सांसद अभिकारीले भने, ‘युद्ध दोहोरिने संकेत देखिइसक्यो, सरकार ठट्टा गर्दै बस्ने ?’


४ चैत्र २०७५, सोमबार
samsad 1

काठमाडौं, ४ चैत । राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले विप्लव माओवादीलाई सामान्य नआँक्न सरकारलाई सुझाव दिएका छन् ।

samsad 1

उनले विप्लवका पछिल्ला गतिविधिले मुलुकमा युद्धको डरलाग्दो स्थिति दोहोरिन लागेको संकेत देखाइरहेको बताउँदै भने, ‘सरकार भने ख्याल ठ्ट्टा गरेर बसिरहेको हो ?’

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कारण शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठे पनि सरकारले भने गम्भीरतापूर्वक नलिई समस्या बल्झाउन लागिरहेको आरोप लगाए ।

विप्लवले हतियारको राजनीति र चन्दा आतंक शुरु गरिसकेको भन्दै अधिकारीले सरकारले लुटेरा समूह भनेर कानुनी ढङ्गले मात्र समाधान खोज्नु गलत हुने बताए । ‘दर्ता हुनु र नहुनु राज्यको आँखामा एउटा कुरा हो, तर एनसीपीलाई लुटेराको दस्ता मात्रै भनेर सुख पाइएला त ? त्यसलाई भोलि राजनीति डिल गर्नुपर्ला कि नपर्ला ?’ उनले प्रश्न गरे ।

विप्लवको पार्टीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीले पनि समस्या चर्काउन खोजेको आरोप लगाए । ‘प्रधानमन्त्रीले लोकतन्त्रको नाममा आँशु बगाउनेहरु किन विप्लवपट्टि लागेका भनिरहनुभएको छ । यसरी जिस्किने विषय हो ?’ उनले प्रश्न गरे । अधिकारीले प्रतिपक्षलाई विश्वासमा अब कसरी अगाडि बढ्ने भनेर गम्भीर विमर्श गर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले विप्लवका गतिविधिलाई नियन्त्रण गर्न कानून प्रयोगमा कसैले रोक नलगाएको भन्दै उनले राजनीतिक ढंगले पनि समाधानको बाटो खोज्न आग्रह गरे । २०५२ सालमा सुरु भएर १० वर्ष चलेको युद्धको संक्रमणकालीन न्यायको चक्र अझै नसकिएका बेला फेरि नेपथ्यबाट युद्धको स्वर सुनिनु दुखद भएको सांसद अधिकारीले बताएका छन् ।

विप्लव आफै १२ बुँदे सहमतिको हिस्सा भएको र पहिलो संविधानसभा निर्वाचनमा सहभागी भएकाले अहिले फेरि हतियार र चन्दा आतंकमा लाग्नु उचित नहुने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७