कहाँ पुग्यो बाहिरी चक्रपथ निर्माणको काम ?

बाहिरी चक्रपथको काम अघि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन


१७ चैत्र २०७५, आईतवार
kathmandu valley 2nd ring rode

काठमाडौँ, १७ चैत : लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माणको अन्योलता हटाइ काम अघि बढाउन संसद्को विकास तथा प्रविधि मन्त्रालयले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । करिब १८ वर्ष अहिलेसम्म बाहिरी चक्रपथको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत बनेको छैन ।

kathmandu valley 2nd ring rode

समितिको आजको बैठकपछि सभापति कल्याणीकुमारी खड्काले अर्थ मन्त्रालय, लगानी बोर्ड, शहरी विकास मन्त्रालय र अन्य सरोकार भएका निकायका अधिकारीलाई पनि बोलाएर छलफल गरिने निर्णय सुनाइन् । हिमाल, पहाड र तराईमा नयाँ शहर निर्माणका लागि एकीकृत अवधारणा तयार पार्न समितिले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बजेटको सुनिश्चितता भए ६ महीनामै काम शुरु गर्न सकिने गरी तयारी भइरहेको बताए । एक सय ८५ नगरपालिकामा एकीकृत शहरी पूर्वाधारको अध्ययन भइरहेको जानकारी दिए ।

बैठकमा सांसद राजेन्द्र लिङ्देन, टोपबहादुर रायमाझी, प्रभु साह, मीना श्रेष्ठलगायतले एक दशक अघिदेखि नै चर्चामा रहेको बाहिरी चक्रपथ अझै शुरु हुन नसक्नुका कारण के के हुन् भनी सरोकार भएका सबै निकायका अधिकारीलाई बोलाई छलफल गरिनुपर्ने बताए ।

सांसद रायमाझीले सरकारले प्रत्येक वर्ष छुट्याउने खुद्रा बजेटबाट बाहिरी चक्रपथ विकास गर्न निकै कठिन भएको बताए । बाहिरी चक्रपथको अहिलेसम्म विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत नबनेको भन्दै उनले स्मार्ट सिटी, मेगा सिटी निर्माण कोरलालगायत उच्च हिमाली क्षेत्रमा गर्न पनि सुझाव दिए ।

सांसद प्रभु साहले डीपीआरका लागि करोडौं रुपैयाँ विनियोजन गरिए पनि ठोस काम हुन नसकेको बताए । बाहिरी चक्रपथको सीमांकन अझै स्पष्ट नभएको भन्दै उनले महत्त्वाकांक्षी योजना बनाएर मात्र विकास नहुने बताए ।

सांसद बिना श्रेष्ठले २०५६ देखि चक्रपथ निर्माण हल्ला मात्र भएको बताइन् । सांसद राजेन्द्र लिङदेनले डीपीआर नै नबनाएको आयोजनाको कुनै औचित्य नभएको बताए । बाहिरी चक्रपथ, नयाँ शहर, स्मार्ट सिटीलगायत काम गर्दा समन्वयात्मकरुपमा गर्ने गरी संयन्त्र बनाइनुपर्नेमा उनीहरुको जोड छ ।

कहाँ पुग्यो काम ?

Kathmandu Nepal city view


उपत्यकाका तीनै जिल्लालाई समेट्ने गरी ७२ किमी लामो बाहिरी चक्रपथ बनाउने चर्चा शुरु भएको दशक नाघिसकेको छ । पहिलो चरणमा सतुङ्गल–चोभार–गाम्चासम्मको ६ दशमलव ६ किमीमा जग्गा विकास योजनाअनुसार काम अघि बढ्ने भनिए पनि मन्त्रालयबाट निर्णय नभएकाले काम हुन नसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । लगभग ६ किमी बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव नै अन्योलमा रहेको जनाइएको छ ।

उपत्यका विकास प्राधिकरणका अनुसार चक्रपथको नापजाँच (सर्भे) गर्ने काम सम्पन्न भएको छ । त्यसका साथै नमुना जग्गा एकीकरण तयार गर्ने, टाउन स्केप, एलाइनमेन्टको प्राविधिक मूल्यांकन र चक्रपथको इन्टरसेक्सन विकास तथा विस्तार गर्न अध्ययन भइरहेको छ ।

७१.९३ किमिमध्ये ५६ किमिको डीपीआर सम्पन्न गरे पनि स्वीकृत भएको छैन । उपत्यकाको दक्षिण र पूर्वी भागमा आवागमन सुविधा बढाउने र व्यवस्थित बस्ती विकास गर्नेलगायत उद्देश्य राखी बाहिरी चक्रपथ निर्माण आयोजना ल्याइएको हो ।

यो चक्रपथ काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः ३५.८, १५.८० र २१.०५ किमि रहने अनुमान छ । सडक खण्डका विभिन्न स्थानमा गरी १.५ किमि सुरुङमार्गसमेत रहनेछ । चक्रपथको चौडाइ ५० मिटर रहनेछ जसमा ८ लेन हुनेछ ।

सडक खण्डमा पर्ने स्थानीय बासिन्दालाई जग्गाको मुआब्जा नदिई उनीहरूको सट्टाभर्ना प्रक्रियाबाट पुनःस्थापना गरिने बताइएको छ । यसका लागि सडकको दायाँबायाँ दुवैतिर २ सय ५० मिटरका दरले जग्गा अधिग्रहण गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७