अख्तियारका असई अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ४ चैत । दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) जन्म अधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा गरेको छ ।
मुद्दा तामेलीमा राखीदिने भनी सेवाग्राहीसँग घुस रकम मागेको सार्वजनिक भएपछि उनीविरुद्ध सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको अडियो रेकर्ड फेला परेपछि उनी पक्राउ परेका थिए ।
चन्दननाथ उच्च मावि शिक्षकविरुद्ध आयोगमा उजुरी परेको थियो । त्यसलाई तामेलीमा राख्न भनी उनले १४ हजार रुपैयाँ घूस रकम बुझेको आयोगको अनुसन्धानबाट खुलेको थियो ।
उनलाई आयोग केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले माघ १३ गते पक्राउ गरेको थियो । हिरासतमा राखी उनीविरुद्ध अनुसन्धान भएको थियो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराधमा १४ हजार ८ सय, तथा सोही ऐनको दफा १५ बमोजिम समेत माग दाबी गरिएको छ ।
नेपाल प्रहरीका असई उनले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बरिष्ठ प्रहरी निरीक्षक हुँ भनेर घूस असुल्ने काम गरेको अनुसन्धानबाट खुलेको थियो । अधिकारी लामो समयदेखि अख्तियारमा कार्यरत थिए । उनी देश विदेशमा भएका भ्रष्टाचारविरुद्धका तालिममा समेत सहभागी भएका व्यक्ति हुन् ।