अमेरिका जानुअघि प्रचण्डले किन भेटे फ्रि तिब्बतका विवादित व्यक्ति ?

काठमाडौं, ६ चैत । फ्रि तिब्बत मुभमेन्टसँग नाम जोडिएका विवादित व्यक्ति मास्टर कर्मा तान्पेइ ग्यालसेनसँग भेटेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेको रहस्य खुलेको छ ।

ललितपुरको खुमलटारस्थिट निवासमा १३ मार्चका दिन दाहालले तान्पेइसँग भेटेका हुन् । भेटवार्तामा के–के कुरा भएको थियो केही बताइएको छैन । तर, दाहाल र तान्पेइबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको हुन सक्ने स्रोतको भनाइ छ ।
बौद्ध धर्मगुरु तान्पेइले भारतमा निर्वासित जीवन विताइरहेका दलाई लामासँग बेलाबेला भेट्ने गरेका छन् । तान्पेइका सहयोगीहरू पनि दलाई लामाका अनुयायी हुन् । दाहाल प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा रहँदा तत्कालीन समयमा उनले तान्पेइसँग नयाँदिल्लीमा पनि भेटेका थिए । त्यो भेट विवादमा परेको थियो ।