सुन्दरीजल–वाग्द्वार महोत्सव वैशाख १ मा


१७ चैत्र २०७५, आईतवार
Bagdwar

–पूर्णप्रसाद मिश्र 

काठमाडौँ, १७ चैत । वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सवको आयोजना गरिने भएको छ ।



गोकर्णेश्वर नगरपालिका वडा नं १ ले वैशाख १ गते महोत्सव आयोजना गर्न लागेको वडाध्यक्ष राम मानन्धरले राससलाई जानकारी दिनुभयोे । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट निस्किएको पानी गोकर्णेश्वर महादेव मन्दिर हुँदै राजधानी प्रवेश गर्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट निस्किएपछि गङ्गा नदीमा नमिसिएसम्म वाग्मतीकै नामले प्रसिद्ध छ । 

वाग्द्वार स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । वैशाख १ गतेका दिनमा त्यहाँ पुगी स्नान गरेमा पाप पखालिइ अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । वाग्मतीको वर्णन विभिन्न पुराणमा गरिएको छ । 

सृष्टिको शुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भएपछि शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको विषय नेपाल माहात्म्यको हिमवत्खण्डलगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउँछन् ।

“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”, उनले भने ।

वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ भनी वरदान दिनुभएको पौराणिक मान्यता छ । यहाँ स्नान गरेमा भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको हो भन्ने विश्वास छ । 

वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने धार्मिक विश्वाससमेत छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा जाने गरेका छन् । 

शिवजीको बोलीबाट वाग्मती प्रकट भइसकेपछि अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएको धार्मिक विश्वास छ । यसैले सूर्यग्रहण, चन्द्रग्रहण र औँशी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको हो । 

यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवती अर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन्् । दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको हो । 

वाग्द्वार सुन्दरीजल र बूढानीलकण्ठ दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीन घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छठा र सौन्दर्यले भरिएको वाग्द्वार पुग्न सकिन्छ । 

प्राचीनकालदेखि नै मेष सङ्क्रान्तिका दिन मेला लाग्ने गरेकाले त्यसै अवसरमा सुन्दरीजल, सुन्दरीमाई र वाग्द्वार क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको हो । महोत्सवमा यस क्षेत्रमा बसोबास गर्ने तामाङ, शेर्पा, नेवार, ब्राह्मण, क्षत्रीलगायतको वेषभूषा एवं संस्कृतिको प्रदर्शन गरिने वडाध्यक्ष मानन्धरले जानकारी दिए ।

पर्यटकीयस्थल भए पनि सुन्दरीजल बत्तीमुनिको अँध्यारो जस्तो भएकाले महोत्सवपछि यहाँको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । वाग्मतीको पानी सुन्दरीजलबाटै उपत्यकामा पिउनका लागि ल्याइन्छ । हालसम्म राजधानी शहरको पानीको स्रोतमध्येमा सबैभन्दा बढी आपूर्ति यहीँबाट हुने गरेको छ । 

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिको भरमा पहिलो जन निर्वाचित सरकार अपदस्थ गरी प्रमुख नेतालाई यहाँ जेल बनाई थुनेपछि सुन्दरीजलले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, मन्त्री गणेशमान सिंह, पहिलो संसद्का सभामुख कृष्णप्रसाद भट्टराईलगायत प्रमुख नेतालाई यहीँ बन्दी बनाइएको थियो । 

आधुनिकतासँगै राजधानीमा मानिसको चाप बढेपछि उपत्यकावासीको प्यास मेटाउन ल्याइँदै गरिएको मेलम्चीको पानी प्रशोधन केन्द्र पनि सुन्दरीजलमै छ । यहीँबाट पहिलो चरणमा दैनिक १७ करोड २८ लाख लिटर पानी प्रशोधन गरी राजधानीमा वितरण गर्ने सरकारको योजना छ । 

सुन्दरीजलको वाग्मती किनारमा रहेका ढुङ्गाका माध्यमबाट पनि यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने बताइएको छ । यस क्षेत्रलाई चट्टानी बगैँचाका रुपमा विकास गरी स्वदेशका साथै विदेशी पर्यटक पनि यहाँ आकर्षित गर्न सकिने सम्भावना छ । 

हाल चिसापानी, हेलम्बु, मेलम्ची, पाटीभञ्ज्याङ, लाङटाङ, झुले, जहरसिंहपौवा, नगरकोटलगायत पर्यटकीयस्थलमा सुन्दरीजलकै मार्गबाट पदयात्रा गर्ने गरिन्छ । यो पदमार्गबाट विदेशी एवं स्वदेशी पर्यटकले यात्रा गर्ने भए पनि यहाँ पूर्वाधारका विकास हुन नसकेको पर्यटन व्यवसायी अशोक गिरीले गुनासो गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७