्तै मोबाइल अनुकूल र सुलभ छ । उनी भन्छन्, ‘मैले अहिलेसम्म यत्तिको वास्तविक ग्राफिक र मोबाइल गेममै च्याट गर्न मिल्ने फिचर भएको कहिल्यै देखेको छैन । यस किसिमका फिचर सामान्यतय कम्प्युटरमा पाइन्छन् र यसका लागि धेरै समय र मिहिनेत लाग्छ ।’

त्यस्तै गेमप्रतिको उत्साहले पनि भारतमा यसको लोकप्रियता बढाइरहेको बताइएको छ । सुजि भन्छन्, ‘पब्जिकै कारण अहिले इ–गेमिङ उद्योग बढ्नमा मद्दत मिलिरहेको छ ।’ तर पनि गत महिना जम्मु कश्मिरका एक जिम ट्रेनर लगातार पब्जी खेलेकै कारण आफूलाई हानि पुर्याउँदा अस्पताल भर्ना भएका थिए जुन यस किसिमको छैठौँ घटना भएको बताइएको छ ।

यस्तोमा पब्जीले प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई जोखिममा पारिरहेकाबारे गम्भीर चिन्ता व्यक्त गरिएको हो । ‘वास्तवमा हाम्रो मस्तिष्कले गेममा जसरी कुनै ठूलो उपलब्धी हासिल गरेको जस्तो महसुस गरिरहे त्यसैमा एडिक्ट हुन थाल्छ’, मानिसक स्वास्थ्य विश्लेषक डाक्टर राजीव शर्मा बताउँछन् ।

यसै अनुभूतिका कारण मानिस लतको शिकार हुने हुनाले नै गेमिङ प्रवृत्तिलाई मानसिक स्वास्थ्यका लागि खतरनाक मानिएको हो । तर लत लाग्ने व्यवहारबारे हामीले पब्जीलाई मात्र पनि जिम्मेवार ठह¥याउन नसकिने उनको भनाइ छ । यसरी गेमिङ लतको शिकार भएकाहरुको दैनिकीमा पनि प्रभाव पर्ने हुनाले यसलाई समस्याजनक मानिएको छ ।

आइटीमा काम गर्ने अर्का एक पब्जी खेलाडी मानिस शर्मा पनि आफ्नो काम सक्किएपछि पनि तीन घण्टासम्म अफिसमै बसेर पब्जी खेल्ने गर्छन् । उनी भन्छन्, ‘म मेरो काम केही छिनमा पूरा गर्न सक्छु तर पब्जी खेल्न मिस गर्न सक्दिन ।’ बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७