अमेरिका उड्न अघि प्रचण्डले भने, ‘अस्थिरता पैदा गर्ने तत्वविरुद्ध सबै एकजुट होऔँ’

काठमाडौँ, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिन पर्नेमा जोड दिएका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैै प्रचण्डले अबको बाटो समृद्धिको बाटो भएको बताए । भने, ‘सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायौँ, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।’

गएको वर्ष सरकार र पार्टीले पूर्वाधार बनाएको उल्लेख गर्दै उहाँले आगामी वर्षको बजेटमार्फत विकास निर्माणले गति लिन्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए । मुलुक नयाँ युगतिर अगाडि बढेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हिजोका परिवर्तन सामान्य राजनीतिक परिवर्तन हुने गर्थे, यो परिवर्तन एउटा प्रणाली नै परिवर्तन हो । प्रणाली परिवर्तन भएकाले थुप्रै संरचना बनाउनुपर्ने थुप्रै कानून, ऐन बनाउनुपर्ने र अभ्यास गर्नुपर्ने भएकाले हामीले अपेक्षा गरे अनुसारको गतिमा विकास भएन भन्ने जनगुनासो पनि सुनेका छौँ ।’
पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन पनि ढिलो भइरहेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘यो विषय टुङ्ग्याउनेबारे र अन्य राजनीतिक विषयमा पनि घनिभूत छलफलको आवश्यकता छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमा सल्लाह गरेर नै आफू त्यसतर्फ जान लागेको उल्लेख गर्दै उनले बढीमा सातदेखि दश दिनभित्र स्वदेश फर्कने उहाँले जानकारी दिए ।
मुख्यतः आफू सीताको स्वास्थ्य उपचारका लागि गए पनि त्यहाँ रहँदा राजनीतिक भेटघाटको सम्भावना बारे भने, ‘परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक छलफल हुने सम्भावना बढेको छ ।’
पत्नी सीताको उपचारका लागि परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावास एवम् अमेरिकास्थित नेपाली दूतावासले सहजीकरण गरेको पनि उनले जानकारी दिए । अमेरिकामा बस्ने नेपालीले सीताको स्वास्थ्यमा देखिएको समस्या समाधानका लागि वासिङटन बाल्टिमोरलगायत स्थानमा नयाँ अनुसन्धान भइरहेको जानकारी गराएका थिए ।
लामाे समयदेखि स्वास्थ्य समस्या झेलिरहेकी सीताले एक पटक अमेरिकामा उपचार गरे सञ्चो हुन्छ कि भनी मनोविज्ञान रहेका कारण पनि आफूले त्यसतर्फ जाने निर्णय गरेको उनको भनाइ थियो ।
‘म स्वास्थ्य उपचारका लागि अमेरिका जान लागेको हुँ। यसअघि सिंगापुर पनि गयौ। त्यसले केही हदसम्म सहयोग पनि गर्यो। तर, अमेरिकामा बस्ने साथीहरूको सल्लाह अनुसार सीताको रोगबारे त्यहाँ सबैभन्दा पछिल्लो अनुसन्धान भइरहेको छ भन्ने आयो। त्यहाँ एउटा रिसर्च सेन्टर पनि रहेछ त्यसैले जान लागेका हौ,’ उनले भने, ‘त्यहाँ यो बिरामी सम्बन्धी अन्तिम उपचारको राम्रो व्यवस्था छ भनेपछि मेरो म्याडमले अमेरिका लगिदिए अलिक राम्रो हुन्थ्यो कि भन्ने एक महिना अघिदेखि जिकिरले पनि मनोवैज्ञानिक रूपमा अमेरिका जानुपर्ने र उपचारको कोशिश गर्नुपर्ने भन्ने भयो।’
विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपाका नेता तथा कार्यकर्ता अध्यक्ष दाहालको बिदाइका लागि पुगे।