ढुक्क भएर मतदान गर्न गृहको आग्रह, यस्ताे छ सुरक्षाकाे तयारी


२० मंसिर २०७४, बुधबार
Home ministry

काठमाडौं : बिहीबार दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरी सबै मतदानस्थलमा मतदान सामग्री र कर्मचारीसहित सुरक्षाकर्मीहरू तैनाथ भइसकेको गृह मन्त्रालयले जनाएको छ ।Home ministry

गृह मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गरी पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गरे ।
उनले भने, ुनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनका सबै तहका क्रियाकलापमा मजबुत सुरक्षा व्यवस्था मिलाइएको छ ।”
सुरक्षाको प्रत्याभूति दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई योजनाबद्ध तवरले सशक्तरुपमा परिचालन गरिएको उनले बताए।

गृहसचिव सापकोटाले निर्वाचन विरोधी गतिविधिलाई निस्तेज र नियन्त्रण गर्न सरकार लागिरहेको बताए ।

उनले भने, ‘निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न बाधा, व्यवधान सिर्जना गर्न खोज्ने, डर त्रास पैदा गर्न खोज्ने र विष्फोटनका घटना घटाई उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण जनतालाई घाइते तुल्याउनेजस्ता निर्वाचन विरोधी, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षाका निरोधात्मक र प्रतिरोधात्मक कारबाही कडाइका साथ तीव्र तुल्याइएको छ ।’
निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिनेछ ।
निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव सापकोटाले जानकारी दिनुभयो । यस्तै निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।
कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको गृहले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

अनुमति लिएकाबाहेक सवारीसाधन चलाउन नपाइने
निर्वाचन हुने जिल्लामा बिहीबार सार्वजनिक र निजी सवारीसाधन चलाउन नपाइने गृहले जनाएको छ । अत्यावश्यक सेवाका सवारी र अनुमतिपत्र भएका सवारी भने चलाउन पाइने छ ।
बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सवारीसधान चलाउन नपाइने गृहले स्पष्ट पारेको छ । यस्तै निर्वाचन हुने ४५ जिल्लामा सार्वजनिक विदा दिइएको गृहले जनाएको छ ।

निर्वाचनको सुरक्षा तयारी पूरा ः प्रहरी
यसैबीच, नेपाल प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनको सुरक्षा तयारी पूरा भएको र निर्वाचन विरोधी गतिविधिमा संलग्न करिब एक हजारलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६००, सिके राउत समूहका १३ र अन्य समूह तथा व्यक्ति ३५५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
यस्तै, ६१ थान हातहतियार, २८३ थान गोली, दुई हजार १८८ थान डेटोनेटर, बारुद १२ किलो, पटाका, जिलेटिनलगायत सामाग्री बरामद गरिएको उनले बताए ।
उनका अनुसार मतदानस्थलमा सुरक्षा संवेदनशीलताको आधारमा जनशक्ति, हातहतियार तथा साधनस्रोतको परिचालन गरिएको छ ।
प्रहरीको कुल जनशक्तिको न्यूनतम ९० प्रतिशत जनशक्ति परिचालन गरी निर्वाचन सुरक्षाका लागि सुरक्षा तैनाथी सम्पूर्णरुपमा सम्पन्न भइसकेको प्रवक्ता न्यौपानले जानकारी दिए ।
विष्फोटनका घटनामा संलग्न कास्कीबाट तीनजना, बारा, संखुवासभा, भोजपुर, सिराहा, उदयपुरबाट एक÷एक जना पक्राउ गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७