३६ हजार कर्मचारीको समायोजन हुन बाँकी

मन्त्री पण्डितद्वारा समायोजन सकिएको घोषणा विवादमा


१७ चैत्र २०७५, आईतवार
karmachari samayojan

काठमाडौं, १७ चैत : स्वास्थ्य सेवामा कार्यरत २६ हजार कर्मचारीको समायोजन नै नभई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बिहीबार कर्मचारी समायोजन सकिएको घोषणा गरेका छन् ।

करिब ३६ हजार कर्मचारीको समायोजन नटुंगिदै उनले समायोजन सम्पन्न गरेको सगौरब बताए । मुख्यसचिव लोकदर्शन रेग्मी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया र प्रशासन सुधार आयोगका आजीवन अध्यक्ष काशीराज दाहाललाई दायाँबायाँ राखेर उनले समायोजन सम्पन्न गरेको घोषणा गरे । कार्यक्रममा विश्वमै नेपालले सफलतापूर्वक कर्मचारी समायोजन गरेको दाबी पनि मन्त्री पण्डितले गरेका थिए ।

karmachari samayojan

२६ हजारको संख्यामा रहेका स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको समायोजन मन्त्रालयले टुंग्याएको छैन । विविध सेवा अन्तर्गत फाजिलमा रहेका करिब ४ हजार कर्मचारीको पनि समायोजन हुन सकेको छैन ।

महिला विकास विभागअन्तर्गत कार्यरत खरिदार र नायबसुब्बा समेत १ हजार कर्मचारीको समायोजन गरिसकेपछि पुनः बेवसाइटबाट हटाइएको थियो । उनीहरुको बारेमा केही पनि निर्णय हुन सकेको छैन ।

स्थानीय तहमा खटाइएका करिब ५ हजार कर्मचारीको समायोजन पनि सफ्टवेयरबाट हटाइएको छ । ९० हजार कर्मचारीमा करिब आधा संख्यामा समायोजन हुन सकेको छैन ।

तर मन्त्री पण्डितले भने समायोजन सम्पन्न भएको घोषणा गरेका छन् । समायोजन नै नसकिए पनि मन्त्री पण्डितले सकिएको घोषणा गरी विवादमा तानिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७