चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्दैन : प्रधानमन्त्री

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिम बाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताएका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उनले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा नचल्ने बताए । प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् भने जग्गादाता जनप्रिय मावि, कटहरी गाउँपालिका अध्यक्ष र निर्माण कम्पनीलाई सम्मान गरेका छन् ।
प्रधानमन्त्री ओलीले पृथकतावाद समाप्त भएकाले शान्तिपूर्ण ढङ्गले देश सञ्चालनमा लाग्न सबैलाई आग्रह गरे । लोकतन्त्रको आवरणमा नेत्रविक्रम चन्द समूहले गरेका अराजक गतिविधिमा प्रतिबन्ध लगाइएको प्रष्ट पार्दै उनले कानूनी परिधिभित्र आफ्ना राजनीतिक क्रियाकलाप गर्न र हतियार बुझाउन सरकारले समय दिएको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले कृषिप्रधान मुलुकमा राष्ट्रिय आयमा देखिएको योगदानले कृषिप्रधान देश भन्न सक्ने अवस्था नरहेको बताउँदै कृषि उत्पादन र उत्पादकत्व बढाउन आग्रह गरे । उनले यस किसिमको बजार अन्य जिल्लामा पनि विस्तार गरिने तथा कृषि पेशालाई मर्यादित बनाउन र युवालाई यसमा समाहित गर्नका लागि कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सरकार लागिपरेको जानकारी दिए ।
‘जमीन खण्डीकरणको समस्या समाधान गर्न र उत्पादन बढाउन सरकारले चकलाबन्दी खेती गर्न योजना बनाइरहेको छ, सहकारी माध्यमबाट चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैन’, उनले भने ।
उनले सगरमाथा, गौरीशङ्कर जस्ता थुप्रै हिमालका पानी सो प्रदेशमा आउने भएकाले त्यहाँको उर्वरा जमीनमा उत्पादन बढाउन तथा अलैँची, चिया र सुपारी उत्पादन हुने भएकाले बहुबाली उत्पादमा ध्यान दिनुपर्ने बताए । उनले उत्पादन बढाई वस्तु निर्यात गरेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिए ।
प्रधानमन्त्री ओलीले युवालाई हौसला प्रदान गर्दै पछौटेपनलाई समाप्त गर्नका लागि जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई सचेतनाको अभियान सञ्चालन गर्न आग्रह गरे । विकास र समृद्धिको यात्रामा हिँड्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले जनतालाई अभिभावकत्व दिनुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण शुरु भइसकेको जानकारी दिँदै सो बजारलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले नियमन गर्ने बताएका छन् । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले देशभरिमा ३१ कृषि बजार र केही शीतगृह बनाउने सरकारको योजना रहेको जानकारी दिइन् ।
कृषि सचिव डा युवकध्वज जोशीले उत्पादक र उपभोक्ताबीचमै बिचौलियाले खेल्ने खेल सो बजारले समाप्त गर्ने विश्वास व्यक्त गरे । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले तीन नदीले घेरिएको कटहरी गाउँपालिकामा बाढीको समस्या रहेको अवगत गराए ।
स्थानीय जनप्रिय मावि कटहरीले चार बिघा र कटहरी गाविसले १८ कठ्ठा दुई धुर उपलब्ध गराएको सो जग्गामा निर्माण भएको अत्याधुनिक कृषि थोक बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल १० हजार मेट्रिकटन अट्ने क्षमता छ ।
नेपाल सरकार र विश्व बैँकको अनुदानमा रु १५ करोड ४८ लाख ४९ हजार लागतमा भूमि कन्सट्रक्सन प्रालिले बजार निर्माण गरेको हो । बजारले सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने अपेक्षा गरिएको छ । बजारमा थोक बिक्रेताका लागि ४० र खुद्रा बिक्रेताका लागि ३५ कक्ष बनाइएको छ । बजारभित्र एक प्रशासनिक भवन र बैंक पनि रहने छ ।