भोजपुरी भाषा कामकाजी बनाउन एमाले मेयरको निर्देशन


१० आश्विन २०७४, मंगलवार
krishna poudel Bara

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर डा. कृष्ण पौडेलले भोजपुरी भाषालाई कार्यालयको कामकाजी भाषा बनाउन निर्देशन दिएका छन्। स्थानीय तह निर्वाचनबाट उपमहानगरमा निर्वाचित जनप्रतिनिधिका लागि मंगलवार आयोजित सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पौडेलले भोजपुरी भाषालाई कामकाजको भाषा बनाउन निर्देशन दिए।

krishna poudel Bara

उपमहागरभित्र भोजपुरी भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्ने समुदायको बसोबास धेरै रहेको र उपमहानगरलाई सबैको साझा बनाउनका लागि भोजपुरी भाषालाई कामकाज बनाउनुपर्ने उनको भनाई थियो। पौडेलले सम्बोधनका क्रममा उपमहानगरलाई समृद्ध महानगरको आधार खडा गर्ने अभियान सुरु भएको बताए।

दक्षिण एशियाकै प्रमुख केन्द्रको रुपमा स्थापित हुने सम्भावना बोकेको उपमहानगरलाई अब मेगा सिटी बनाउने र समृद्ध महानगरको आधार खडा आफ्नै नेतृत्वको पालामा गर्ने उनको दावी थियो। पौडेलले समृद्धिको अभियान अन्तर्गत ६ महिनासम्म विज्ञ टोली झिकाएर काम सुरु गर्ने बताए।

‘अबको ६ महिनासम्म विज्ञ टोली झिकाएर गुरु योजना बनाउनेछौ। त्यसपछि उपमहानगरलाई कसरी छिटो भन्दा छिटो व्यवस्थित तरिकाले विकास गर्न सकिन्छ भन्ने अभियान अघि बढ्छ’ पौडेलले भने ‘जनताले आफ्नो उपमहानगर भन्ने गरी काम गर्नेछौ, कसैले निराश हुनुपर्ने दिन आउनेछैन्। यो अभियानमा निर्वाचित सबै प्रतिनिधि साथमा रहनुहुनेछ।’

उपमहानगरका नागरिकको भावना र चाहनाअनुसार काम गर्नका लागि सबै निर्वाचित प्रतिनिधिले आफ्नो तर्फबाट ईमान्दारीपूर्वक काम गर्नेमा ढुक्क हुन आग्रह गर्दै पौडेलले सबै नागरिकले आफ्नो सरकार हो भन्ने गरी काम गर्न कर्मचारी र जनप्रतिनिधिलाई निर्देशन दिए। चुनावी अभियानका क्रममा जनताको घरदैलोमा पुगेर गरेको वाचा पुरा गर्नका लागि आफू प्रतिबद्ध रहेको पौडेलको भनाई थियो।

सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर डा. पौडेलले कर्मचारीलाई पारदर्शी र ईमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन्। निर्वाचित प्रतिनिधि र उपमहानगरका कर्मचारी जनताका लागि नै काम गरिरहेका छन् भन्ने अनुभूति दिलाउने गरी सेवा प्रवाह गर्न निर्देशन दिए। ‘हामी जनताका लागि काम गरिरहेका छौ भन्ने अनुभुति जनताले गर्न सकुन, त्यसका लागि हामीले ईमान्दारीपूर्वक काम गर्नुपर्छ’ पौडेलले भने ‘अब नया ढंगबाट जनतालाई सेवा दिन सबै प्रतिवद्ध हुनुपर्छ, हामीले जनताको मन जित्नुपर्छ।’

पौडेलले सामाजिक सुरक्षा भत्ता जनताको घरमा पुर्‍याउने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन्। उपमहानगरभित्रका पूर्वाधार निकै कमजोर रहेको भन्दै पौडेलले तत्काल वडा कार्यालय स्थापना गरेर जनतालाई सेवा प्रवाह गर्नका निम्ति काम सुरु गर्ने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७