सरकारविरुद्ध विप्लवको प्रतिवन्धको चेतावनी, विरोधका कार्यक्रम सार्वजनिक


१२ चैत्र २०७५, मंगलवार
biplaw

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (सोमबार) मूलधारमा आउन विप्लवलाई दुई हप्ताको ‘अल्टिमेटम’ दिए लगतै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पनि सरकारविरुद्ध प्रतिवन्धको चेतावनी दिएको छ ।

biplaw

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिंदै विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा उसले केपी शर्मा ओली नेतृत्वको सरकारले गर्ने कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।

आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध चैतभित्र नहटाएमा तथा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउँदै आमहड्तालको तयारी गर्ने पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै उसले चैत १३ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।

चैत १३ गते पहिलो दिन देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मसाल जुलुस गर्ने उल्लेख छ । यस्तै चैत १६ गते शनिबार नेपाल बन्द गर्ने, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झण्डा प्रदर्शन र चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बन्द गर्नु आफूहरुको चाहना नभई सरकारी दमनकाविरुद्ध भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले लगानी सम्मेलन गर्न लागेकै बेला विप्लवले बन्दको आह्वान गरेको हो ।
सरकारले २८ फागुनमा विप्लव नेतृत्वका नेकपाको क्रियाकलापमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध घोषणापछि मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सहितका नेताहरु पक्राउ परेका छन् । सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र विप्लव समूहको गतिविधिलाई नियन्त्रणमा लिने घोषणा गरेका थिए ।

biplab 8sjfdfnl9X

झुक्किए विप्लव
माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारदेखि चलिरहेको छ । २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
तर परीक्षाकै बीचमा नेत्रविक्रम चन्द विप्लव समूहले बन्दको आह्वान गर्दा परीक्षा नै प्रभावित हुने चिन्तामा विद्यार्थीहरु परेका छन् ।

विप्लव नेतृत्वको नेकपाले १६ गते शनिबारका दिन नेपाल बन्दको आह्वान गरेको छ । आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने र पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग गर्दै उसले १६ गते बन्द आह्वान गरेको हो ।

विप्लव समूहले जारी गरेको विज्ञप्तिमा कक्षा १० का विद्यार्थीको एसईई परीक्षालाई बाधा नपरोस् भनेर शनिबारका लागि बन्द आह्वान गरिएको भनिएको भए पनि शनिबारका दिन समेत एसईई परीक्षा छ । शनिबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेद विद्याश्रमतर्फ कर्मकाण्डरफलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा र प्राविधिक तर्फको पनि परीक्षा तोकिएको छ ।

शनिबार परीक्षा हुँदैन भन्ने ठान्दा विप्लव समूह झुक्किन पुगेको छ । विज्ञप्तिमा नै एसईई परीक्षालाई बाधा नपार्ने भनेकाले शनिबार पनि परीक्षा परेको हुँदा विप्लव समूहको बन्दको सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । बन्दले विद्यार्थीको परीक्षा प्रभावित हुने भन्दै बन्द फिर्ता लिन माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७