हतियार चोर्ने जोगी, सिपाही कारबाही भोगी


१३ चैत्र २०७५, बुधबार
hatiyar

काठमाडौं, १३ चैत । सर्वोच्च अदालतले ०४४ सालका पीडित प्रहरीलाई ३१ वर्षपछि बल्ल न्याय दिएको छ । पृथ्वीनारायणले ‘न्याय नपाए गोरखा जानु’ भनेका थिए, तर गोरखाको पृथ्वीनारायण नगरपालिका–८, ढिकुरस्वाँरा बस्ने पूर्वप्रहरी हवल्दार खुलबहादुर कुँवरले तीन दशकपछि अघिल्लो महिना काठमाडौंको रामशाहपथस्थित सर्वोच्च अदालतबाट न्याय पाएका छन् ।

hatiyar

अहिले नेपाल प्रहरी अस्पताल रहेको ठाउँमा ०४४ साल पुसमा मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र थियो । अहिले भरतपुरमा रहेको उक्त तालिम केन्द्र सरेपछि मात्रै त्यहाँ प्रहरी अस्पताल बनेको हो । तत्कालिन तालिम केन्द्रको हतियार भण्डारण तथा रेखदेख कक्ष (कोत) मा खुलबहादुरको ड्युटी थियो । त्यहाँबाट एक दिन दुई थान रिभल्वर हरायो । यो कुराको जानकारी उनले कोत कमाण्डर इन्स्पेक्टर तुलाबहादुर केसीलाई पनि दिए । कोतबाट हतियार हराएमा कि चोर्ने मान्छे फेला पर्नुपर्छ, नत्र जिम्मेवार कर्मचारी दण्डित हुन्छन् । यसअनुसार, चोर्ने मान्छे फेला नपर्दा खुलबहादुर कारवाहीमा परे ।


८ महिनासम्म हिरासतमा थिल्थिलो हुने गरी कुटेर जागिर खाएको आठ वर्षपछि आइलागेको यस्तो अवस्थाले उनलाई पाँच वर्ष जेल सजायँ भयो । ०४५ भदौमा चार वर्ष कैद र एक वर्षबराबरको तलब जरिवाना अनि त्यहीँ ड्युटीमा रहेका ओखलढुंगे यज्ञबहादुर केसीलाई सात वर्ष कैद र एक वर्षबराबर तलब जरिवाना तोकियो ।

नखाएको विषले धर्धरी रुवाउँदा उनी मानसिक रुपमा विक्षिप्त भए । जेलभित्रै मानसिक सन्तुलन बिग्रिएपछि स्ट्रेचरमा राखेर कैयौँपटक अस्पताल कुदाइयो । जेलमा रहेको बेला बर्दी लगाएको प्रहरी देख्नासाथ चिच्याउने र कराउनेजस्तो मानसिक रोगले उनलाई गाँजेको थियो ।

प्रहरीले रिभल्वर हराएको नभनी बेचेको भन्ने विषयबाट मुद्दा उठाएको थियो । खुलबहादुरले सिपाही यज्ञबहादुरलाई फिल्म सुटिङ गर्नका लागि दुईवटा रिभल्वर दिएको बयान दिएको र, यज्ञबहादुरले चार हजार नगद, ज्याकेट र जुत्ता दिउँला भनी खुलबहादुरले कोत खोलेको मध्यमाञ्चल क्षेत्रीय प्रहरी विशेष अदालतको आरोप थियो, आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

यसैबीच, ०५९ साल चैत १९ गते एकजना जोगी हनुमानढोकास्थित तत्कालिन जिल्ला प्रहरी कार्यालयमा टुप्लुक्क देखा परे, जसका कारण खुलबहादुरको निर्दोषिता प्रमाणित भयो । कस्तो भने, ०४८ सालतिर भोजपुरबाट डिएसपीमा बढुवा भएका पूर्वआइजिपी कुवेरसिंह राना तालिम केन्द्र पुग्नासाथ हतियार हराएको, हवल्दारमाथि कारवाही भएको कुरा सुन्थे । तर, हतियार र चोर्ने मान्छेको कुनै पत्तो भएन । उनै कुवेर जब हनुमानढोकाको हाकिममा सरुवा भए, बाबाजी त्यहीबेला पुगेका हुन् ।

गत वर्ष डिआइजीबाट रिटायर्ड भएका गणेश केसी त्यसबेला मुद्दा फाँटका डिएसपी थिए । त्यसरी सोह्र वर्षपछि प्रकट हुने बाबाजी थिए, हतियार हराउँदा तालिम केन्द्रमै कार्यरत र जागिर छाड्दै तीनचोटि जोडिँदै गरेका सिपाही घनश्याम अधिकारी । ०४४ सालमा उनले चोरेको अमेरिकानिर्मित दुई हतियारमध्ये एउटा चितवनमा हराएको र खियाले खाइसकेको अर्को आफैँसँग रहेको बताए ।

काठमाडौंको झोर महांकालका बासिन्दा उनले आफ्नो कारण दुई प्रहरी कर्मचारी जेल जानु परेको कुराले आत्मग्लानी र हिनताबोध भएको बयान दिएका थिए । यसअघि त्रिपुरेश्वरस्थित प्रहरी पहरा गणको सेफ चोरेको अभियोग पनि उनीमाथि लागेको थियो ।

बदमासी गरेर भाग्दै हिँड्ने उनी पछि विरक्तिएर बाबाजीमात्रै बनेनन्, आफ्नो अपराधले आफैँलाई पोल्न थालेपछि अपराध सकार्दै हनुमानढोका पुग्ने अवस्थामा आए । यसले गर्दा खुलबहादुर निर्दाेष त सावित भए तर जागिर जोडिएन । उनको जागिर जोडाउनका लागि त्यतिबेला नै सतिशकृष्ण खरेललगायतका वरिष्ठ वकिलहरू निक्कै जोडसँग लागेका थिए । त्यसमा कुवेरसिंह रानासहितका प्रहरी अधिकृतहरू पनि सकारात्मक भैदिए । तर, जागिरको पुनरावेदन गर्ने कानुनी म्याद गुज्रिसकेका कारण अदालतले आफ्नो असिमित अधिकार क्षेत्र प्रयोग गर्नेबाहेक अर्को उपाय थिएन ।

‘घाट कुरे लाश आउँछ’ भनेजस्तो न्याय कुर्ने धैर्यताका साथ खुलबहादुर लडिरहे । मुद्दा व्युँतियो पनि । हालै उनको २२ वर्षे जागिरको तलब, सुविधा एकमुष्ट पाउने गरी सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र प्रकाश राउतको बेञ्चले न्याय दिएको छ । ०६९–डब्ल्युओ–१३०१ दर्ता नम्बर रहेको र २०७० साल जेठ २९ गते सर्वोच्चमा दर्ता भएको यो मुद्दाको फैसला फागुन २३ गते आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७