मूलधारमा आउन प्रधानमन्त्रीले दिए विप्लवलाई दुई हप्ते ‘अल्टिमेटम’

‘मूलधारमा नआए चैत महिनाभित्रै सबै गतिविधि नियन्त्रणमा लिइन्छ’


११ चैत्र २०७५, सोमबार
pm 3

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई मूलधारको राजनीतिमा आउन दुई हप्ताको समयसीमा दिएका छन् ।

pm 3

सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले चैतभित्रै विप्लवका गतिविधि नियन्त्रणमा लिइने दाबी गरे । ‘सरकारले एक महिनाभित्र विप्लवका गतिविधि नियन्त्रणमा लिइसक्छ’, ओलीले थपे, ‘राम्रो बाटो आए ठिकै छ । नभए जेलको बाटो गरी मूलधारमा आउँछ । त्यो पनि चैत महिनाभित्रै ।’

यसअघि आइतबार संसद बैठकमा बोल्दै प्रधानमन्त्रीले विप्लव समूहलाई लुरूलुरू हतियार बुझाउन नभए कार्बाही भोग्न तयार रहन चेतावनी दिएका थिए । सरकारले फागुन २८ गते विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । संसदीय दलको बैठकमा बोल्दै ओलीले लगानी सम्मेलनमा केही मुलुक सहभागी नहुँदा फरक नपर्ने बताएका छन् । ‘लगानी सम्मेलनको तयारी उत्साहजनक छ’, ओलीले भने, ‘केहीले चासो नदेखाउँदैमा फरक पर्दैन । सबैका आफ्ना स्वार्थ हुन्छन् ।’

उनले सरकारले काम गर्दा समेत भ्रम पैदा गर्ने काम भएकाले सांसदहरूले अब गाउँमा गएर भ्रम चिर्न निर्देशन दिएका छन् । ‘गाउँ–गाउँ गएर भ्रम चिर्नस्’, ओलीले भने, ‘सरकारले राम्रो काम गरेको जनतालाई बुझाउनुस् ।’

उनले केन्द्रीय सरकार बजेट निर्माणमा अगाडि बढेको उल्लेख गर्दै बजेटमा राख्नै पर्ने विषयहरु टिपेर ल्याउन सांसदलाई सुझाव दिएका छन् । ‘एक महिनाभित्र बजेट अधिवेशन शुरू हुन्छ’, ओलीले भने, ‘आगामी बजेटमा राम्रा कुरा के राख्ने गाउँ पुगेर टिपेर ल्याउनुस् ।’ संसदको हिउँदे अधिवेशन आइतबार सकिएको थियो । हिउँदे अधिवेशन सकेर निर्वाचन क्षेत्र फर्किन लागेका सांसदहरूलाई निर्देशन र सुझाव दिन आज संसदीय दलको बैठक बसेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७