पाकिस्तानकी ‘बुहारी’ ले पाइन् नेपाली नागरिकता, बनिन् आम्ना सफिक आचार्य

काठमाडौं, ४ चैत । नागरिकता विधेयकबारे संसदमा समेत चर्को बहस चलिरहेका बेला एक पाकिस्तानी ‘बुहारी’ बिहेको एक महिनामै नेपाली नागरिकता पाएकी छन् ।

बाग्लुङका सुधिन आचार्यसँग फेसबुक चिनजान हुँदै बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता पाएकी छन् । नागरिकतामा उनको नाम आम्ना सफिक आचार्य कायम भएको जिप्रका बागलुङले जनाएको छ ।
सफिकले गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिएका छन् । आइतबार प्रजिअ खरेल आफैंले आम्नालाई नागरिकता हस्तान्तरण गरेका थिए ।

‘नेपाली नागरिकसँग अदालती बिहे गरेको र पाकिस्तानी नागरिकता त्यागेको प्रमाण पेश गरेका आधारमा उहाँलाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको हो,’ प्रजिअ खरेलले सुनाए ।
नेपालकी बुहारी आम्नाले अब नेपालमा स्थायी बसोबास गर्न सक्नेछिन् भने पाकिस्तान माइत जान त्यहाँको भिसा लिनुपर्ने छ । सुधिन र आम्नाले गत फागुन १२ गते जिल्ला अदालत बाग्लुङमा कानूनी बिहे गरेका थिए । बिहेमा सुधिनका बुबा टीकाराम र आमा डिलमाया अदालतमा उपस्थित भएका थिए ।
आम्नाका तर्फबाट कोही पनि अभिभावक थिएनन् । उनले आफ्नो पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बाग्लुङ नगरपालिका १२ को अमलाचौरमा अस्थायी बसोबास गरेको सिफारिस पेश गरेकी थिइन् ।
उनले फोनबाटै आफ्ना बाबुआमासँग सहमति मागेकी थिइन् । मुलुकी देवानी संहिता ०७४ को दवाफ ७७ बमोजिम दर्ता बिबाह गर्न केटा र केटी मञ्जुर भए न्यायाधीशले गराई दिन सक्ने व्यवस्था छ ।