मुकेश अम्बानीले भाइको ८ अर्ब ऋण तिरिदिएर जोगाए जेल जानबाट

काठमाडौं, ५ चैत । भारतीय अर्बपति मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीको आठ अर्ब ऋण तिरिदिएर जेल जानबाट जोगाएका छन् ।

अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर (८ अर्ब ७७ करोड नेरू) पैसा तिर्नुपर्ने थियो । उक्त रकम तिर्न नसेक उनी तीन महिनाका लागि जेल जान पर्ने सर्वोच्च अदालतको फैसला थियो ।
मुकेशले समय सीमा सकिनु एक दिनअघि सोमबार अनिलको उक्त ऋण तिरिदिएर दाजु हुनेको दायित्व र कर्तव्य पूरा गरेका हुन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै अनिलले अफ्ठेरो पर्दा साथ दिएको भन्दै दाइ र भाउजु नीतालाई धन्यवाद दिएका छन् । उनले आफ्नो परिवार विगतको तिक्ततालाई बिर्सेर नयाँ ढंगबाट अघि बढिरहेको बताएका छन् ।
सन् २००२ मा बुवा धिरूभाइ अम्बानीको मृत्युपछि सम्पत्ति र व्यापारबारे यी दुई दाजुभाइ सार्वजनिक रूपमै झगडामा उत्रिएका थिए । पछि भागबण्डा गरेर अनिलले टेलिकम र उर्जा क्षेत्र र मुकेशले तेल र पेट्रोकेमिकलको व्यापार पाएका थिए ।
तर पछिल्लो समय अनिलको व्यापार खस्किँदै गएको थियो भने मुकेशको व्यापार फैलिरहेको छ । गत वर्षमात्र उनले १० अर्ब डलर सम्पत्ति थपेको ब्लुमवर्गले जनाएको छ । एजेन्सी