हामी कस्तो पुस्ता तयार गर्दैछौं ?

खिम पन्थी
आजकाल धेरै अभिभावकको गुनासो हुन्छ मेरो छोराछोरी पढ्नमा भन्दा अरु नै कुरामा ध्यान बढी दिन्छन् । हातमा मोबाइल, ल्यापटप या कम्पुटर भयो भने बोलाएको समयमा खाना खानसम्म पनि आउँदैनन्, पढ्ने कुरा त परै जाओस् ! अहिलेका किशोरकिशोरी प्रविधिसँग मस्त छन्, साथीसँगीसँग ब्यस्त छन् । यसरी पाठ्यपुस्तक र अरु पारिवारिक सामाजिक सम्बन्धबाट टाढा छन् । यो अहिलेको आम सरोकार र चिन्ताको बिषय हो ।

प्रविधिमैत्री बन्नु, नयाँ कुराहरुप्रति चाख बढ्नु, सूचनामा अभ्यस्त हुनु र प्रविधिको प्रयोगबाट आफ्नो ज्ञानको दायरालाई फराकिलो पार्न सक्दाका फाइदालाई नजरअन्दाज गर्न त सकिँदैन तर मनलाग्दी ढंगबाट गरिएको प्रयोगसँगै आउने विकृति र समय खेर गएकोबारेमा ध्यान दिनु पनि आवश्यक छ ।
आम शिक्षकहरु खासगरी उच्च माध्यमिक बिद्यालयमा पढाउनेहरुको गुनासो आफ्नै ठाउँमा छ । बिद्यार्थीहरु आफ्नोतर्फबाट अत्यन्त कम मेहेनत गर्छन् । घरमा अध्ययनमा समय दिंदैनन् । दिएको काम जेनतेन लेखेर ल्याउँछन् त्यसबाहेक उनीहरु पढाइमा गम्भीर छैनन् । कारण उनीहरु विद्यालयदेखि नै शिक्षकप्रति अत्यन्त निर्भर छन् । उनीहरु एक प्रकारका रोबोट जस्ता भएका छन् ! उनीहरुको सिर्जनात्मकता मर्दै गइरहेको छ ।

विश्वबिद्यालयमा जब ती बिद्यार्थी प्रवेश गर्छन् । तिनलाई आकासमा उडिरहेको चरा जस्तो अनुभूति हुन्छ । पढाइ प्राथमिकतामा अत्यन्त कम पर्छ । गृहकार्य र नियमित परीक्षासम्म दिनु नपर्ने हुँदा अधिकांश सरकारी क्याम्पसमा पढ्नेहरुको लागि पढाइ एक औपचारिकतामा सीमित हुन पुग्छ । जसको प्रमुख ध्येय परीक्षा पास गर्नुमा सीमित हुन्छ ।

यस्तो चक्रबाट ‘ग्राजुएट’ हुने बिद्यार्थीको करियर के हुने होला ? श्रम बजारमा उसको व्यावसायिकता कस्तो हुने होला ? भोलि उसलाई आइलाग्ने व्यावसायिक या ब्यापारिक या सरकारी र गैरसरकारी जिम्मेवारी बहन कसरी गर्ला ? सामान्यतः हामी अहिलेको हाम्रो सामाजिक परिवेशमा आधारित शिक्षा पद्धतिबाट औसत भन्दा तलको शिक्षित जनशक्तिको निर्माण गरिरहेका छौं । जसले हामीलाई उही स्तरको परिणाम दिइराखेको छ । राजनीति, ब्युरोक्रेसी, एकाडेमी या अन्य क्षेत्रतिर भोलि यही अवस्थाबाट उत्पादन हुने जनशक्तिले निकाल्ने आउटपुट मा पनि तात्विक अन्तर देखिने छैन ।

अब यो अवस्थाको अन्त्य कसरी गर्ने ? बच्चालाई आफ्नो रुचिको बिषयमा सानैदेखि कसरी लाग्न प्रेरित गर्ने ? उसमा निहीत क्षमतालाई कसरी विकास गर्न दिने ? घरायसी बाताबरण कस्तो बनाइदिने ? कस्तो सामाजिक सम्बन्धमा उसलाइ हुर्कन दिने ? अध्ययन बोझपूर्ण काम होइन, यो बाल बिकाससँगै आवश्यक एक मनोरञ्जनसहित को सिकाइको भान कसरी पार्ने ? कसरी बच्चालाई सानैदेखि अध्ययनमा रुचि राख्ने बनाउने ? अभिभावक, बिद्यालयको भूमिका के रहने ? सिकाइ र शिक्षण विधिमा कस्तो खालको परिमार्जन गर्ने ? परीक्षा र पाठ्यसामग्रीमा कस्तो परिवर्तन गर्ने ? र, हामीलाई आवश्यक दक्ष, नैतिकवान, प्रोफेसनल (नियर्ली प्रफेक्ट), समाजप्रति उत्तरदायी पुस्ता निर्माण गर्ने भन्ने बहस शुरु गर्नु आवश्यक छ ।

बालबालिकाको समग्र सिकाइमा तीन कुरा मुख्य छन् । यी तीनमा परिवार, समाज र बिद्यालय (अन्तर्घुलित र अनोन्याश्रित) खम्बाहरु ह्। कस्तो बातावरण छ, उत्प्रेरणा छ कि छैन ? आवश्यक सामग्रीको जोहो हुन सक्छ कि सक्दैन, त्यो परिवारिक परिस्थितिले निर्धारण गर्दछ जसको सिधा प्रभाब मनोबिज्ञान र सिकाइ मात्र नभई ब्यक्तित्वको विकासमा समेत पर्दछ । परिवारको आर्थिक र शैक्षिक परिवेश महत्वपूर्ण फ्याक्टर रहन्छन् यसर्थमा । मनोबैज्ञानिक हिसाबले पारिवारिक मेल र बेमेल, खुशी, परिवारको बनोट आर्थिक अवस्थाको सिधा प्रभाब सिकाइमा पर्दछ ।

त्यसैगरी सामजिक परिस्थिति, सरसङ्गत, समाजको चेतना, प्राथमिकता, अतिरिक्त क्रियाकलापमा सहभागिता, सामाजिक उत्प्रेरणा, हौसला र समाजको मनोबिज्ञान पनि बालबालिकाको मनोविज्ञानसँग एकाकर हुन पुग्दछ । परिणाम सकारात्मक बातावरण सकारात्मक प्रतिफल । नभए उल्टो !

कुरा रह्यो शैक्षिक बातावरण । स्कुल, पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन प्रणाली । मूल रुपमा रास्ट्रको शिक्षा नीति, सरकारले तोकिदिएको ढाँचामा आधारित पाठ्यसामग्रीमा तोकिएको ढाँचाको मूल्यांकन पद्दतिमा नेपालका विद्यालयहरु सन्चालित छन् । उस्तै किसिमको पाठ्यसामग्री, उस्तै मूल्यांकन पद्धति । तर दुई खालको शिक्षा निजी र सार्वजनिक, फरक शिक्षण भाषा र अतिरिक्त पाठ्यक्रममा । यसरी एउटै नीतिभित्र सन्चालित दुई भिन्नाभिन्नै स्कुलिङमा आधारित उत्पादन हाम्रो बजारमा निस्कन्छ । शिक्षणको गुणस्तर, शिक्षकको क्षमता, स्रोत र साधनको उपलब्धताभित्र कैयांै असमानताहरु छन् । त्यहाँ विभेद छ, अवसर छन् र चुनौतीहरु छन् । यस बिषयमा छुट्टै बहस जरुरी छ । यो आलेखमा सामान्य समस्याहरू र ती माथिका सम्भावित समाधानहरु माथि चर्चा गरिनेछ ।

सामाजिक, पारिवारिक र आर्थिक अवस्थालाई अचल राखेर शैक्षिक परिवेशको मात्र अध्ययन गर्ने हो भने हाम्रो शिक्षा प्रणाली सही छ ? हाम्रा बिद्यालयहरु काबिल जनशक्ति निर्माणमा दक्ष छन् ? हाम्रो पाठ्यक्रम जीवनोपयोगी सिपमूलक शिक्षाको लागि सबल छ ? कहीँ न कहीँ हामी चुकिरहेका छौं । समस्या सबैतिर छन् । हामी प्रत्येक बालबालिकालाई उस्तै पाठ्यक्रम पढाइराखेका छौं । उनीहरुको रुचीको त्यहाँ कुनै स्थान छैन । यसर्थमा हामी प्रतिभाको प्रस्फुटन होइन, प्रतिभालाई थिचिराखेका छौं । हाम्रा पाठ्यपुस्तक रुचि र क्षमता मैत्री छैनन् । कम्तीमा रुचि अनुसार को पाठ्यक्रम आधारभूत तहबाट लागू गर्न आवश्यक छ । कुनै चित्रकलामा रुचि भएको बिद्यार्थी बिज्ञान बिषयमा फेल भएर कुण्ठित पारिनु हुँदैन । उसलाई बिज्ञान पढ्न मन नलाग्दा उसको रुचिको चित्रकला पढ्ने अबसर दिनुपर्छ जुन हाम्रो पाठ्यक्रमको आधारभूत समस्या हो । पढाउने तरिकामा पनि समस्या छ । शिक्षक रटाउने रोबोट जस्ता छन् ।

बालबालिकालाई एउटा बिधिले ४० मिनेटको पट्यालाग्दो तरिकाको पढाइ रुचिकर लाग्दैन । उनीहरुलाई Spoon Feeding को सट्टा पहिले पहिले Appetizer खुवाइदिने र बाँकी आफै खाना खानसक्ने बनाउने खालको शिक्षण विधि अपनाउनुपर्छ । हामी ‘हावा’को बारे पढाउँदा त्यो ‘हावा’ तिमी अनुभूत गर्छौ भन्ने प्रश्नसम्म नसोधी हावाको परिभाषा पढाउने खालको शिक्षण पद्धतिमा अभ्यस्त छौं । यसमा परिवर्तन आवश्यक छ ।

मूल्यांकन पद्धति घोक्न प्रेरित गर्ने खालको छ । आइन्स्टाइनको जीवनीबारे सप्रसङ्ग लेख भन्ने टाइपको प्रश्नको साटो त्यो जीवनीबाट तिमीले के पाठ सिक्यौ भन्ने प्रश्न राख्ने पद्धति हुनुपर्छ । प्रश्न यस्तो बनोस् ताकि बिद्यार्थी आफ्नो नोट या किताब बोकेरै परीक्षा हलमा जान पाओस् । जसले सम्बन्धित बिषयको अध्ययनपछिको उसको सिकाइ र बढेको ज्ञानको मापन गर्न सकोस् । किताबमै लेखेको कुराको परीक्षाले उसको सिकाइ होइन घोकाइको मूल्यांकन गर्दछ ।

अब कुरा रह्यो सिपमूलक, काम लाग्ने, ब्यवहारिक या अरु नै शिक्षाको सन्दर्भ । तीन वटा मापदण्ड जस्तै ब्यक्तिगत रुचि, रास्ट्रको आवश्यकता र अन्तर्राष्ट्रिय पद्दति र ट्रेन्डलाई ख्याल गर्दै नीति बन्दा त्यो ब्यवहारिक हुन्छ । हामी सैद्धान्तिक भन्दा ब्यवहारिक नीतिको खोजीमा लाग्दा हुन्छ ।
र, अन्त्यमा घर जाँदा बालबालिका गृहकार्यको गह्रुङ्गो भारी भन्दा उसको ब्यक्तिगत रुचि अनुसारको कुनै असाइन्मेन्ट गर्न पाए उसलाई कसैले पढ भन्नू नपर्ला । उसको काम यस्तो होस् खाना खाने बेला समेत त्यही बिषयमा सोचिरहोस् । ऊ खेल्ने बेला आफ्नो सिकाइको बारे कुरा गर्न रुचि राखोस्, ऊ घर भन्दा बिद्यालयमा हुँदा रमाओस् । मोबाइल खोलेर गेम खेल्नुभन्दा प्रोजेक्ट या असाइन्मेन्ट मा भुलोस् । ऊ खाली समय संस्कृति र सभ्यताको बारे किताब पढोस् । उसलाई बिदाको दिन संग्रहालय घुम्न मन लागोस् । मानवीय बिश्वास र नैतिक आचरणमा पारंगत होस् । त्यो बिद्यालय, घर, पाठ्यक्रम र समाजले देखाउने बाटोमा हिंड्ने हो । कस्तो बाटो बनाउने भन्ने कुरामा तपाईं हाम्रो भूमिका छ । त्यो काँचो माटो गमला बनाउने या हाँडी तपाईं हाम्रै हातको कुरा हो ।
( पन्थी, त्रिभुवन बिश्वबिद्यालय, केमेस्ट्रीका सहायक प्राध्यापक हुन् )

प्रतिक्रिया दिनुहोस्