यी ठूला नेता जो आफैँलाई भोट हाल्न पाउँदैनन्


२० मंसिर २०७४, बुधबार
kp oli madhav nepal

काठमाडौं : भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केही शीर्ष नेताले आफूलाई मत दिन पाउनेछैनन्।   आजको नयाँ पत्रिकामा रमेश सापकोटाले लेखेका छन्।

kp oli madhav nepal
केपी ओली र माधव नेपाल
एमाले अध्यक्ष केपी ओलीले आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा ५ का उम्मेदवार हुन् । तर, ओलीको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिका–२ मा छ । एमाले नेता माधव नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन् । तर, उनको मतदाता नामावली रौतहटमा छ । उनले गौर नगरपालिकाको रामजानकी केन्द्रबाट मतदान गर्दै आएका छन् ।

महरा, कार्की र सुवेदी

mahara
माओवादी नेता कृष्णबहादुर महरा, सुरेन्द्र कार्की र झक्कुप्रसाद सुवेदीले आफूलाई मत हाल्न पाउने छैनन् । महरा दाङ २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनले यसअघि रोल्पाको लिवाङ नगरपालिका–१, तारा मावि केन्द्रबाट मत हाल्दै आएका थिए । यस्तै, कार्की झापा १ बाट उम्मेदवार छन् । उनी काठमाडौंका मतदाता हुन् । रोल्पामा मतदाता सूचीमा नाम रहेका सुवेदी काठमाडौं ६ बाट उम्मेदवार छन् ।

ठाकुर र महतोले आफैँलाई मत हाल्न पाउँदैनन्

mahato
राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफूलाई भोट दिन पाउने छैनन् । ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । उनको मतदाता सूची सर्लाहीको बलरा नगरपालिकामा छ । राजपाका अर्का नेता महतोको मतदाता सूची सर्लाही चन्द्रनगर नगरपालिका–२ मा छ । उनी धनुषा ३ मा उम्मेदवार बनेका छन् ।

आरजुदेखि मीनेन्द्र्रसम्म वञ्चित

f
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा कैलाली ५ बाट उम्मेदवार बनेकी छिन् । उनको मतदाता नामावली डडेल्धुरामा छ । कैलाली कांग्रेस सभापति नरनारायण शाहका अनुसार बुथमा घुम्नुपर्ने भएकाले देउवा मत हाल्न डडेल्धुरा जाने छैनन् । भक्तपुर २ का कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले स्थानीय निर्वाचनमा काठमाडौं २ बाट मत हालेका थिए । मोरङ–२ का कांग्रेस उम्मेदवार डा. मीनेन्द्र रिजालले पनि आफैँलाई भोट दिन पाउनेछैनन् । उनी विराटनगर महानगरपालिका–१ अर्थात् निर्वाचन ४ का मतदाता हुन् । मोरङ–५ का कांग्रेस उम्मेदवार अमृत अर्यालको मतदाता सूची क्षेत्र नम्बर ४ मा भएकाले उनले आफैँलाई मत दिन पाउने छैनन् ।

उपेन्द्रले पनि पाउँदैनन्

uprendra
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैँलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी २ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङ विराटनगर महानगरपालिका–१४ जतुवामा छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७