भीमेश्वरको शिलामा ‘पसिना’, अनिष्टको ‘संकेत’


प्रकाशित मिति : September 26, 2017

दोलखा: दोलखाको भीमेश्वर मन्दिरमा रहेको मुख्य शिलामा मंगलबार दिउँसो लगातार दुईपटक ‘पसिना’आएको छ । भीमेश्वरको सिलामा पसिना आए राष्ट्रमा अनिष्ट जनविश्वास छ । अनिष्ट हटाउन प्रमुखले क्षमा पूजा गर्ने र सरकारका तर्फबाट समेत पूजाहरु पठाउने चलन छ।

भीमेश्वरको चट्टान (शिला)को विभिन्न भागमा पानीको थोपा निस्कदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।  मंगलबार दिउँसो मन्दिरमा नियमित मध्यान्ह पूजा सकिए लगतै २ः५५ देखि ३ः१७ सम्म र ३ः५१ देखिसाँझ ५ः१५ सम्म दुई पटक पसिना आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मंगलबार दिउँसो नियमित मध्यान्ह पूजा सकिए लगतै भीमेश्वरको सिला एक्कासि कालो र चम्किलो देखिएपछि पूजारी काशिनारायण श्रेष्ठले स्थानिय र गुठियारहरुलाई खबर गरेका थिए। सिलाको दायाँ भागबाट मानिसलाई जसरी पसिना चुहिन थालेको उनले गुठियारहरुलाई देखाए।

मन्दिरको सिलामा २ः५५ बाट शुरु भएको पसिना २२ मिनेट र त्यसको ३४ मिनेट पछि ३ः५१ बाट सुरु भएको पसिना १ घण्टा २४ मिनेट सम्म लगातार बगेको थियो। प्रत्यक्षदर्शीका अनुसार भीमेश्वरको कालो सिला पसिना आउँदा चम्किलो भएर तप तप खसेको थियो।

शुरुमा सिलाको दायाँ पट्टीको माथिल्लो भागबाट पसिना खसेको पुजारी श्रेष्ठले बताए। नेपालमा ठूलाठूला सकारात्मक वा नकारात्मक परिवर्तनहरु, अनष्टका घटनाहरुको पूर्वसूचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरु भेला भएर घण्टी बजाउने, धूप बत्ति गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले हम्कने गर्छन् ।

राजाको शासनकालमा राजाद्वारा क्षमापूजा गरिन्थ्यो । दरबारबाट बोका र पूजा सामग्री पठाएर पूजा गर्ने चलन थियो । पछिल्ला पसिना आउँदा भने राष्ट्रपति कार्यालयबाट उक्त कार्य गरिने चलन छ । भीमेश्वरमा पसिना आउँदा दरबारलाई पिरोल्छ भनिन्थ्यो ।

दोलखा बजारका स्थानीयहरुले विक्रम सम्वत् १९९० सालमा भूकम्प आउनुपूर्व आएको पसिनादेखिको घटना सम्झन्छन् । २००७ सालको राणा शासनको अन्त्य, २०११ सालको राजा त्रिभुवन, २०२८ सालमा राजाको देहान्त तथा दरबार हत्याकाण्ड हुनुपूर्व पनि पसिना आएको स्थानीयहरु बताउँछन् । पछिल्लोपटक २०७० सालमा दुई पटक पसिना आएको थियो । त्यस बेला तत्कालीन राष्ट्रपति रामवरण यादवले क्षमापूजा गरेका थिए ।

पसिना पुछेको अर्थात् मूर्तिको तल ओछ्याइएका कपासलाई ‘भीमेश्वरको पसिना’ले भिजेको प्रसाद मान्दै कपास लिन हारालुछ हुन्छ । कपासलाई शाषक बर्ग, राजपरिवार र भक्तजनहरुले देशविदेशबाट मगाउने चलन छ । उक्त प्रसादलाई पूजा व्यवस्थापन समितिले खाममा हालेर प्रसादको रुपमा पठाउने चलन छ । मन्दिरमा आउनेहरुलाई पनि कपासका टुक्राहरु दिने चलन छ । उक्त प्रसाद बोकेर हिँड्दा वा राख्दा कल्याण हुने विश्वास गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्