सीकेको गोप्य भेलामा सुरक्षा व्यवस्था कडा, कार्यकर्तालाई समेत मोवाइल बाहिरै राख्न लगाइयो


३ चैत्र २०७५, आईतवार
ck rahut

सिरहा, ३ चैत । सिके राउत संयोजक रहेको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु भएको छ ।

ck 3

सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक सिरहाको लहान मरवारी सेवा आश्रममा बसिरहेको छ । मूलधारको राजनीतिमा प्रवेशको तयारीका रुपमा सीके राउतको पछिल्लो राजनीतिक कदमलाई लिइएको भए पनि आजदेखि शुरु भएको गठवन्धनको वैठक भने निकै गोप्य रुपमा अगाडि बढाइएको छ ।

वैठकमा सहभागी हुन आउने कार्यकर्तालाई नागरिकता अनिवार्य गरिएको छ भने, मोवाइल समेत बाहिरै राख्न लगाइएको छ । यस्तै वैठकस्थलमा पत्रकारहरुलाई निषेध गरिएको जनाइएको छ ।
मूलधारमा आएपछि गठबन्धनको आगामी रणनीति कस्तो हुने, पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने, मधेसमा कुन–कुन एजेण्डा उठाउनेलगायतका विषयमा छलफल हुने गठबन्धनका नेता सुदीपराज कुवाहाले जानकारी दिएका छन् ।

स्वतन्त्र मधेसको एजेण्डा छाडेको भन्दै सहमतिपछि गठबन्धनभित्र केही नेताले असन्तुष्टि जनाइरहेका छन् । कतिपय कार्यकर्ताले त धोका भएको भन्दै यो कुरा सिके राउत समक्ष राखिसकेका छन् ।

गठबन्धनले राममनोहर यादवलाई शहीद घोषणा गराउन नसकेकोमा पनि थुप्रै कार्यकर्ताहरुले चित्त दुखाएका छन् । यी सबै विषयमा सिके राउतले दुई दिनसम्म चल्ने बैठकमा चित्त बुझाउने प्रयास गर्ने स्रोतको दावी छ । बैठक वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँसम्म कि परिषद्का सदस्यहरुको मोवाइल समेत बैठकस्थलभित्र निषेध गरिएको छ । उनीहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर मात्र भित्र छिर्न दिइएको छ ।

बैठकमा उपत्यकासहित २३ जिल्लाका कम्तीमा २०० जनाको सहभागिता रहेको जनाइएको छ । बैठक भोलिसम्म चल्नेछ । बैठकपछि राउतलाई लहानमै शक्ति प्रदर्शनसहित नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ । सरकारले गठबन्धनसँग फागुन २२ गते ११ बुँदे सम्झौता गरेको थियो । सो सम्झौतापछि गठबन्धनका संयोजक राउत फागुन २६ गते जनकपुर पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७