लालीगुराँससँग तस्वीर खिच्न काहुँडाँडा


५ चैत्र २०७५, मंगलवार
selfi

चिप्लेढुङ्गा, ५ चैत । ‘म त लालीगुराँस भएँछु, वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु ।’
पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडामा गुराँसले ढपक्क ढाकेको रुखमुनि फोटो खिच्नेको भीड देख्न सकिन्छ ।

selfi
पोखरा महानगरपालिका वडा नं ११ स्थित काँहुडाँडामा गुराँससँग सेल्फी खिच्दै आन्तरिक पर्यटक । पछिल्लो समय काँहुडाँडा आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । तस्वीर : रासस

पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत काहुँडाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि दृष्यावलोकन र वनभोजस्थलका रूपमा आर्कषक गन्तव्य बन्दै गएको छ । शहरबाट नजिक लालीगुराँस फुल्ने यस डाँडामा लालीगुराँस फूल टिप्न निषेध गरिएको छ । जोगाइएका लालीगुराँसमा पर्यटकले फोटो खिचेर रमाउने गरेका छन् ।

समुद्री सतहदेखि एक हजार ४४४ मिटरको उचाइमा रहेको काहुँडाँडामा तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र यस क्षेत्रका सामाजिक अभियानकर्मीका रूपमा परिचित स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण भएको काहुँ धरहराले पनि आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । धरहराबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छे« र अन्नपूर्ण हिमश्रृङ्खलाका सुन्दर दृष्य अवलोकन गर्न सकिन्छ ।

ghumte baglung gurans tourist

पोखराको महेन्द्र पुलबाट साढे सात किलोमिटरको दूरीमा रहेको उक्त स्थल पुग्न साढे पाँच मिटरको पक्की बाटोले पनि पर्यटकलाई सहज भएको स्थानीय नवराज क्षेत्रीले बताउँछन् । काहुँडाँडामा प्राचीन समयमा काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काहुँडाँडा रहन गएको क्षेत्रीको भनाइ छ ।

ऐतिहासिक काहुँडाँडा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्र गुरुङले काहुँडाँडाको विशेषतानै शहरको नजिकबाट लालीगुराँससँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाका सुन्दर दृष्य देखिनु रहेको बताए । प्राकृतिक सुन्दरतामा रमाउन चाहने जोकोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य भएको उनको भनाइ छ ।

मौसम सफा भएको बेला माछापुच्छे«, अन्नपूर्णलगायत हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने यस क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालयले रु ५० लाख रकम विनियोजन गरेको गुरुङले बताए । ऐतिहासिक धरहरालाई संरक्षण गर्दै आधुनिक धरहरा बनाइने उनको भनाइ छ । गुरुङका अनुसार दैनिक १५० देखि २०० मानिस अवलोकनका लागि यहाँ आउने गर्छन भने शनिबार र सार्वजनिक विदाको दिन ५०० माथि पर्यटक आउने गरेका छन् ।

selfi 1
पोखरा महानगरपालिका वडा नं ११ स्थित काँहुडाँडामा गुराँससँग सेल्फी खिच्दै आन्तरिक पर्यटक । पछिल्लो समय काँहुडाँडा आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । तस्वीर : रासस

धरहरा चढ्न चाहने पर्यटकले रु २० को टिकट काट्नु पर्छ । वनभोजका लागि भने ‘क्याटरिङ’सहित जानेले रु तीन हजार र क्याटरिङ नलिई जानेले रु १५ सय समितिलाई बुझाउनुपर्छ । विशेषगरी मंसिर, पुुस, माघ र फागुन महीना काहुँडाँडा घुम्न र वनभोज खाने आउनेको भीड हुने गर्दछ ।

डाँडाको हरियाली, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले आफूलाई मोहित गराएको पोखरा बगरबाट घुम्न आएका वेद गुरुङले बताए । उनले भने, ‘पोखरा नजिक यति सुन्दर ठाउँ रहेछ, घुम्ने अवसर बल्ल मिल्यो, पारिवारिक वनभोज खान सपरिवार आएका छौँ ।’

ग्रामीण पर्यटनको विकास गर्दै पोखराकै एक उत्कृष्ट दृष्यावलोकन गन्तव्य निर्माण विकास गर्ने प्रयास भइरहेको स्थानीयवासी एवं पत्रकार दामु आचार्यले बताए । उनका अनुसार १६१ रोपनी सामुदायिक वन र आठ रोपनी व्यक्तिको गरी १६९ रोपनीमा धर्मकाया बुद्धमण्डला निर्माण हुँदैछ, जहाँ विशाल बुद्धको मूर्ति र वरिपरि यशोधरा उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै गरेको आर्चायले जानकारी दिए ।

यस वडाका अध्यक्ष मोहनप्रसाद बाँस्तोलाले यो क्षेत्रको विकासले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि भूमिका खेल्ने बताए । बाँस्तोलाले भने, ‘प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार विकाससँगै बृहत् प्रचार प्रसारको खाँचो छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७