जोखनामा जागिरहेका हाम्रो इतिहास


१९ चैत्र २०७५, मंगलवार
anwesh thulung

समिक्षा

अन्वेस थुलुङ

नाटकको अन्त्यमा देखिएको रित्तो फलैँचा, जो पात्र पनि हैन तर पनि पात्रजस्तो लाग्छ । आफैंलाई आफ्नै यात्राहरूसँग बाडुल्की लगाउँछन् । सानो छँदा जब गाउँसम्म पुग्दा हिँड्नुपथ्र्यो, बाटोमा त्यस्तै फलैँचाहरू हुन्थे, बसिन्थे, पसिना ओबाइन्थे । प्रायः मरेका मान्छेको नाममा आफन्तले राखिदिने त्यस्ता चौतारा, फलैँचा, पाटी के सिर्फ त्यति मात्र थिए त ? रित्तो फलैँचा सिर्फ बिम्ब मात्र हैन । यो हाम्रो मृतकहरूको सम्झनाको संग्रहालय हो ।

anwesh thulung

त्यो संग्रहालय जहाँ हाम्रो इतिहासको रेखा पनि कोरिएको छ । तर किन राखियो फलैँचालाई त्यहाँ केही समयका लागि ? फरक आयाम अभियान्ता जितेन (पान्धाक) दाइ विमत्तिमै भन्नुहुन्छ, ‘हाम्रा फलैँचा कहाँ त्यस्तो काठको हुन्थ्यो त भाइ । ती त ढुङ्गाका हुन्थे । ढुङ्गाहरू मिलाएर राखिएर बनाइन्थ्यो ।’ यसै यही इतिहासलाई पनि सम्झिल्याउँदा त्यो चौतारो सेलेमीले भनेजस्तै बदलिँदो समयको संक्रमणमा परेको हुनुपर्छ ।

मेरो सम्झनाले भने मलाई मेरो आफ्नै स्मृतिसम्म डोर्‍याउँछ । यो स्मृति यति बलियो छ कि म आफैंलाई म रित्तो फलैँचाअगाडि मेरै सम्झनामा पनि उभ्याउँछु । यी फलैँचाहरू कहिलेबाट बने थाहा छैन तर वास्तवमा फलैँचा रित्तो हुनु थालेका छन् । जस्तरी धनसुवाको गाउँमा छिरेको सडकले फलैँचा खाली बनाउँछ त्यस्तरी नै हाम्रा गाउँमा फलैँचा खाली हुन थालेका छन् ।

Nepali Daram

के यी विम्ब मात्र हुन् त ?‘बाटो सामान्य कुरा हैन’ राजन (मुकारुङ) दाइ भन्नुहुन्थ्यो, ‘बाटोले सिँगो विकासलाई डोर्‍याएको हुन्छ ।’ गाउँमा आज पनि बाटो बनिरहेको छ । एउटा प्रसङ्ग जोडौँ । इलाममा उतिबेला मानिसहरू झुलबेगर सुत्थे । आजकल गर्मी चढेपछि झिँगा पछार्ने मच्छडहरू पाइन्छ । कोपा-हजुरबुबाहरू भन्नुहुन्थ्यो, ‘गाडी आएपछि मच्छड धेरै गाउँहरूमा पुग्यो ।’

जब युरोप र चीन जोड्ने सिल्क रोड बन्यो, त्यल्ले सिर्फ व्यापार मात्र जोडेन । कला, भाषा, धर्म, संस्कृति, विज्ञान, दर्शनशास्त्र धेरै कुरामा प्रभाव पार्‍यो । युरोपभित्र त्यही रेशमी मार्गको बाटो हुँदै चीनबाट छिरेको बारुदले पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा के गर्‍ यो त्यो इतिहास नै साक्षी छ । यी त उदाहरण मात्र हुन् । हामी पनि हाम्रो समाजलाई हेर्न सक्छौँ । बाटो बनेसँगै हाम्रो समाज पनि फेरिएको छ । हाम्रो स्वाद फेरिएको छ । हाम्रो केन्द्रहरू फेरिएका छन् । व्यापार फेरिएको छ । जोखना नाटकको फलैँचा यस्तरी नै रित्तो भएको हुनसक्छ ।

नाटकको समाजमा त्यहाँका पात्रहरूको सेलेमीप्रति गहिरो सामाजिक विश्वास छ । किस्सा छ, सेलेमी फेल खाँदैन । यो गहिरो विश्वास हो । समाजको जगको आधार यस्तै गहिरा विश्वासहरूमा अडिएका हुन्छन् । यसलाई हलिउडमा जेम्स क्यामरुनले अवतार फिल्म बनाउँदा, उसका पात्रहरूको सम्पूर्ण अत्याधुनिक सैनिक बल लगाउँदासम्म पनि जिताउन सकेनन् । तर सेलेमीको जोखना फेल खायो । उसले मरेको भनेको मान्छे फर्किएर आयो । जसे लठ्ठी टेक्दै आयो । जोखना फेल खानु आफैंमा यो जतिको गहिरो अघात् केही हुँदैन । हाम्रो समाजको मुन्धुमको रख्खेवालको लेगेसी फेल खायो, ऊ स्वयमको इतिहास फेल खायो ।

वियस राई लिखित हिउँमाभित्रको वास्तविक जोखना कथामा सेलेमीले ‘मान्छेको पाउर घटेपछि बिद्दे पनि सकिन्छ भन्थे हो रछ । के देखेँ के देखेँ ।’ भन्छ र त्यसपछाडि अनुत्तरित रहन्छ । सेलेमी अनुत्तरित रहेसँगै उसको शिर ढल्छ । कथा पढ्दै गर्दा पङ्क्तिकार स्वयमलाई उसको शिर ढल्नु सिर्फ उसको मात्र शिर ढल्नु भन्ने लागेन । ऊ कालोनीलो हुनुले समाजको पनि शिर ढल्न गयो । स्वयम आफैं पनि कालोनीलो भएँ । इब्सनको नाटक ‘द डल्स हाउस’मा नोराको सिर्फ एउटा ‘‘अनि म ?’’ वाक्यले अस्तित्वको प्रश्न गर्छ । र नोरालाई शक्तिशाली बनाउँछ ।

राजन दाइको नाट्य रूपान्तरणमा जोखना फेल खाएपनि पात्रको शिर ढल्दैन । बरु अझ शक्तिशाली भएर आउँछ । उसले भन्छ, ‘‘मभन्दा पनि माथि हंसहरू छन्, उनीहरूले अह«ाएपछि मैले भन्ने हो । यो समाजमा केही ठिक नभएको स्थितिमा मेरो पनि जोखना बिग्रियो ।’’ जब सेलेमीले यो वाक्य बोल्छ तब मनमा हर्ष छाउँछ । उसको अथ्र्याइ मात्रले पनि जोखनालाई न्याय गराउँछ । उसको यति उत्तर मात्रले पनि कताकता शिर उठेजस्तो महशुस हुन्छ ।

‘‘जाँठ्ठा ।’’ खै किन हो ? जहाँ जुन समाजमा त्यसको बढी प्रयोग हुन्छ, त्यसको अर्थ कहिल्यै पनि गुप्ताङ्गको रौँ भन्ने लागेन । कसैले प्रयोग गर्दै गर्दा उसले आफैंलाई समाजसँग अझ आत्मिय गराइरहेको हुन्थ्यो । नाटक हेर्दै गर्दा पनि त्यो राई जेठा, धनसुवा, गौधनको समाजमा त्यसले कहिल्यै पनि आफूलाई अश्लिल बनाएको थिएन । समाजमा मजाकहरू चलिरहन्थे । विषय यौनकै वरिपरि थियो । सबैजना बोलिरहेका थिए । काम गरिरहेका थिए ।

त्यो सामुहिक समाजमा यौनलाई नै केन्द्र बनाएर चलेका मजाकहरू साँच्चीकै मजाक मात्र लाग्थे । त्यहाँ कल्ले भन्न सक्छ अश्लिलता छ । खुलेआम किस्साहरू हाँसोसँगै बाटो खन्ने तागत बनिदिन्छ । बरु जहाँ जाँठ्ठा प्रयोग नगरी जब धनसुवालाई गौधनले जिस्काउँछ त्यहाँ त्यो अश्लिल सुनिन्छ । के हो अश्लिलता भनेको ? के हो अश्लिलताको नेपाली अर्थ ? समाजलाई यदि सामाजिक रूपबाट नै आपत्ति हुँदैन भने त्यहाँ जाँठ्ठा सिर्फ भावना हो । यो भावनाको संवाहक हो । आत्मियताको मानक हो । के अंग्रेजीको ‘फक’ भन्नु भन्दा अश्लिल हो र जाँठ्ठा भन्नु ? के जाँठ्ठा जत्तिको आत्मियता फकमा छ र ? हाम्रो समाजमा लोकल रक्सीलाई नस्ट गरिन्छ र विदेशी रक्सीलाई ‘लाइसेन्स’ दिइन्छ । सायद यस्तै प्रवृत्ति नै होला यो फक र जाँठ्ठाको कुरा पनि ।

‘…आकाशभन्दा तल, धर्तिभन्दा माथि आआफ्नो भागको कर्म गरिखान, आआफ्नो भागको माना भरिखान आको हामी त । अरुले नै ल्याको खेतालाजस्तो, अरुले नै ल्याउँदो अरुले नै लाँदो रछ…’ सेलेमीले मुन्दुमि लय पक्डन्छन् । एउटा वाक्य थियो, ‘‘पछाडि फर्केर नहेर्नू ।’’ यो वाक्य पूर्वीय दर्शनमा स्वीकार्य भएको छ जस्तो लाग्दैन । जुन समाजमा हामी बस्छौँ त्यहाँ वर्षौंदेखि हामी हाम्रो पितृहरूलाई पछ्याउँदै आएका छौँ । उनीहरूले हिँडेको बाटोमा नै हिँडेका छौँ । पछाडि फर्केर नहेर्ने समाज भनेको व्यक्तिवादी समाज हुनुपर्छ ।

जसको परिवारले उसलाई स्वतन्त्र छोडिदिएको हुनसक्छ । तर हाम्रो समाजमा त सम्झाउने कुरा धेरै हुन्छन् । हामी पछाडि फर्कीफर्की चौतारालाई हेर्छौँ । जहाँ हाम्रो मरेर गएका पितृहरूको नाम हुन्छ । उभौली, उद्यौली पनि आजको सुरुवात हैन । हामी त्यहाँ पनि सम्झिरहेका हुन्छौँ । यो चिन्तन हाम्रो समाजको लागि योग्य कति छ ? यदि हामी पछाडि फर्केर नहेर्ने हो भने इतिहासबाट कसरी सिक्ने ?

मातृसत्ताको कुरा गर्दैमा पनि जन्तरीले जस्तरी आफ्नो पतिलाई त्यो केराबारी गाउँमा थर्काउँछे, यो हाम्रो समाजको वास्तविकता हो । कुमारीत्वको विषयले गर्दा नेपालले मानेको नेपाली समाजमा जस्तरी नेपालका नारीवादीहरूले समस्या देख्छन्, त्यस्तो किसिमको कथा यो समाजमा धेरै कम मात्र हुन्छन्, हुन्थे । भाषिक रूपबाट त्यो समाजमा चल्ने सर्वनाम भनेको तिमी हो ।

त्यो समाजको लागि भगवान पनि तिमी, पति पनि तिमी, छोरा पनि तिमी, कुकुर पनि तिमी, ढुङ्गा, माटो सबै तिमी नै तिमी । जुन समाजले आफ्नो भावनाहरूको आदनप्रदान नै तिमी भनेर गर्छ त्यहाँको मानसिकतामा पर्खालहरू, गराहरू बेसी हुन्नन् । नेपाली नारीवादको आन्दोलनले यी सांस्कृतिक पक्षलाई नुमाफुङको नुमाले गरेको पुर्नविवाहभन्दा पछाडि बद्री पंगेनीको लाऊ चेली सिन्दुर लाऊमा मात्र किन देख्छ ? हाम्रा आन्दोलनहरू सिर्फ पश्चिमाहरूको अध्ययनलाई मात्र किन ध्यान दिन्छन् ? हाम्रै नेपाली समाजमा यस्ता अभ्यासहरू छन् भने यसलाई पनि बहसको विषय बनाउने कि नबनाउने ?

इखबेगरको मान्छे र बिखबेगरको सर्प चलिरहेको कुरा हो । सुनिरहेको कुरा हो । तर, हाम्रो समाजमा के त्यसको अस्तित्व छ ? कतै यो आयातित मानसिकता त हैन ? कुनैबेला केटाकेटीमा जब टिभिमा म बक्सिङ हेरिरहेको हुन्थे त्यहाँ एक खेलाडीको उमेर एक्काइस र अर्को खेलाडीको उमेर त्रिचालिस थियो । म आफैंलाई मनमा आएको कुरा त्यति सानो मान्छेले त्यति ठूलो मान्छेलाई हात हाल्न मिल्छ र ? फिल्म कवड्डीमा काजी र बोमबहादुरको झगडा पर्छ तब उनीहरूलाई मिलाउनका निम्ति समाज जुट्छन् । गल्ती जोकोहीको होस् हाम्रो परम्पराअनुसार दुवैजनाले आफ्नो इख मार्नुपर्ने हुन्छ । रिसिबी राख्नु पाइन्न ।

जोखाना

यदि हाम्रो परम्परा नै इख राख्न नपाउने छ भने यो इख बेगरको मान्छे को हो ? जुन देशमा समाज आफैंले कानुनलाई पनि सामाजिक न्यायको दायरामा आफ्नो माटो सुहाँउदोे अनुशरण गरिरहेको हुन्छ, त्यहाँ समाजको बलियो उपस्थितिको महशुस हुन्छ भने । र, हाम्रो समाजले यदि सामाजिक सद्भावको लागि शिर उठाउने परम्पराको अभ्यास गरिरहन्छ भने यो इखबेगरको मान्छे को हो ? हाम्रो समाजमा त एक्काइस वर्षे मानिसले त्रिचालिस वर्षेसँग लडाइँ खेलेको हेर्नै मान्दैन भने हामी अलि भिन्न सामाजिक मानकको दायरामा पो छौँ कि ? जुन व्यक्तिहरू इखालु छन्, त्यो ठाउँमा समाज नै छैन । उनीहरू एक उमेरपछि परिवारसँग छुटिन्छन् अनि आफ्नो जीवन निर्वाह गर्न थाल्छन् । एकपटक अष्ट्रेलियामा एक बाख्रालाई फूलहरू खाएको मुद्दा प¥यो । मालिकले जरिवाना पनि भरे । हाम्रो समाजमा बाख्राहरू धपाइन्छ भने यो व्यक्तिवादी चिन्तन हाम्रै हो त ?

कोमा अझै पनि परपरसम्म पुगे नपुगेको खबर गर है नाति भन्दै कराइरहनुहुन्छ । वहाँको आवाज धेरै पर पुगुन्जेलसम्म पनि आइरहेको हुन्छ । म यहीँ रोएको थिएँ । हाम्रो समाजले आजसम्म पनि यस्तरी नै आशापूर्ण बिदाइ गरिरहन्छ । फर्किने दिन आजसम्म पनि हाम्रो घरका ढोकाहरू खुल्ला रहन्छन् । कोमा म आँगनमा पुग्दा मुस्कुराउनुहुन्छ । यिनीहरू सबै मेरा शाखासन्तानहरू हुन् । घरसम्म पुग्ने बाटाहरू रहन्छन् ।

Nepali Drama

ओडिपस रेक्स एउटा सामान्य कथा न थियो । एक सामान्य लोककथा जसले मान्छेको डेस्टिनीको कुरा गथ्र्यो । आखिर त्यसलाई सिग्मन्ड फ्रायडले ओडिपस कम्पेल्क्समा हालेर साइको एनालाइसिस बनाइदिए त । पश्चिमाहरू आफूलाई हरेक विकासको मानक मानिरहेको बेला अब पनि जुकास्टामै अल्झिने हो र ? हाम्रा कथाहरूचैँ के आफैंमा दार्शनिक छैनन् र ? हाम्रा आफ्नै कथा छैनन् र ? रियानासुके आकुतागावा लिखित नाटक रशोमोनमा पात्रहरूले नाटकमा हत्या स्वीकार गर्छन् ।

मर्ने मानिसको हंशसम्मले पनि आफूले आफैंलाई मारेको हो भनेर स्वीकार्छन् । मलाई चित्त बुझेन । नाटकको अनुवाद पनि नेपाली नै भनिएको थियो । नेपाली अनुवाद जो लेखिएको थियो तर त्यो चित्त नबुझ्नु मेरो व्यक्तिगत धारणा मात्र रहेनछ । जापानको संस्कार भनेकै हाराकिरी हो । बहादुरीताको कुरामा उसले कि त मार्नुपर्छ कि त मर्नुपर्छ । हाम्रो समाजको संस्कार भनेको गल्तीलाई ढाकछोप गर्ने हो । त्यो चित्त नबुझ्नुको पछाडि हाम्रो समाजले बाँच्ने सोचाइ संयन्त्रको अर्को सत्य हो । त्यहाँ सिर्फ म हैन मेरो समाज, मेरो संस्कार÷संस्कृति पनि कथाको प्लटलाई दमदार मान्दामान्दै पनि कतिपय कुरामा असन्तुष्ट थियो । किनकि त्यो हाम्रो समाजको कथा थिएन । यसो भन्दा हामी गलत नहोऔँला । त्यो नेपाली भाषामा अनुवाद भए पनि नेपाली अनुवाद चैँ हुन सकेको थिएन ।

ओकिरोबिटो फिल्मका एक पात्र सालमोन माछालाई हेरिरहेको हुन्छ र उसले प्रश्न गर्छ, यो माछा मर्नकै लागि किन आको होला ? हो पनि साल्मोन माछा उल्टो धारमा पौडी खेल्दै जाँदा आफूले अण्डा पार्ने ठाउँमा अण्डा पारेको बेला नै मर्छ । तर एक बृद्ध मानिसले यसलाई एकदम सामान्य गरी बताइदिन्छन्, सायद यसलाई आफ्नो घर याद आयो होला ।

उहिले उहिलेबाट उसको पुस्ताले देखाएको ठाउँ हो त्यो । साल्मोन आफैंलाई म मार्न सक्छु तर आफ्नो परम्परालाई भुल्न सक्दैन । हाम्रो फिलोसफि गोलाकार छ जस्तो लाग्छ । गोलाकारको अर्थ न तेर्सो न ठाडो । उभौली र उँधौलीको चक्रजस्तै । सपना र आशाको चक्रजस्तै । गोलमेचजस्तो । जहाँ बिझाउने कोणहरू छैनन् ।

rajan and kiran

राजन मुकारूङ (बाँया) र किरण चाम्लिङ राई। 

माछाहरू पनि उँधौली, उभौलीमा फर्केर आउनेछन् । हिमाल कटेका कर्‍याङकुरुङ पनि फर्केर आउनेछन् । जसे यसो भन्दै रित्तो चौतारो छाडेर लाग्छ । हामीले विकासको नाममा हामी के गरिरहेका छौँ भन्ने पनि प्रश्न उठ्छ । अमेरिकामा एउटा ड्याम साल्मोन लगायत केही माछाहरूको दुर्लभ प्रजातिको लागि भत्काइयो ।

सन् २०१४को अगष्टको अन्त्यतिर अमेरिकाको एल्वा नदीको बाँध भत्काइयो । मानव इतिहासमा बाँध भत्काइएको विश्वकै सबभन्दा ठूलो इतिहास थियो यो । हाम्रा पनि खोलाहरूमा यस्तै किसिमका दुर्लभ पर्यावरण त होलान् । धमाधम एउटै खोलाबाट सात आठ ठाउँमा बिजुली निकाल्न लागिएको छ । तर विकासको नाममा हामीले नजानिँदो किसिमले जलचरको अस्तित्व त समाप्त गरिरहेका छैनौँ ।

विकास आफ्नो ठाउँमा होला तर हाम्रा भन्न मिल्ने कुराहरू हामीले बिजुलीको मात्र सपना देखेर जलचरहरूको अध्ययन गर्नै पो बिर्सेका छैनौँ ? बा तिनीहरू अस्तित्वबाट नै हराउने स्थितिमा पुगिसके कि ? अध्ययन सिर्फ काँडे भ्याकुरको मात्र हैन । हामीले अध्ययन गर्नुपर्ने कुरा धेरै छन् । हाम्रा माछाहरू पनि नेपालमा मात्र पाइने हुन सक्छन् । हाम्रा लेउहरू पनि नेपालमा मात्र पाइने हुन सक्छन् । मोबाइल चार्ज गर्ने नाममा हामीले आफैंलाई त नामेट पारिरहेका छैनौँ ?

कन्हैया कुमारको एक इन्टरभ्युमा आएको थियो बाइनरी अपोजिसनको कुरा । हाम्रो कुरा हो, हामी रात र दिन, कालो र सेतो, राम्रो र नराम्रो भन्ने कुरा छुट्याउँछौँ तर दिन ढल्दै गर्दा साँझ पर्छ अनि मात्र रात पर्छ । प्रकृतिले कहिल्यै दिन र रातको वर्ग बनाएको थिएन । हाम्रो जिन्दगीमा पनि कहिलेकहीं दुर्घटनाहरूलाई सहनकै निम्ति सपनाहरू ऐठन बनिदिन्छन् ।

जिन्दगी आफैंलाई नियन्त्रण गर्न जान्दछ । स्व. अम्बर गुरुङ भन्नुहुन्थ्यो, ‘‘दुःखले मार्न मार्न खोज्छ, ज्यानै जान्छ कि क्यो हो जस्तो बनाउँछ तर मार्नचैँ मार्दैन ।’’ सपना । हामी जतिपटक सपना भन्छौँ, यो आफैंमा एक अलमल बनिदिन्छ ।

सपनाको अर्थ आफैंभित्र दिन र रात अनि चेतन र अवचेतको क्षितिज वारपार गरिरहन्छ । उभिएर देखिने सपनाहरू जुनदिन बिग्रन्छ, त्यसदिन उसको अर्को सपना बिग्रन्छ । सुत्दा देखिएका सपनाहरू त सकारिएलान् तर ब्युँझदै देखिने सपनाहरू बिग्रन दिनु हुँदैन । स्वीकार्नै पर्ने कुरा के रह्यो भने । हाम्रो समाज विविध छ र हामी आफैंमा एक ठूलो युनिभर्सिटी हौँ । यदि हामीले हाम्रो कथावाचनहरूलाई नलिने हो भने यो देशको नाटकहरूको जोखना बिग्रन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७