खुकुरीको भरमा ११ डाका छप्काएका गोरखा सैनिक बिष्णुको कथामा बलिउडमा फिल्म बन्ने


१९ चैत्र २०७५, मंगलवार
bishnu shrestha gurkhas

काठमाडौं, १९ चैत्र । भारतीय सेनामा कार्यरत गोरखा सैनिक विष्णु श्रेष्ठको जीवनीमा बलिउडमा फिल्म बन्ने भएको छ । नेपालको पर्वत जिल्लाका हाल भारतीय सेनामा कार्यरत रहेका श्रेष्ठको जीवनीमा गायक हिमेश रेशमियाले फिल्म बनाउन लागेको हुन् ।

गोर्खा सैनिक विष्णुको बायोपिक बनाउनका लागि राइट्स समेत लिइसकेका छन् । श्रेष्ठले सन् २०१० मा गरेको रेल यात्राका क्रममा खुकुरीको भरमा ११ डाकाहरुलाई छप्काएका थिए ।

सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक श्रेष्ठले एक रेलमा ठुलो चोरीबाट यात्रुलाई एक्लै जोगाएका थिए । भारतीय सेवाबाट पेन्सन भएर घर फर्केका उनी चढेको रेलमा घटना घटेको थियो । मौर्य एक्सप्रेसमा गोरखपुरबाट राँची गइरहेका थिए ।

डाकाहरुले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थाले । जब डाका श्रेष्ठ भए ठाउँ पुगे, उनी सुतिरहेका थिए ।

डाकाहरुले झक्झकाएर उठाउँदा उनी आफूसँग भएको सामग्री दिन तयार भए तर उनीसँगै बसेकी १८ वर्षे युवतीलाई डाकाहरुले बलात्कार गर्न खोजे तब उनी चुप बस्न सकेनन् । उनले आफूसँग भएको खुकुरी निकाले र डाकामाथि जाइलाग्न थाले । तीन जनाको घटना स्थलमै मारिए । अन्य आठ जना भागेका थिए ।

श्रेष्ठले टाइम्स अफ इन्डियालाई भने, ‘म एक सैनिक हुँ र देशको जनताको सुरक्षाका लागि मैले तलब खाने गर्छु । मैले डाकाहरुको मनोमानी चुप लागेर हेर्न सकिनँ । मैले आफूसँग भएको खुकुरी निकालेँ र डाकाहरुलाई आक्रमण गर्न थालेँ । मैले तीनजनालाई छप्काएँ । आठ जना उठ्नै नसक्ने गरी मुर्छित भए । त्यसपछि अन्य डाका भागे ।’

डाकासँगको झडपमा विष्णुको बायाँ हातमा चोट लाग्यो । दुई महिनाको उपचारपछि उक्त घाउ निको भयो । पुलिसले डाकाहरुलाई समात्न सफल भयो । उनीहरुबाट चार लाख नगद, सुनका गहना, मोबाइल फोन, ल्यापटप र अन्य सामग्री बरामद गरियो ।

उनी त्यस घटनापछि उनको भारतभर प्रसंशा भयो । सेवा अवधि सकिएर फर्किएका उनको बढुवा गरियो । उनलाई ५० हजार नगदसहित दुई पदकले सम्मान गरे । अहिले उनी भारतीय सेनामै कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७