एनसेल बम विष्फोट प्रकरण : विप्लवका हतियारधारी चार कार्यकर्ता पक्राउ


११ चैत्र २०७५, सोमबार
pakrau

काठमाडौं, ११ चैत । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले ललितपुरको नख्खुमा गराएको विष्फोटमा प्रत्यक्ष संलग्न ४ जना पक्राउ परेका छन् भने दुई जना अझै फरार छन् ।

pakrau

एनसेल मुख्यालयमा विष्फोट हुनुअघि तीन वटा मोटरसाइकमा गएका ६ जनामध्ये ४ जना पक्राउ परेको प्रहरीले दाबी गरेको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार १० फागुनमा एनसेल मुख्यालय अगाडि विष्फोट हुनुअघि मोटरसाइकलमा हतियारसहित सवार व्यक्तिमध्ये ४ जना सूर्य भुजेल, डिकेन्द्र राई, रामृकष्ण खतिवडा र शिव धिमाल हुन् ।

भुजेल विप्लवका पूर्व अङ्गरक्षक हुन् । फरार रहेका दुई जनाको पनि प्रहरीले पहिचान गरिसकेको छ । ‘उनीहरुको खोजीमा विशेष ब्युरोदेखि अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयहरुका टोलीसम्म खटिएको छ’, ती अधिकारीले भने, ‘चाँडै उनीहरुलाई पनि नियन्त्रणमा लिनेछौं ।’

सीसी टीभीमा देखिएअनुसार विष्फोट अघि ३ वटा मोटरसाइकलमा हतियारधारी एनसेल गेट छेउ आएका थिए । एउटा मोटरसाइकल गेट बन्द गर्न नमिल्ने गरी बसेको थियो भने दुई जना भित्र छिरेर रिसेप्सनमा प्रेसर कुकर बम राखिदिएका थिए ।

एक्कासी झोला छाडेर भागेको देखेका सुरक्षागार्डले बम राखिएको झोला बाहिर मिल्क्याएका थिए । तर, त्यसको केहीबेरमा एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी विष्फोट भएको थियो ।

घटनालगत्तै विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सञ्चारमाध्यमहरुसँग कुरा गर्दै घटनाको जिम्मेवारी लिएका थिए । उनलाई पनि प्रहरीले शनिबार काभ्रेबाट पक्राउ गरिसकेको छ । सुदर्शनसहित अन्य ४ जनाविरुद्ध विष्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७