पूर्व डीआईजी पार्वती थापा संघीय फोरमको महिला संयोजक

अमेरिका, ५ चैत । नेपाल प्रहरीका पूर्व डिआईजी पार्वती थापा मगर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् ।

संघीय समाजवादी फोरमको प्रवास संगठन ‘नेपाली संघीय समाज (नेफेसो) अमेरिका’ अन्तर्गत (नेफेसो) अमेरिका महिला संघमा संगठित भएर राजनीतिमा प्रवेश गरेकी हुन् ।
आइतबार (१७ मार्च) न्यूयोर्कको ज्याक्सन हाइटमा भएको कार्यक्रमबाट मगरको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो । यसअघि उनी संघीय फोरमको सल्लाहकार थिइन् । अमेरिका बस्न थालेपछि उनी सक्रिय रूपमा संगठनमा लागेकी हुन् ।

नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता भएकी पहिलो महिला हुन् । तर, उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्याललाई महानिरीक्षकमा बनाइएको थियो । प्रतिष्पर्धामा अब्बल भए पनि राजनीति कारण थापा अवसरबाट बञ्चित बनिन् ।
समितिको सहसंयोजकमा मनु लोहोरुङ बसेकी छन् भने निला जवेगू, फोहाङ पतङ्वा र कोकिला देवान सदस्य रहेको नेफेसो अमेरिकाले जनाएको छ ।
कार्यक्रममा संघीय फोरमको राष्ट्रिय परिषद सदस्य प्रेम कुरुङबाङसहित सशांक लामा, पार्वती थापा मगर (नव नियुक्त संयोजक), मनु लोहोरुङ, निला जवेगू’, केशवराम राई, अनिल सम्बाहाङ्फे, देवबहादुर पुन लगायतले आ–आफ्नो धारणा राखेका थिए ।