समाजसेवामा ‘नेपाल प्रहरी श्रीमती सङ्घ’


३ चैत्र २०७५, आईतवार
Shreemati sang police 1 CC0ySbXBJw

काठमाडौं, ३ चैत । नेपाल प्रहरी २४ सै घण्टा समाजसेवामा व्यस्त हुन्छन् । कतिपयलाई लाग्न सक्ला २४ सै घण्टा समाजसेवामा लाग्ने प्रहरीका श्रीमतीले कसरी दिन बिताउलान् ? तर, प्रहरीका श्रीमतीहरुले पनि सङ्घ स्थापना गरी सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका छन् ।

Shreemati sang police 1 CC0ySbXBJw
फाइल फोटो

‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीका श्रीमतीहरूको ‘नेपाल प्रहरी श्रीमती सङ्घ’ सामाजिक सेवाका लागि अभिप्रेरित भई राष्ट्रसेवा र राष्ट्रमा समयसमयमा आउने विभिन्न प्रकारका दैवी प्रकोपको क्षेत्रमा काम गर्न क्रियाशील छ ।

श्रीमान् प्रहरी महानिरीक्षक भएपछि स्वतः श्रीमती सङ्घको अध्यक्ष बन्ने परम्पराअनुसार स्थापना भएको सङ्घले शिक्षा, स्वास्थ्य, खेलकूद, आर्थिक क्षेत्रको सुधार, विकास र उन्नतिका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

गैरराजनीति र मुनाफारहित संस्थाको रूपमा विसं २०४१ मा स्थापना भएको सङ्घले आफूसँग भएको सीमित स्रोत र साधनले समाजको उन्नति, प्रगति र विकासका लागि काम गरिरहेको छ । सङ्घका अध्यक्ष प्रमिला खनाल सङ्घले स्थापना कालदेखि नै प्रहरी परिवारका महिलालाई मात्र नभएर समग्र महिलाको सीप विकास, आयआर्जन र क्षमता अभिवृद्धिको क्षेत्रमा काम गर्दै आइरहेको बताइन् ।

‘अमर प्रहरी, घाइते, दीर्घरोगी आदिका परिवारलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहीन वृद्धवृद्धालाई राहत सहयोग तथा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आइरहेका छौं’, उनले भनिन् ।
सङ्घले यो वर्ष मात्र नेपाली महिलाको महान् पर्व तीजका अवसरमा पशुपति परिसरमा निःशुल्क खानेपानी वितरण, ६३ औँ प्रहरी दिवसको अवसरमा सहारा असहाय बालगृह धापासीमा राहत वितरण, रसुवाको स्याफ्रुबेँसी र कालिकामा स्वास्थ्य शिविर, यौनहिंसा तथा मानव बेचबिखनसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

काभ्रेपलाञ्चोकको कटुञ्जेमा रहेको रोशी उच्च माध्यमिक विद्यालयमा यौनहिंसा तथा मानव बेचबिखनसम्बन्धी कार्यक्रम, अपाङ्ग दिवसको अवसरमा काठमाडौँको लोलाङमा न्यानो कपडा तथा राहत वितरण, स्पाइनल कर्ड इन्जुरी जोरपाटीमा राहत वितरण, स्कीन आर्टस एथेस्टीक कस्मेटोलोजीसँग स्किन ब्युटिफिकेशनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै, सङ्घले आफ्नो स्थापना दिवस र आफ्नो मातहत रहेका आसरा सुधार केन्द्र, शिशु स्याहार केन्द्रलगायत संस्थाको वार्षिकोत्सव समेत सम्पन्न गरिसकेको अध्यक्ष खनालको भनाइ छ । सङ्घले महिला लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनस्र्थापना कार्यका लागि गत माघ २७ गते ४० महिला राख्न मिल्ने गरी काठमाडौँको तिलगङ्गामा पुनर्स्थापना केन्द्रको स्थापना गरेको छ ।

यही चैत १ गते सङ्घकै पहलमा सुनसरीको धरान उपमहानगरपालिका–६ पारबानीस्थित १०० पुरुष लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनर्स्थापना गर्न मिल्ने गरी आसरा सुधार केन्द्रको शाखा विस्तार गरिएको छ । उक्त शाखाको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका थिए ।

यसअघि सङ्घको पहलमा विसं २०५४ मा आसरा सुधार केन्द्र रानीबारी स्थापना भएको थियो । सो केन्द्रमा अहिले ८५ जना लागुऔषध प्रयोगकर्ताले सेवा लिइरहेका छन् भने हजारौँले सेवा लिएर घर फर्किसकेका छन् ।

सङ्घ सहसचिव अजिता लोहनी पन्त आगामी दिनमा पदाधिकारी तथा सदस्यलाई सङ्घको जिम्मेवारी बाँडफाँड गरी विषयगतरूपमा सबैलाई क्रियाशील गराउने लक्ष्य सङ्घले लिएको बताउँछिन् । सङ्घद्वारा सञ्चालित दिवा शिशु स्याहार केन्द्रको आवश्यकताअनुसार विस्तार गर्दै लैजाने लोहनीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७