माथिल्लो तामाकोशीको भौतिक प्रगति ९८ प्रतिशत, आगामी मंसिरदेखि सञ्चालन


९ चैत्र २०७५, शनिबार
tamakosi

दोलखा, ९ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

tamakosi

जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका थिए । मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिएका छन् ।

करीब तीन घण्टा आयोजना निर्माणस्थलमा रहेर निकै चासोपूर्वक निर्माण कार्यको अवलोकन गरेका थिए । निरीक्षणका क्रममा मन्त्री पुनले आयोजनाको अनुगमन, निरीक्षण, समस्याको समाधान र सहजीकरणका लागि आफू प्राधिकरण तथा आयोजनाका उच्चपदस्थ अधिकारीसहित निर्माणस्थलमै आएको बताएका छन् ।

उनले आयोजना प्रमुख दिनेशजङ्ग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग आयोजनाका प्रगतिका बारेमा जानकारी लिएका छन् । मन्त्री पुनले तोकिएको समयभित्रै राष्ट्रिय गौरवका रुपमा रहेको तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै त्यसमा गम्भीर भएर काम गर्न निर्देशन दिएका छन् ।

आयोजनाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय गौरवको यस आयोजना तोकिएको समय तालिकाभित्रै सम्पन्न हुने बताए । उनले आगामी मंसिरभित्र आयोजना पूर्णरुपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि मैले पूरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु’, मन्त्री पुनले भने ।

नेपाली श्रम, सीप र पूँजी परिचालन गरी ठूला आयोजना सम्पन्न गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै उनले यसबाट नेपालीले ठूला आयोजना आफै बनाउन सक्छन् भन्ने पुष्टि भएको बताए । मन्त्री पुनले तामाकोशी जलविद्युत् आयोजना नेपालका लागि नमूनायोग्य र महत्वपूर्ण भएको बताएका छन् ।

उनले भने, ‘केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एण्ड्रिजको बीचमा समझदारी बनाइदिएका छौँ, अहिले कामअघि बढिरहेको छ । त्यसैले पनि आगामी मंसिरसम्म सबै काम सम्पन्न हुन्छ ।’ आफूले आयोजना प्रमुख र कार्यकारी निर्देशकलाई सँगै राखेर शुरुदेखि नै तालिकाअनुसार काम गर्न प्रेरित गरेको मन्त्री पुनको भनाइ थियो ।

यसअघि आयोजनामा समस्या देखिएपछि मन्त्री पुनले ऊर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेर तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका थिए ।

छलफलका क्रममा उनले आयोजनाको काम अघि नबढे ठेक्कासमेत तोड्ने चेतावनी समेत दिएका थिए । निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजनाआयोगका सदस्य डा कृष्णप्रसाद ओलीसहित आयोजनास्थल पुगेका थिए । यसअघि गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आयोजनाको निरीक्षण गरेका थिए ।

भौतिक प्रगति ९८ प्रतिशत
आयोजना निर्माणका क्रममा देखिएका समस्या सरकारले समयमै हल गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक परिवर्तन देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८ प्रतिशत पुगेको छ ।

आयोजनाको सुरुङ निर्माणका क्रममा निर्माण कम्पनी उल्झन देखिएपछि केही दिनअघि ऊर्जामन्त्री पुनले नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजनासहित प्रस्तुत हुन निर्देशन दिएका थिए ।

सोही निर्देशनानुसार आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरिरहेका छन् । हाल ठाडो सुरुङमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ ।

आगामी मंसिरमा आयोजना सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । ‘भर्टिकल पेनस्टक सार्प’ मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७