लोकसेवाले स्थानीय तह र प्रदेशका लागि विज्ञापन खुलाउँदै, रिक्त पद खोज्न सात टोली


१७ चैत्र २०७५, आईतवार
Loksewa Aayog 1

काठमाडौं, १७ चैत । सरकारले स्थानीय तह र प्रदेशका लागि लोकसेवा मार्फत छिट्टै कर्मचारी भर्ना गर्न विज्ञापन गर्ने भएको छ । सरकारले दुवै तहमा गरेर झन्डै ३२ हजार पद रिक्त रहेकाले तत्काल १५ हजारदेखि २० हजारसम्ममा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने तयारी गरेको हो ।

Loksewa Aayog 1

संघीय लोकसेवा आयोगले पनि सरकारको आग्रहअनुसार सबै किसिमका परीक्षा गर्ने गरी आवश्यक तयारीमा जुटेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मात्रै समायोजन प्रक्रिया सम्पन्न भएको घोषणा गरेको छ । सोही घोषणा अनुसार संघमा ४८ हजार ४०९ दरबन्दीमध्ये ३९ हजार ९६० कर्मचारी समायोजन भएका छन् ।

यसैगरी, प्रदेशमा २२ हजार २९७ दरबन्दीमध्ये १३ हजार ८२१ जना र स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ४३ हजार ८०७ कर्मचारी समायोजन भएका छन् ।

रिक्त पद खोज्न सात टोली
सरकारले प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहका रिक्त पद पत्ता लगाउन सात टोली परिचालन गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा रिक्त दरबन्दीमा लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया सुचारु गर्नका लागि रिक्त पदको खोजी थालिएको जानकारी दिए ।

मन्त्रालयमा शुक्रबार भएको बैठकले सहसचिवको नेतृत्वमा रिक्त दरबन्दी पत्ता लगाउन सातवटा टोली परिचालन गर्ने निर्णय गरेको थियो । मन्त्री पण्डितले सहसचिव नेतृत्वको टोलीले पहिचान गरेको रिक्त पद पूर्तिका लागि लोकसेवा आयोगलाई तयारी अवस्थामा रहन आग्रह गरिएको जानकारी दिए ।

पहिलो चरणमा स्थानीय तह र प्रदेशका लागि संघीय लोकसेवा आयोगद्वारा भर्ना प्रक्रिया थाल्ने गरी गृहकार्य अघि बढाइएको छ । कर्मचारी समायोजन सम्पन्न गरेको सरकारले सहसचिव नेतृत्वमा सातवटा टोली परिचालन गरेको हो ।

हाल अवरुद्ध रहेको लोकसेवाका परीक्षा खुलाउने उद्देश्यका साथ सरकारले रिक्त पदको खोजी थालेको हो । यसअघि कर्मचारी समायोजन हुन नसक्दा र रिक्त दरबन्दीको पहिचान हुन नसक्दा लोकसेवाको परीक्षा अवरुद्ध हुँदै आएको थियो । अब समायोजन प्रक्रिया सकिएकाले रिक्त दरबन्दी पत्ता लगाउन सहज हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

सोही टोलीले पहिचान गरेको रिक्त दरबन्दीमा लोकसेवा आयोगद्वारा पदपूर्ति प्रक्रिया थालिने सरकारी तयारी छ । प्रदेश लोकसेवा आयोग गठन नभएकाले संघीय लोकसेवा आयोगद्वारा नै प्रदेश र स्थानीय तहमा रिक्त दरबन्दीमा पदपूर्ति गरिने भएको हो ।

यो पनि पढ्नुहोस्
स्वास्थ्यको सूची सार्वजनिक नगरी नै कर्मचारी समायोजन सकिएको घोषणा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७