आफ्नै दाजुले गरे बहिनीको बलात्कारपछि हत्या

राजविराज, ६ चैत । कोठामा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका–९ की ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

बलात्कारपछि अरूले घटना थाहा नपाउन भनेर हत्या गरेको अनुसन्धानबाट खुलेको हो । हत्या गर्ने अरू कोही नभएर उनकै दाजु हुन् । बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन् ।
टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतेकी थिइन् । घरमा कोही नभएका बेला कोठामा प्रवेश गरेका १८ वर्षीय राजदेव मण्डलले टाउको सुम्सुम्याउँदै मुख थुनेर ०७४ माघ २५ गते साँझ बलात्कार गरेका हुन् ।
मुख थुनेर बलात्कार गरेपछि रुन थालेकी बालिकाको आवाज अरूले नसुनुन् भनेर पीडितकै कुर्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको खुलेको इन्स्पेक्टर हरिविष्णु ढकालले बताए ।
हाडनाता करणी र कर्तव्य ज्यान मुद्दाका कसुरदार राजदेवलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले ०७४ फागुन २५ गते पूर्पक्षका लागि राजविराज कारागारमा हिरासतमा छन् ।
अदालतले ०७५ चैत ४ गते कर्तव्य ज्यान कसूरमा उनलाई जन्मकैद, बलात्कार कसूरमा १० वर्ष र हाडनाता करणी कसूरमा २ वर्ष कैद हुने फैसला गरेको छ ।