हिमाल संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान चलाइने


११ चैत्र २०७५, सोमबार
himal 1

काठमाडौं, ११ चैत । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ ।

himal 1

‘पृथ्वीमा जीवन रक्षाका लागि हिउँ बचाऊ’ भन्ने मूलनाराका साथ आरोही पूर्णकुमार (पिके) शेर्पा र उनका छोरा सोनाम शेर्पाले विश्वका सातै महादेशका उच्च हिमाल आरोहणमा जान लागेका हुन् ।
जलवायु परिवर्तनको असरबाट हिमाल बचाऊँ भन्ने सन्देश विश्भर फैलाउने लक्ष्यका साथ ४० वर्षे आरोही पिके शेर्पा १४ वर्षीय छोरा सोनामका साथ आरोहणमा जान लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सन् २०१० र २०११ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका आरोही पिके शेर्पा विगत दुई दशकदेखि आरोहणका साथ हिमाल सरसफाइमा संलग्न छन् । शेर्पा बाबुछोराले अभियानअन्तर्गत अष्ट्रेलियाको माउन्ट कोस्सिउस्ज्क, अफ्रिकाको माउन्ट किलिमञ्जरो, रसियाको माउन्ट इलब्रस, दक्षिण अमेरिकाको माउन्ट एकन्कागुआ उत्तर अमेरिकाको डेनली र दक्षिण एशियामा नेपालको सगरमाथा आरोहण गर्नेछन् ।

आरोहण सन् २०१९ को मार्च अन्तिमदेखि शुरु भई सन् २०२० मेसम्म दुई वर्षको अवधिमा सकिने छ । अभियानको अन्तिम चरणमा सगरमाथाको आरोहण गर्ने अभियानले जनाएको छ । ताप्लेजुङका आरोही पिके शेर्पा ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का कार्यसमिति सदस्य एवं वातावरण तथा माउन्टेनरिङ शाखाका संयोजक समेत छन् ।

अभियानकर्मी शेर्पाले जलवायु परिवर्तनको जोखिम विश्वभर बढेको र यसले हिमाललाई धेरै असर पुग्ने भएकाले विश्व समुदायमा प्रत्यक्षरूपमा पुग्न नसके पनि चुचुरोबाट सन्देश फैलाउने उद्देश्यले बाबु छोरा अभियानमा लागेको बताए । हिमाल संरक्षणसम्बन्धी सचेतना अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० अभियानलाई महत्वपूर्ण सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।

पत्रकार सम्मेलनमा टानका अध्यक्ष नवराज दाहालले भ्रमण वर्ष अघि बढिरहेको सन्दर्भमा धेरैभन्दा धेरै गतिविधि बढाई पर्यटक आकर्षण गर्नुपर्ने भएकाले पनि यस्ता अभियान सहयोगी बन्ने उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले नेपाललाई विश्वमा प्रवर्धन गर्न अभियान सान्दर्भिक हुने बताए । हिमालय उद्धार सङ्घका अध्यक्ष नरेन्द्रदेव भट्टले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएकाले सात महादेशका उच्च हिमालबाट हिमाल संरक्षणको सन्देश उपयोगी हुने धारणा राखे ।

करीब रु ६ करोड खर्च लाग्ने यो सचेतना अभियानमा टान, बोर्डलगायत पर्यटन क्षेत्रका संस्था तथा व्यक्तिगतरूपमा पनि सहयोग सङ्कलन गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७