लालपूर्जा पाउने खबरले रामपुरमा ल्याएको खुशीयाली


३ चैत्र २०७५, आईतवार
lalpurja 1
सांकेतिक तस्विर

बेझाङ, ३ चैत । तीन दशकअघिदेखि लालपूर्जाको आशै आशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् ।

lalpurja 1

सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा खुशीयाली छाएको हो । जिल्लाकै उपत्यकाका रुपमा रहेका रामपुर नगरपालिकाका स्थानीयवासी जग्गादर्ता समिति गठन आदेश २०७५ सरकारले स्वीकृत गरेपछि रोकिएको लालपूर्जा पाउने खबरले उत्साहित बनेका हुन् ।

हालको रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी मावि र वडा नं ६ स्थित दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले त्यहाँका घर घडेरी बिक्री गरेपछि स्थानीयवासीले विसं २०३५–०३६ देखि नै सो जग्गा भोगचलन गर्दै आइरहेका छन् ।

रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्नेक्रम जारी छ । उद्योग, व्यापार व्यवसाय दिनानुदिन खुल्ने संख्या बढिरहेको अवस्थामा यस क्षेत्रका नागरिक लालपूर्जा नपाउँदा चिन्तित बनेका थिए ।

लालपूर्जाविहीन बनेका रामपुर नगरपालिका– ५, ६ र ७ का ८५६ घरधुरीका स्थानीयवासी लालपूर्जा पाउने सरकारले निर्णय गरेसँगै खुशी व्यक्त गरेका छन् । रामपुर नगरपालिका– ५ बेझाड बजारका डिलमाया सोमैले २५ वर्षअघि रामतुलसी माविको नामबाट वितरण गरिएको जग्गामा लालपूर्जा पाउने आशामा घडेरी लिइन् ।

उनले लामो समय भइसक्दा पनि लालपूर्जा नपाएपछि आशा मारिसकेकी थिइन् । अहिले सरकारले रामपुर नगरपालिकाअन्तर्गतको जग्गा दर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि उनी ढुक्क भएकी हुन् । ‘पटक पटक लालपूर्जा पाइन्छ भन्ने तर नपाउँदा अब पनि के पाइएला र ? भन्ने लागेको थियो, सरकारले यसबारेमा निर्णय गरेको खबर सुन्दा आशा जागेको छ’, उनले भनिन् ।

विद्यालयको नाममा रहेका घर घडेरीलाई व्यक्तिको नाममा उपलब्ध गराउन सरकारमा सहभागी उच्च व्यक्ति, राजनीतिक दलका नेतृत्व गरेका व्यक्तिले लालपूर्जाका लागि आशा देखाएको तीनदशक हुँदासम्म पनि रामपुरवासीले लालपूर्जा पाउन सकिरहेका थिएनन् । तर लामो समयपछि भए पनि लालपूर्जा पाउने कुराले उनीहरु उत्साहित बनेका छन् ।

पार्वती न्यौपाने पनि आफू बसेको घर घडेरीको जग्गा धनी लालपूर्जा नहुँदा चिन्तित भएकी थिइन् । जग्गा धनीपूर्जा नभएकै कारण घर घडेरी किनबेचमा पनि केही समस्या आएको उनले बताइन् । ‘सरकारले जग्गाधनी पूर्जा दिने सम्बन्धमा निर्णय गरेको भन्ने खबर सुनिएको छ, पहिलेभन्दा अहिले केही आशा पलाएको छ’, न्यौपानेले भनिन् ।

रामपुर नगरपालिका–६ विजयपुरका स्थानीयवासी नारायणप्रसाद पाठकले दरैठाटी माविको नामबाट वितरण गरेको जग्गामा बसोबास गर्दै आएका छन् । लालपूर्जा पाउने खबरले उनी पनि हर्षित बछन् ।

विसं २०७१ वैशाख २५ गते रामपुर गाउँविकास समितिबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घरघडेरीको लालपूर्जा नपाउँदा किनबेचमा निकै चुनौती झेल्दै आएका थिए ।

लामो समयसम्म समस्याका रुपमा अल्झिएको अव्यवस्थित घर घडेरीको समस्याले समाधान पाएपछि रामपुरको विकासले गति लिने रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । सरकारले रामपुर नगरपालिकाअन्तर्गतको जग्गा दर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि अहिले यहाँ गाउँ, टोल, बजार, चोकमा एकापसमा बहस हुन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७