‘जनमत पार्टी’ को अध्यक्ष बन्दै सीकेले गरे यस्ता १० निर्णय (निर्णय र सदस्यको नामावलीसहित)


४ चैत्र २०७५, सोमबार
ck raut meeting

जनकपुर, ४ चैत । सीके राउत आफ्नो पूरानो स्वतन्त्र मधेस गठबन्धनको नाम फेर्दै ‘जनमत पार्टी’ गठन गरेका छन् ।

ck raut meeting

सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहने गरी नयाँ पार्टी खोलेको हो । पार्टीको चुनाव चिन्ह अष्टदल राख्ने निर्णय पनि बैठकले गरेको छ । २५ केन्द्रीय सदस्य रहने निर्णय पनि भएको केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्तिमार्फत् जनाएका छन् ।

राउतले केही दिनअघि सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा आउने घोषणा गरेका थिए । उक्त घोषणापश्चात तराई मधेस झरेका राउतले मूलधारको राजनीति गर्न भन्दै नयाँ दल गठन गरेका हुन् ।
को–को भए सदस्य ?
३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा डा. सिके राउत राष्ट्रिय अध्यक्ष तथा केन्द्रीय सदस्यहरूमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रूपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन् । बाँकी १० जना सदस्यहरू मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यकसहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ ।

यस्ता छन् निर्णय
१) स्वतन्त्र मधेश गठबन्धनले ‘मधेश स्वराज आन्दोलन’ मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम जनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५–११–२४ गते भएको ११ (बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ ।

२) केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको छ ।

३) पार्टीको नाम “जनमत पार्टी” राख्ने निर्णय गरेको छ ।

४) पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ ।

५) पार्टीको लोगोको रूपमा अष्टदलको छेऊमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ । पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ ।

६) पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।

७) केन्द्रीय भेलाले पार्टीको लागि ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ । निर्वाचन आयोगमा दल दर्ता भएसँगै केन्द्रीय कार्यकारिणी समितिलाई विस्तार गरिने छ । केन्द्रीय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ ।

८) स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५–११–२४ गते भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरूमाथि लगाइएका मुद्दाहरू अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ ।

त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिइएको छ ।

९) “जनमत पार्टी” को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रूपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको छ ।

१०) “जनमत पार्टी” सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ संगठनलाई सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ ।

ni
ni1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७